मातृ मृत्युका झन्डै चारमध्ये तीन घटना स्वास्थ्य संस्थामै वा बिरामीलाई स्वास्थ्य संस्थामा लैजाने क्रममा हुने गरेका छन् । सरकारी प्रतिवेदनले कमजोर रेफरल प्रणाली, स्वास्थ्य संस्थाको सीमित कार्यक्षमता तथा समयमै गुणस्तरीय उपचार नपाउनुलाई मृत्युका प्रमुख कारण मानेको छ।
काठमाडौँ — असोज अन्तिम साता थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएकी ३२ वर्षीया महिला पोस्टअपरेटिभ वार्डबाट जनरल वार्डमा सार्ने क्रममा अचानक ढलिन् । राजधानीको अस्पतालमा विशेषज्ञ डाक्टर हुन्छन् र यहाँ सुत्केरी अवस्थामा आइपर्ने जोखिम कम हुने ठानेर उनलाई परिवारले धादिङबाट थापाथलीस्थित प्रसूतिगृहमा ल्याएका थिए ।
‘उहाँको स्वास्थ्य सामान्य नै थियो । सुत्केरी भएको १८ घण्टापछि ह्विलचेयरमा राखेर सामान्य वार्डमा लगिएको थियो,’ अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले भने, ‘तर ह्विलचेयरबाट उठेर बेडमा पल्टिन खोज्दा ढल्नुभयो । चिकित्सकले के भएको हो भनेर यकिन गर्न नपाउँदै मृत्यु भयो ।’
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन नेपालले केही दशकयता उल्लेखनीय उपलब्धि गरेको छ । यसका लागि देशले सहस्राब्दी विकास लक्ष्य (एमडीजी) पुरस्कारसमेत प्राप्त गरेको थियो । तर, अझै प्रसूतिगृहजस्ता ठूला अस्पताल पुगेर पनि महिला तथा नवजात शिशुको मृत्यु हुने दर डरलाग्दो छ । यस्ता अस्पताल पुगेर पनि आमा र बच्चाको मृत्यु हुनुले ती अस्पतालको सेवाको गुणस्तर, दक्ष जनशक्तिको अभाव, आकस्मिक तथा अत्यावश्यकीय सेवाको कमजोरीलाई उजागर गर्ने चिकित्सकहरू बताउँछन् । यस्ता घटनाले हाल जारी मातृ तथा नवजात शिशु मृत्युदर थप घटाउने प्रयासमा अवरोध सिर्जना गरेको उनीहरूको भनाइ छ ।
जटिल अवस्थाका सयौँ गर्भवती तथा सुत्केरीले विशेषज्ञ उपचारका लागि धाउने अस्पतालहरूमा यस्ता घटना दोहोरिरहन्छन् ।
आइतबार साँझ पनि सुत्केरी हुन आएकी अर्की महिलामा डिप भेन थ्रोम्बोसिस देखियो । यो भनेको नसामा, सामान्यतया खुट्टामा, रगतको ढिक्का जम्ने समस्या हो । यस्तो समस्या विशेष गरेर सुत्केरीपश्चात् देखिने गर्छ ।
‘हामीले ती बिरामीलाई तत्काल वीर अस्पताल पुर्याएर सघन उपचार कक्षमा भर्ना गर्यौँ,’ प्रसूति अस्पतालका निर्देशक डा. अधिकारीले भने, ‘यो घटनामा भने बिरामीको ज्यान जोगियो । तर केही साताअघि यस्तै घटना हुँदा हामीले बिरामीलाई बचाउन सकेनौँ ।’
पहिलो घटनामा बिरामीलाई पल्मोनरी एम्बोलिजम भएको थियो । यस अवस्थामा रगतको ढिक्काले फोक्सोका रक्तनली अवरुद्ध गर्छ, जसका कारण बिरामीको तत्काल मृत्यु हुन सक्छ । मृतकका परिवार र आफन्तले अस्पतालका कर्मचारीको लापरबाही भएको आरोप लगाउँदै दिनभर अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए ।
