प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले अनलाइनबाट हुने खरिदका सबै प्रक्रिया स्थगन गरेको थियो ।
काठमाडौँ — ११ भदौदेखि बन्द रहेको विद्युतीय खरिद प्रणाली (ई–जीपी सिस्टम) दुई महिनापछि सञ्चालनमा आएको छ । प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले अनलाइनबाट हुने खरिदका सबै प्रक्रिया स्थगन गरेको थियो । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रबाट नयाँ विद्युतीय खरिद प्रणाली विकास गरी सोमबारबाट सञ्चालनमा ल्याइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरुलाई नयाँ प्रणालीमार्फत गर्न अनुरोध गरिएको छ । खरिद प्रक्रिया अनलाइनबाट सुरु गरिएको कार्यालयका सचिव विश्वबाबु पुडासैनीले बताए । ‘पहिलो चरणमा निर्माण सेवा र मालसामान खरिदको बोलपत्र आह्वानलाई पहिलो चरणमा गरेका छौं,’ उनले भने, ‘परामर्श सेवाको बाँकी छ, यो आर्थिक वर्षभित्र सबै प्रक्रिया सकिन्छ ।’
मंगलबारदेखि नयाँ खरिद प्रणाली सञ्चालनमा ल्याइएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए । अनलाइन खरिद प्रक्रिया बन्द हुँदा ठेक्का प्रक्रियामा गुण्डागर्दी बढेको भन्दै विभिन्न निकायबाट यसको विरोध भएको थियो ।
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।