मेरिल्यान्ड राज्यको ‘डिस्ट्रिक्ट ८’ बाट हाउस अफ डेलिगेट्स (राज्य विधानसभा) मा ह्यारी भण्डारी, न्युयोर्कको ‘डिस्ट्रिक्ट १०३’ बाट हाउस अफ एसेम्ब्ली (राज्य विधानसभा) मा सराहना श्रेष्ठ र न्यु ह्याम्पसायरको स्टेट रिप्रिजेन्टेटिभ्स (राज्य प्रतिनिधिसभा) मा हिल्सबरो काउन्टीको ‘डिस्ट्रिक्ट ४१’ बाट विश्वबहादुर शाह निर्वाचित भएका हुन् ।
काठमाडौँ — अमेरिकाको तल्लो सदन (प्रतिनिधिसभा) र माथिल्लो सदन (सिनेट) का साथै राज्य संसद्का लागि नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनमा तीन नेपाली डेमोक्र्याटिक पार्टीबाट राज्य सांसदमा निर्वाचित भएका छन् ।
अन्तिम निर्वाचन परिणामअनुसार मेरिल्यान्ड राज्यको ‘डिस्ट्रिक्ट ८’ बाट हाउस अफ डेलिगेट्स (राज्य विधानसभा) मा ह्यारी भण्डारी, न्युयोर्कको ‘डिस्ट्रिक्ट १०३’ बाट हाउस अफ एसेम्ब्ली (राज्य विधानसभा) मा सराहना श्रेष्ठ र न्यु ह्याम्पसायरको स्टेट रिप्रिजेन्टेटिभ्स (राज्य प्रतिनिधिसभा) मा हिल्सबरो काउन्टीको ‘डिस्ट्रिक्ट ४१’ बाट विश्वबहादुर शाह निर्वाचित भएका हुन् ।
भण्डारी र श्रेष्ठ लगातार तेस्रो पटक राज्यसभामा निर्वाचित हुँदै अमेरिकी संसदीय राजनीतिमा ‘ह्याट्रिक’ गर्न सफल भएका छन् । यसअघि भण्डारी मेरिल्यान्डबाट सन् २०१८ र २०२२ मा तथा श्रेष्ठ न्युयोर्कबाट सन् २०२२ र २०२४ मा निर्वाचित भएका थिए ।
यस पटकको निर्वाचनमा अमेरिकाका राज्यसभामा नेपाली मूलका चार जना डेमोक्र्याटिक पार्टीबाट प्राइमरी इलेक्सनमा विजयी भएर उम्मेदवार बनेका थिए । तीमध्ये तीन जना निर्वाचित हुँदा मेरिल्यान्डको ‘डिस्ट्रिक्ट ७ ए’ बाट हाउस अफ डेलिगेट्स (राज्य विधानसभा) मा सतीश चापागाईं पराजित भएका छन् । पहिलोपटक राज्य विधानसभा सदस्यका लागि उम्मेदवार बनेका चापागाईं रिपब्लिकन उम्मेदवारसँग पराजित भएका हुन् ।
लगातार तेस्रो पटक एउटै क्षेत्रबाट निर्वाचित भएका भण्डारीले १९ हजार ५ सय ३० (२२.३४ प्रतिशत) मत प्राप्त गरेका छन् । एकै क्षेत्रबाट तीनजना निर्वाचित हुने व्यवस्थाअन्तर्गत उनले दोस्रो धेरै मत प्राप्त गरेका हुन् । पहिलो स्थानमा डेमोक्र्याटिक पार्टीकै निक एलेनले १९ हजार ८ सय ६० र तेस्रो स्थानमा किम एल रसले १९ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् ।
भण्डारी, निक र किमसँग चुनावी प्रतिस्पर्धा गरेका रिपब्लिकन उम्मेदवार भने पराजित भएका थिए । रिपब्लिकन ब्रायन ए. क्याम्पबेलले १० हजार १ सय ३६ (११.५९ प्रतिशत), ग्लेन गिलहारले ९ हजार २ सय ३३ (१०.५६ प्रतिशत) र स्टिभन जे. रिमरले ९ हजार १ सय ९९ (१०.५२ प्रतिशत) मत पाएका थिए । सन् २०१८ को आमनिर्वाचनमा पहिलो पटक निर्वाचित भएर भण्डारी मेरिल्यान्डको राज्य सांसद बन्ने पहिलो नेपाली मूलका व्यक्ति हुन् ।
सराहना श्रेष्ठले रिपब्लिकन उम्मेदवार स्यान्टोस लोपेजलाई पराजित गरेकी हुन् । उनले ३८ हजार ६ सय ६ (६९ प्रतिशत) मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी लोपेजले १६ हजार ८ सय २१ अर्थात् ३० प्रतिशत मत प्राप्त गरे ।
सन् २०२२ मा पहिलो पटक न्युयोर्कको राज्यसभा सदस्य निर्वाचित भएकी श्रेष्ठ अमेरिकामा नेपाली मूलकी एक मात्र महिला सांसद हुन् । उनी यसअघि सन् २०२२ मा र २०२४ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् । उनको तेस्रो कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ ।
राजनीतिमा प्रवेश गर्नुअघि उनी हड्सन भ्याली क्षेत्रमा जलवायु परिवर्तनविरुद्धका अभियान र स्वच्छ ऊर्जा आन्दोलनमा सक्रिय थिइन् । सार्वजनिक ऊर्जा प्रणालीको विस्तार र निजीकरणविरुद्ध सञ्चालित पब्लिक पावर एनवाई अभियानमा पनि सहभागी थिइन् । उनी डेमोक्र्याटिक सोसलिस्ट्स अफ अमेरिका (डीएसए) को मिड–हड्सन भ्याली च्याप्टरकी सहअध्यक्ष तथा अल्स्टर काउन्टीकी सहअध्यक्षका रूपमा पनि सक्रिय छिन् ।
न्यु ह्याम्पसायरको प्रतिनिधिसभामा विश्वबहादुर शाहसहित दुई सदस्य डेमोक्र्याटिक पार्टीबाट निर्वाचित भएका हुन् । तीन सदस्य निर्वाचित हुने यस क्षेत्रबाट विश्वबहादुरसहित लिली एम. फस र टम स्टुअर्टले बढी मत प्राप्त गरेको आधारमा निर्वाचित भएको अनौपचारिक घोषणा गरिएको छ ।
शाहले ५ हजार ७ सय २६, फसले ६ हजार ३ सय १६ र स्टुअर्टले ६ हजार २ सय ४१ मत प्राप्त गरेका छन् । उनीहरूका निकटतम रिपब्लिकन प्रतिस्पर्धी रायन हेबर्टले ३ हजार ३ सय ९५ मत प्राप्त गरे । न्यु ह्याम्पसायरको हिल्सबरोको ‘डिस्ट्रिक्ट ४१’ का तीनवटै सिटमा डेमोक्र्याटिक पार्टी विजयी भएको हो ।
लगातार तेस्रो पटक एउटै क्षेत्रबाट निर्वाचित गराउने सम्पूर्ण मतदाताप्रति आफू आभारी रहेको भण्डारीले बताएका छन् । निर्वाचित भएको घोषणा भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्ना अधुरा योजना र संसद्मा पेस गरेका विधेयक अघि बढाउन यो जितले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘मेरिल्यान्डका मतदाता मात्र नभई समस्त नेपालीका समस्या समाधानमा सदैव जुट्ने छु,’ उनले भनेका छन्, ‘केही महत्त्वपूर्ण विधेयकलाई अघि बढाउन पुनः सक्रिय हुनेछु ।’
सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।