मंगलबार अप्टोमेट्रीको प्रवेश परीक्षा ११ देखि २ बजेसम्म सञ्चालन हुने तालिका थियो । तर प्रश्नपत्रमा २० अंकको प्रश्न छुटेपछि परीक्षा करिब साढे दुई घण्टा ढिलो सकिएको थियो ।
काठमाडौँ — चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको प्रश्नपत्रमा त्रुटि भएपछि परीक्षामा साढे दुई घण्टा ढिलाइ भएको छ ।
परीक्षा तालिकाअनुसार मंगलबार अप्टोमेट्री (आँखासम्बन्धी चिकित्सकीय पढाइ) को प्रवेश परीक्षा ११ बजे सञ्चालन भएर २ बजे सकिने कार्यतालिका थियो । तर एक अभिभावकले साढे ४ बजे मात्रै परीक्षा सकिएको जानकारी दिए ।
आयोग स्रोतकाअनुसार दुई सय पूर्णांकको परीक्षामा २० अंकको प्रश्नपत्र नै छुटेपछि ढिलाइ भएको हो । ‘प्रश्नपत्र मोडरेसन गर्दा हो कि कुन बेला पाठ्यक्रमबाट २० नम्बरको प्रश्न नै छुटेछ । छुटेको प्रश्न थप्न केही ढिलाइ भयो ।’
६ वटा परीक्षा केन्द्रमा करिब २ सय विद्यार्थी उक्त विषयको परीक्षार्थी थिए । परीक्षा निर्देशनालय र परीक्षा समितिको गम्भीर लापरबाहीका कारण प्रश्नपत्रमा त्रुटि भएको आयोगका अधिकारीहरु बताउँछन् ।
आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाले भने प्रश्नपत्र पाठ्यक्रमअनुसार नभएकाले एक घण्टा जति मात्र ढिलाइ भएको दाबी गरे । विद्यार्थी र अभिभावकलाई भने परीक्षा केन्द्रमा पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न आएकाले सुधार गर्न समय थप गरिएको जानकारी दिइएको थियो । प्रश्नपत्रमा त्रुटि भएपछि समय थप गरेर सुधार गरिएको आयोगका एक कर्मचारीले बताए ।
१४ कात्तिकमा सञ्चालित एकीकृत प्रवेश परीक्षामा मंगलबार अप्टोमेट्रीसहित बीएएमए, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मेसी र बीपीटीलगायत विषयका परीक्षा थिए ।
बुधबार बीपीएच (जनस्वास्थ्य) विषयको प्रवेश परीक्षा हुँदैछ । एमबीबीएस, नर्सिङ, बीडीएस लगायतका विषयको परीक्षा शनिबार, आइतबार र सोमबार भएको छ । चिकित्सा शिक्षाका १६ विषयका लागि ९ हजार ६ सय ९१ सिट तोकिएको छ । करिब ७७ हजार विद्यार्थी परीक्षामा सहभागी छन् ।