प्रसूतिगृहका यस्ता घटनाले नेपालका ठूला भनिएका अस्पतालमा पुग्दैमा बिरामी खतरामुक्त नहुने रहेछन् भन्ने देखाउँछ । विज्ञहरूका अनुसार यस्तो समस्या संघीय अस्पतालमा मात्र होइन, देशभरका प्रादेशिक अस्पतालमा पनि छ । ती अस्पतालमा पनि सुत्केरी हुन पुग्ने महिला र नवजात शिशुको मृत्यु हुने गरेको छ ।
केही महिनाअघि कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा २४ वर्षकी एक सुत्केरीको हेलिकोप्टरमै मृत्यु भएको थियो । ‘सुत्केरीपछि हुने जटिलताका कारण आमा मात्र होइन, नवजात शिशुको पनि मृत्यु हुने गरेको छ । तर, धेरैजसो अवस्थामा मृत्युको वास्तविक कारण पत्ता लाग्दैन,’ सुर्खेत अस्पतालका प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख डा. अमित सिंहले भने, ‘धेरै घटनामा मृत्युको वास्तविक कारण पहिचान गर्न सक्दैनौँ । यो कारणले भयो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौँ ।’
सुर्खेत अस्पतालमा हरेक साता दुईदेखि तीनवटा जटिल प्रसूति अवस्थाका बिरामी ल्याइन्छन् । मंगलबार मात्र पनि प्रसव बेथामा रहेकी एक महिलालाई डोल्पाबाट हेलिउद्धार गरेर सुर्खेत अस्पताल ल्याइएको थियो । चिकित्सकका अनुसार अस्पतालले सबै जटिल अवस्थाका बिरामीको उपचार गर्न सक्दैन । केहीलाई अन्य केन्द्रमा रेफर गर्नुपर्छ भने केहीको अर्को अस्पतालमा नपुग्दै मृत्यु भइसक्छ ।
मातृशिशु विज्ञका अनुसार स्वास्थ्य संस्थाको क्षमता विस्तारमा लगानी बढाउने र दक्ष जनशक्ति सुनिश्चित गर्ने हो भने अहिले भइरहेको आमा तथा नवजात शिशुको मृत्यु घटाउन सकिन्छ । उनीहरूका अनुसार धेरैजसो अस्पतालमा तालिमप्राप्त जनशक्ति, पर्याप्त कर्मचारी र अत्याधुनिक उपकरणको अभाव छ ।
‘हाम्रो अस्पतालमा मुटुरोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ र सघन उपचार कक्ष र त्यहाँ हुनुपर्ने विशेषज्ञ छैनन्,’ प्रसूति अस्पतालका निर्देशक डा. अधिकारीले भने, ‘देशभरबाट गर्भवती तथा सुत्केरी हाम्रो अस्पतालमा सेवा लिन आउँछन् । यहाँको सेवा सस्तो र सुरक्षित हुन्छ भन्ने उनीहरूको विश्वास छ । तर, बिरामीमा गम्भीर जटिलता देखिएपछि सघन उपचार तथा मुटु र मिर्गौलासम्बन्धी विशेषज्ञ सेवाका लागि अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता छ ।’
सघन उपचार सेवा चाहिने बिरामीलाई मुटु, मिर्गौला र सघन उपचार गर्ने चिकित्सकको सेवा आवश्यक पर्न सक्ने हुन्छ ।
गम्भीर बिरामीलाई अर्को अस्पतालमा सार्नु आफैँमा जोखिमपूर्ण कार्य हो । अति सघन उपचार कक्षको शय्या पाउनै कठिन हुन्छ । शय्या उपलब्ध भए पनि एम्बुलेन्सबाट बिरामी सार्नु उत्तिकै जोखिमपूर्ण हुन सक्छ, किनभने नेपालमा सञ्चालित अधिकांश एम्बुलेन्स गम्भीर खालका बिरामीलाई आवश्यक जीवनरक्षा गर्ने सेवा दिने खालका छैनन् ।
