जनकपुरका कप्तान हरमित सिंहले कीर्तिपुरमा टस जितेपछि लुम्बिनीलाई ब्याटिङमा पठाएका छन्, जबकि दुवै टोली पूर्व विजेता हुन्।
काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा टस जितेको छ । जनकपुरका कप्तान हरमित सिंहले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका छन् ।
जनकपुर बोल्ट्सले अघिल्लो खेल खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गरेको छ । इंग्ल्यान्डका अलराउन्डर मोइन अली जनकपुर बोल्ट्सबाट पहिलो चार खेल खेलेर फर्किसकेका छन् ।उनको स्थानमा बंगलदेशका विकेटकिपर परवेज इमोन आएका छन् । त्यस्तै, अमरसिंह रौटेलाको स्थानमा आदित्य महता खेल्दै छन् ।
त्यस्तै, लुम्बिनीबाट अभिशेष गौतमको स्थानमा दिलिप नाथ खेलिरहेका छन् । लुम्बिनीका कप्तान रोहित पौडेलले टसका क्रममा यसलाई ‘ट्याक्टिकल’ निर्णय भनेका छन् ।
गत सिजन लुम्बिनी लायन्सले उपाधि जित्ने क्रममा लगातार ६ खेल जितेको थियो । सो क्रममा उसले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको थियो । जनकपुर र लुम्बिनीबीचको खेल च्याम्पियनहरूको प्रतिस्पर्धा हो । जनकपुर पहिलो सिजन र लुम्बिनी दोस्रो सिजन विजेता बनेको थियो । जनकपुर दोस्रो सिजनमा पुछारमा रहेको थियो ।
लुम्बिनी अहिले ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । तर, लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ ।