अन्तरवडास्तरीय भलिबलमा महिलातर्फ शिवनाथ–६ र पुरुषतर्फ दशरथचन्द–२ च्याम्पियन बनेका छन् । दुवै टोलीले जनही एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बैतडी — मेलौलीमा आयोजित जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अन्तरवडास्तरीय भलिबलमा महिलातर्फ शिवनाथ–६ र पुरुषतर्फ दशरथचन्द–२ च्याम्पियन बनेका छन् ।
प्रतियोगितामा महिला र पुरुषतर्फ गरी ४२ टोलीको सहभागिता रहेको थियो । महिलातर्फ १४ र पुरुषतर्फ २८ टोलीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
महिलातर्फ पुर्चौडी नगरपालिका–१ को टोली दोस्रो र मेलौली नगरपालिका–७ को टोली तेस्रो भएको छ । यस्तै, पुरुषतर्फ सिगास गाउँपालिका–५ को टोली दोस्रो र मेलौली नगरपालिका–९ को टोली तेस्रो भएका बैतडी जिल्ला रेफ्री संयोजक धिरज चन्दले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष दुवै टोलीले जनही एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, दोस्रो हुने टोलीले ७७ हजार ७७७ र तेस्रो हुने टोलीले ४४ हजार ४४४ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ दशरथचन्द नगरपालिका–२ का नवीन भण्डारी र महिलातर्फ शिवनाथ गाउँपालिका–६ की सरिता चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै सर्वोत्कृष्ट खेलाडीले जनही ७ हजार ७७७ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
स्थानीयस्तरमा खेलाडीको क्षमता विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक बृहत् अन्तरवडास्तरीय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताए ।
जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा भएको प्रतियोगिताको गत शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारकी आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बमले उद्घाटन गरेकी थिइन् । मंगलबार दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्करराज जोशीले प्रतियोगिताको समापन गरेको आयोजकले जनाएको छ ।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।