पाल्पाको दुर्गम निस्दी गाउँपालिकाका ७ वडामा १ हजार १९४ जनाको आँखा परीक्षणपछि मोतियाविन्दु भएका ५२ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो।
पाल्पा — निस्दी गाउँपालिका–४, मित्यालकी ७६ वर्षीया सुमित्रा आले मगर सात वर्षपछि फेरि आँखाले संसार देख्न पाउँदा औधी खुसी थिइन् । उपचारका लागि तानसेन, रामपुर, भरतपुर (चितवन) र भैरहवा जान नसकेपछि उनी अहिलेसम्म अँध्यारोमै बस्न बाध्य थिइन् ।
‘पहिला पनि मलाई शल्यक्रिया गर्ने भन्नुभएको हो, तर आफ्नै समस्याले गर्दा गएकी थिइनँ,’ उनले भनिन्, ‘अहिले मलाई सबैले फेरि आँखा देख्न पाइन्छ भन्नुभयो । त्यसैले शल्यक्रिया गर्न मन लाग्यो । अहिले त मलाई नयाँ जीवन पाएजस्तै भएको छ ।’
निस्दी आधारभूत अस्पतालसम्म पुगेर आँखा जाँच गराएकी उनलाई शल्यक्रियापछि देख्न सकिने जानकारी दिइएको थियो । त्यसपछि उनी बुढ्यौली उमेरमै पनि शल्यक्रिया गर्न तयार भइन् ।
वर्षौंदेखि आँखा राम्रोसँग देख्न नसकेका निस्दी–४ मित्यालकै ७६ वर्षीय जितबहादुर ठाडाले दुई वर्षपछि श्रीमतीको अनुहार देख्न पाउँदा खुसी लागेको बताए । चार वर्षदेखि दुवै आँखाको दृष्टि धमिलो हुँदै गएको र पछिल्लो दुई वर्षदेखि राम्रोसँग देख्न नसकेको उनले सुनाए । ‘मैले त आँखाले देख्न पाउँदिनँ होला भन्ने लागेको थियो,’ उनले भने, ‘अहिले त अर्को आँखाको पनि शल्यक्रिया गराऊँ गराऊँ भएको छ ।’ ठाडाका दुवै आँखामा मोतियाविन्दु देखिएको थियो । दुई वर्षदेखि बाहिरी संसार उनका लागि अँध्यारो बनेको थियो ।
निस्दी–५, गल्धाका दिलबहादुर सुनारी मगरले पनि लामो समयपछि उज्यालो संसार देख्न पाउँदा खुसीका आँसु झारे । धेरै वर्षदेखि धमिलो र सेतो बादलजस्तो देख्ने गरेका उनले आँखाको निःशुल्क शल्यक्रियापछि स्पष्ट देख्न पाउँदा गाउँपालिका र शल्यक्रियाका लागि आएका चिकित्सकलाई धन्यवाद दिए । ‘मैले धेरै वर्षदेखि आँखाले देख्न छाडेको थिएँ,’ उनले भने, ‘शल्यक्रिया गरेपछि देख्न पाउँदा खुसी नहुने कुरै भएन । सबैलाई धेरै धेरै धन्यवाद दिन्छु ।’
गाउँपालिकाले विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा गाउँमै आँखा जाँच र मोतियाविन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था गरेपछि सुमित्रा, जितबहादुर र दिलबहादुरजस्ता ५२ जनाले पुनः दृष्टि पाएका छन् । निःशुल्क आँखा उपचार पाएपछि लामो समयदेखि देख्न नसकेका ज्येष्ठ नागरिक खुसी भएको भरतपुर आँखा अस्पतालका नेत्र सहायक आयुष पौडेलले बताए । निस्दी–४ का ७८ वर्षीय गणेशबहादुर आले पनि आँखाको शल्यक्रियापछि निकै खुसी भएका छन् ।
पाल्पाको दुर्गम क्षेत्र निस्दीमा गाउँमै आँखा उपचार सेवा पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । उपचारका लागि दुईदेखि तीन दिनसम्म हिँडेर जानुपर्ने बाध्यता रहेका यहाँका बासिन्दाले गाउँमै आँखा जाँच र मोतियाविन्दुको शल्यक्रिया सेवा पाएका हुन् । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउन सहयोगी संस्थासँग सहकार्य गरिएको बताए ।
गाउँपालिकाका बाँकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरेमा सञ्चालन गरिएको शिविरमा १ हजार १ सय ९४ जनाले आँखा जाँच गराएका थिए । जाँचका क्रममा १ सय १ जनामा मोतियाविन्दुको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले बताए । तीमध्ये मधुमेह, उच्च रक्तचाप, भौगोलिक कठिनाइ र जनचेतनाको अभावलगायत कारणले ५२ जनाको मात्र शल्यक्रिया गर्न सकिएको उनले बताए ।
भौगोलिक रूपमा विकट निस्दीका बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा लिन अझै पनि कठिन छ । सामान्य उपचार गाउँमै पाए पनि आँखाजस्ता समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेको भरतपुर आँखा अस्पतालका नेत्र सहायक आयुष पौडेलले बताए । गाउँगाउँमा आँखा जाँच गर्ने क्रममा स्थानीयको मुख्य गुनासो पनि उपचारका लागि टाढा जानुपर्ने बाध्यता नै रहेको उनले सुनाए । गाउँमै शिविर सञ्चालन गरी शल्यक्रियासमेत गर्ने व्यवस्था भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ ।
निस्दी गाउँपालिकाले रुइत फाउन्डेसनको सहयोगमा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवलपुरको सहकार्यमा टोल र वडासम्म पुगेर आँखा परीक्षण गरेको थियो । गाउँपालिकाका आँखाको ज्योति गुमाएकाहरूलाई संसार देखाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताए । ‘जनतामा देखिएको खुसीयाली नै स्थानीय सरकारको खुसी हो भन्ने अनुभूति भएको छ,’ उनले भने । नागरिकलाई स्थानीय सरकार साथमा छ भन्ने प्रत्याभूति दिलाउन यो कार्यक्रम महत्त्वपूर्ण भएको महिला तथा बालबालिका शाखा प्रमुख कुस्माखर पाण्डेयले बताए ।
गाउँपालिकाले शल्यक्रिया गराउने ज्येष्ठ नागरिक तथा बिरामीका कुरुवालाई घरघरबाट ल्याउने र पुर्याउने व्यवस्था मिलाएको थियो । उनीहरूका लागि खाना र बासको प्रबन्ध पनि पालिकाले गरेको थियो । मित्यालको आधारभूत अस्पतालसम्म आउन नसकेका आँखाका बिरामीलाई समेत शल्यक्रिया गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । बिरामीको अवस्थाअनुसार विशेषज्ञ चिकित्सक गाउँमै बोलाएर जाँच र शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख दिशामगरले बताए । ज्येष्ठ नागरिकमा मोतियाविन्दुको समस्या बढी देखिएको भरतपुर आँखा अस्पतालका डा. चन्द्रबहादुर श्रेष्ठले बताए । यसबाहेक जलविन्दु, दृष्टिदोषका साथै प्रेसर र सुगरका कारण पनि आँखामा समस्या देखिन थालेको उनले जानकारी दिए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।