होटल, रेस्टुरेन्ट र बार व्यवसायीले बुधबार ज्ञापनपत्र बुझाउँदै प्रशासनको समयसीमा पुनरावलोकन तथा प्रहरी हस्तक्षेप रोक्न महानगरपालिकासँग माग गरेका छन्।
विराटनगर — रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रशासनले तोकेको समयसीमा पुनरावलोकन गर्न र प्रहरी हस्तक्षेप रोक्न माग गर्दै विराटनगरका होटल, रेस्टुरेन्ट तथा बार व्यवसायीले महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।उनीहरूले राति १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।
होटल, रेस्टुरेन्ट तथा बार व्यवसायी र अधिकारवादी संस्था साझा पहल समूहका प्रतिनिधिले बुधबार विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले होटल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब तथा लाउन्जलाई राति १० बजेभित्र प्रवेशद्वार बन्द गर्न र साढे १० बजेसम्म ग्राहकलाई बाहिर पठाइसक्न निर्देशन दिएको छ । व्यवसायीहरूले उक्त समयसीमा व्यावहारिक नभएको भन्दै पुनरावलोकन गर्न माग गरेका हुन् ।
विशेषगरी चाडपर्वको समयमा कडा समयसीमा लागू गर्दा व्यापारमा असर परेको र व्यवसाय सञ्चालन गर्ने स्वतन्त्रतासमेत प्रभावित भएको उनीहरूको भनाइ छ । प्रशासनले तोकेको समयसीमासंगै प्रहरीको हस्तक्षेपले व्यवसायीमा थप असुरक्षा सिर्जना गरेको उनीहरूको दाबी छ ।
व्यवसायीहरूले गत कात्तिक १७ गते राति विराटनगर–३ स्थित फिल गुड एन्ड ग्रिल प्रालिमा प्रहरी हस्तक्षेप गरेको भन्दै आपत्ती जनाए । उनीहरूका अनुसार महानगरपालिका र प्रशासनबीच निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न दिने समझदारी भए पनि प्रहरीले राति साढे ११ बजे प्रतिष्ठानमा प्रवेश गरी सञ्चालक निर्जलकुमार श्रेष्ठसहित दुई कर्मचारीलाई पक्राउ गरेको थियो । उनीहरूलाई रातभर हिरासतमा राखिएको व्यवसायीको दाबी छ ।
उक्त घटनाले व्यवसायीलाई थप त्रस्त्र र आतंकित पारेको भन्दै उनीहरूले व्यवसाय सञ्चालनका लागि स्पष्ट र एकरूप मापदण्ड बनाउन माग गरेका छन् । विराटनगरको ‘साझा पहल समूह’का संयोजक वसन्त अधिकारीले रात्रिकालीन व्यवसायलाई सुरक्षित, मर्यादित र भयमुक्त वातावरणमा सञ्चालन गर्ने जिम्मेवारी महानगरपालिकाले पनि लिनुपर्ने बताए । उनले राति १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन र प्रहरीको अनावश्यक धरपकड रोक्न आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख कार्कीले व्यवसायीले उठाएका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेर समस्या समाधानका लागि उचित निकास खोज्ने प्रतिबद्धता जनाइन् । ‘समस्या गम्भीर छ यसको चाँडो निकास खोज्ने छौ’, उनले भनिन् ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।