पर्वमा सहभागी आफन्त र दर्शकलाई प्रत्यक्ष प्रसारण तथा भिडियो कल गर्न समस्या भएपछि ओलाङचुङगोलाको उत्सवमा सञ्चारको खल्लोपन थपिएको छ।
काठमाडौँ — चट्याङले ओलाङचुङगोलामा रहेको फोरजी टावरमा क्षति पुर्याएको छ । यहाँको मुख्य चाड फुटुक पर्व चलिरहेको बेला फोरजी टावरमा क्षति पुगेपछि पर्वमा समेत खल्लोपन आएको छ ।
‘बस्तीदेखि माथि रहेको हिले डाँडामा चट्याङले बिगार्यो, टुजीसम्म चलाउन सकिन्छ कि भनेर प्रयास गर्यौं,’ फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, ‘टेलिकमका प्राविधिक कर्मचारी इलामबाट आउनुपर्ने, त्यसमाथि तिहार सुरु भएकाले हामीलाई निकै लामो समयसम्म सेवा अवरुद्ध हुने भयो ।’
यहाँ तिहारको औंसीको दिन सकिने गरी फुटुक पर्व मनाइन्छ । यो पर्वमा ओलाङचुङगोलामा बाहिर रहेका सबैजसो आफन्त भेला हुन्छन् । फुटुक हेर्न जानेको संख्या पनि उल्लेख्य हुन्छ ।
‘अचेल यस्ता चाडपर्वको लाइभ गर्ने, अरूलाई पनि देखाउने, पर्वलाई चिनाउने प्रचलन छ,’ छेतेनले भने, ‘पर्वकै बेला अवरोध आउँदा चाहिँ केही समस्या हुने रहेछ ।’
टावर रहेको ठाउँमा गएर भिडियो कलमार्फत स्थानीयले बनाउन सकिन्छ कि भनेर प्रयास गरे पनि सम्भव नभएको उनले बताए ।
‘प्राविधिकले पनि आउँदैनौं त भनेको छैन तर यहाँ आइपुग्न तीन दिनसम्म लाग्ने र फर्कन पनि त्यति नै समय लाग्दा तिहारपछि मात्रै सकिने भयो भनेको छ,’ छेतेनले थपे ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।