१८ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन् । यो जानकारी काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत दिएको हो ।
आज काठमान्डु गोर्खाजले फेसबुक मा लेखेको छ, ‘व्यस्तताका कारण के.एस. भरत यस सिजनमा हामीसँग जोडिने छैनन् । हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं ।’
३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् ।
भरतले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन् । विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने भरत सन् २०२४ को आईपीएल उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीको समेत सदस्य थिए ।
काठमाडौं गोर्खाजले उनलाई एनपीएल तेस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको जानकारी गत भदौ पहिलो साता दिएको थियो ।