कांग्रेस शेरबहादुर देउवा पक्षले मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी र अहिलेसम्म भएका अधिवेशनको विवरण सार्वजनिक गरेको हो ।
काठमाडौं — कांग्रेस संस्थापन पक्षलाई चुनौती दिँदै शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा अघि बढाएको १५औं महाधिवेशन प्रक्रिया तीव्र पारेको छ । देउवा पक्षले अहिलेसम्म ६१८ पालिकासहित २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । आगामी ४ मंसिरमा प्रदेश अधिवेशन र २१ देखि २३ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्य तालिका छ । उसले कांग्रेसका नेता तथा कार्यकर्तालाई महाधिवेशनमा सहभागी हुन आह्वान गरेको छ ।
देउवा पक्षले मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी र अहिलेसम्म भएका अधिवेशनको विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा नेता प्रकाश शरण महतले छोटो समयमै देशभर अधिवेशन प्रक्रिया अघि बढाइएको र नेता–कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको दाबी गरे ।
महतका अनुसार अहिलेसम्म ६१८ पालिकामा अधिवेशन सम्पन्न भएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन २२८ निर्वाचन क्षेत्रमा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन ११४ क्षेत्रमा सम्पन्न भइसकेको छ । त्यस्तै, २६ जिल्लामा जिल्ला अधिवेशन र थप १२ जिल्लामा अधिवेशन उद्घाटन भएर प्रक्रिया अघि बढिरहेको उनले बताए । वडा अधिवेशन पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको उनको भनाइ छ । ‘छोटो समय लिएर अधिवेशनको प्रक्रिया अघि बढाएका हौं । देशभरका साथीहरूको उत्साहपूर्वक सहभागिता देखिएको छ,’ महतले भने ।
उनले महाधिवेशन विधि, न्याय र कांग्रेसको मूल्य मान्यता पक्षधरहरूको सहभागितामा अघि बढेको दाबी गरे । विशेष महाधिवेशनमा सहभागी नेताकार्यकर्ता पनि देउवा पक्षले अघि बढाएको अधिवेशन प्रक्रियामा जोडिन थालेको उनको भनाइ छ । ‘हामी विधि र न्यायको पक्षमा छौं । कांग्रेसको जुन मूल्य र मान्यता छ, त्यो विचार बोकेका छौं भन्ने मानसिकताका साथीहरू सक्रिय हुनुभएको छ । विशेष महाधिवेशनमा सहभागी साथीहरू पनि हाम्रो अधिवेशनमा जोडिनुभएको छ । जोडिने क्रम जारी छ,’ उनले भने ।
महाधिवेशन शेरबहादुर देउवाको संयोजकत्वमा अघि बढाइने र दैनिक संयोजनको जिम्मेवारी शशांक कोइरालाले सम्हाल्ने महतले जानकारी दिए ।
देउवा पक्षले महाधिवेशनको तयारीसँगै गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकतामाथि पनि प्रश्न उठाएको छ । महतले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवा नै अहिले पनि पार्टीको सभापति रहेको दाबी गर्दै आफूहरू नै कांग्रेसको मूलधार भएको जिकिर गरे ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई तत्काल मान्यता दिएको निर्णय अस्वाभाविक रहेको भन्दै आफूहरू अदालत गएको उनले बताए । सर्वोच्च अदालतले समेत उक्त प्रक्रियामा त्रुटि देखेर पुनरावलोकनको अनुमति दिएको उनको दाबी थियो । पुनरावलोकनबाट देउवा नेतृत्वकै कांग्रेसले आधिकारिकता पाउने विश्वास उनले व्यक्त गरे ।
विशेष महाधिवेशनको नेतृत्वलाई मान्यता दिलाउन १८ करोड रुपैयाँ लेनदेन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै महतले त्यसको गहिरो छानबिन हुनुपर्ने माग गरे ।
गगन थापा नेतृत्वको कांग्रेससँग वैचारिक, वैधानिक र पार्टी सञ्चालन पद्धतिका दृष्टिले कांग्रेसको मूल आत्मा नरहेको उनको टिप्पणी थियो । ‘उहाँहरूको कांग्रेसमा नेपाली कांग्रेसको आत्मा छैन । वैचारिक कोणबाट, वैधानिक कोणबाट र पार्टी सञ्चालन पद्धतिको कोणबाट पनि उहाँहरू ठिक ठाउँमा हुनुहुन्न । हामी ठिक ठाउँमा छौं । कांग्रेसको आत्मा हामीसँग छ,’ उनले भने ।