प्रसूति अस्पतालमा सुत्केरीका लागि १० शय्याको सघन उपचार कक्ष (आईसीयू) छ । तर, अस्पतालको शय्याभन्दा पनि बिरामीको संख्या धेरै हुन्छ । अस्पतालमा ‘बी’ श्रेणीको आईसीयू छ । चिकित्सकका अनुसार अत्यन्त गम्भीर प्रकृतिका बिरामीलाई ‘ए’ श्रेणीको आईसीयूमा भर्ना गर्नुपर्छ र विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्नुपर्छ ।
‘आईसीयूमा भर्ना भएका १० जना गम्भीर बिरामीको हेरचाह गर्न हामीसँग दुई जना नर्स मात्र छन्,’ अधिकारीले भने, ‘अस्पतालका आफ्नै विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई केही जटिलता देखिएमा अन्य अस्पतालका विशेषज्ञ चिकित्सकलाई बोलाउनुपर्छ । उपचारमा ढिलाइ हुँदा बिरामीको ज्यान जोखिममा पर्न सक्छ ।’
अस्पतालले हरेक महिना करिब एक दर्जन गम्भीर अवस्थाका सुत्केरी र झन्डै तीन दर्जन शिशुलाई विशेषीकृत सघन उपचारका लागि अन्य अस्पतालमा रेफर गर्ने गरेको छ ।
मातृ मृत्युदर घटाउने कार्यमा नेपालले केही वर्षयता उल्लेखनीय प्रगति गरेको छ । सन् १९९६ मा प्रति एक लाख जीवित जन्ममा ५३९ रहेको मातृ मृत्युदर सन् २०१६ मा घटेर २३९ मा झरेको थियो । यही उपलब्धिका लागि नेपालले सहस्राब्दी विकास लक्ष्य पुरस्कारसमेत प्राप्त गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००० यता नेपालले मातृ मृत्यु ७० प्रतिशतभन्दा बढीले घटाएको छ । संयुक्त राष्ट्रसंघीय निकायले आफ्नो पछिल्लो प्रतिवेदनमा हाल नेपालमा प्रति एक लाख जीवित जन्ममा १४२ महिलाको प्रसूतिसम्बन्धी जटिलताका कारण मृत्यु हुने गरेको उल्लेख गरेको छ ।
सरकारी स्वास्थ्य संस्थामा निःशुल्क संस्थागत प्रसूति सेवा र सरकारको सुरक्षित मातृत्व कार्यक्रम लागू गरेका स्वास्थ्य संस्थामार्फत उपलब्ध गराइएको सेवाले यो उपलब्धि हासिल गर्न सहयोग गरेको छ ।
सरकारले सन् २००९ मा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क संस्थागत प्रसूति सेवा घोषणा गरेयता देशभर दुई हजार आठ सयभन्दा बढी बर्थिङ सेन्टर स्थापना भएका छन् । त्यतिबेला करिब १८ प्रतिशत रहेको स्वास्थ्य संस्थामा हुने प्रसूतिको दर सन् २०२५ मा बढेर ९०.५ प्रतिशत पुगेको छ ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने र दक्ष प्रसूतिकर्मी वा स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने कार्यक्रमलाई मातृ तथा बाल मृत्युदर घटाउन सहयोग पुर्याएको देशको प्राथमिकताप्राप्त कार्यक्रम मानिन्छ । तर, स्वास्थ्य संस्थामा हुने प्रसूति बढे पनि गर्भावस्था तथा सुत्केरीका क्रममा हुने मातृ मृत्यु अझै उच्च छ ।
अध्ययनहरूले उच्च रक्तचाप, प्रसवपछिको अत्यधिक रक्तस्राव, रेफरलमा हुने ढिलाइ र उपचार व्यवस्थापनमा कमजोरीलाई नेपालमा हुने मातृ मृत्युका प्रमुख कारणका रूपमा पहिचान गरेका छन् । त्यसैगरी, संक्रमण, कारण नखुलेका जटिलता, एम्नियोटिक फ्लुइड एम्बोलिजम (अत्यन्त दुर्लभ र अप्रत्याशित चिकित्सकीय आपत्कालीन अवस्था), गर्भपतनका कारण उत्पन्न जटिलता तथा मुटुसम्बन्धी पहिलेदेखिका समस्या पनि नेपालमा मातृ मृत्युका अन्य कारण हुन् ।
विज्ञहरूका अनुसार विभिन्न चिकित्सा विधाका विशेषज्ञ एउटै अस्पतालमा उपलब्ध हुने बहुविशेषज्ञीय स्वास्थ्य संस्थाले मात्र यस्ता जटिलताको कारण पहिचान गरी समयमै जीवनरक्षक उपचार उपलब्ध गराउन सक्छन् ।
‘कम्तीमा संघीय र प्रादेशिक अस्पतालमा मुटुरोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ र सघन उपचार विशेषज्ञ भए पनि पर्याप्त सघन उपचार सुविधा हुनु उत्तिकै महत्त्वपूर्ण छ,’ सुर्खेत अस्पतालका प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख डा. अमित सिंहले भने, ‘यस्ता विशेषज्ञ चौबीसै घण्टा उपलब्ध हुनुपर्छ, किनकि राति पनि आपत्कालीन अवस्था आउन सक्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा गरेको हालैको एक अध्ययनअनुसार नेपालमा मातृ मृत्युका झन्डै चारमध्ये तीन घटना स्वास्थ्य संस्थामै वा बिरामीलाई स्वास्थ्य संस्थामा लैजाने क्रममा हुने गरेका छन् । उक्त सरकारी प्रतिवेदनले कमजोर रेफरल प्रणाली, स्वास्थ्य संस्थाको सीमित कार्यक्षमता तथा समयमै गुणस्तरीय उपचार नपाउनुलाई मृत्युका प्रमुख कारण मानेको छ ।
मातृ स्वास्थ्य विज्ञहरूका अनुसार जटिलताको समयमै पहिचान नहुनु, तत्काल उपचार उपलब्ध गराउन ढिलाइ हुनु र विशेषज्ञ सेवामा पहुँच नहुनु अत्यधिक रक्तस्राव तथा संक्रमणका कारण हुने मातृ मृत्युका प्रमुख कारण हुन् । हाल सरकारले बहिरंग सेवालाई मात्र बढी ध्यान र लगानी गरेको उनीहरूको निष्कर्ष छ । उनीहरूले ठूला अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न सरकारले लगानी बढाउनुपर्ने बताएका छन् ।
‘महँगा उपकरण खरिद गर्दैमा मातृ मृत्यु घट्दैन । सामान्य प्रयासबाट पनि छिटो उपलब्धि हासिल गर्न सकिन्छ, तर थप प्रगति गर्न ठूलो लगानी र बलियो इच्छाशक्ति चाहिन्छ,’ मातृ स्वास्थ्य विज्ञ डा. पवन शर्माले भने, ‘सरकारले विशेषज्ञ सेवा सुनिश्चित गरेपछि मात्र बिरामी र तिनका आफन्तले आफू सुरक्षित भएको महसुस गर्न सक्छन् । त्यसका लागि लगानी बढाउनुपर्छ ।’
स्वास्थ्य केन्द्रहरूमा हुने मातृ तथा शिशु मृत्युदर बढिरहेको अध्ययनले देखाएको भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । ‘हामीले घरमा सुत्केरी हुँदा धेरै जोखिम हुन्छ, अस्पताल आउनुपर्छ भन्यौँ । निकै ठूलो मेहनत र प्रयासपछि सुत्केरी हुन अस्पताल जानुपर्छ भनेर मनाउन सफल भयौँ,’ जनस्वास्थ्यविद् शरद वन्तले भने, ‘तर अस्पतालमै पुगेर पनि मृत्यु हुन छाडेको छैन । कुल सुत्केरी मृत्युमध्ये ५० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थामै हुनु निकै गम्भीर विषय हो । पक्कै पनि हाम्रा स्वास्थ्य संस्थामा कमजोरी छन् । तिनलाई तत्काल सम्बोधन गर्न सक्नुपर्छ ।’
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।