इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्ध अन्त्यका लागि सेप्टेम्बरमा इरानले पेस गरेको योजना नै छलफलको केन्द्रमा रहेको बताए
काठमाडौँ — आठ महिना लामो युद्ध अन्त्यका लागि इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत भइरहेको अप्रत्यक्ष कुराकानी जारी रहेको तेहरानले सोमबार जनाएको छ। कतारले दुई देशबीच युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले भनेका छन्, 'मध्यस्थकर्ताहरूका माध्यमबाट भइरहेका परामर्शहरू निकै गहन छन्। हामीले हाम्रा सर्त तथा प्रस्तावहरू राखिसकेका छौँ र अब सबै कुरा वासिङ्टनको राजनीतिक विवेकमा निर्भर गर्दछ।'
अमेरिकामा मंगलबार हुन गइरहेको मध्यावधि निर्वाचनपछि द्वन्द्व पुनः चर्कन सक्ने त्रास विश्व समुदायलाई छ । यस युद्धले विश्व अर्थतन्त्रलाई नै असर गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि चुनावलगत्तै इरानमा आक्रमण गर्ने संकेत गरेका थिए । तर, नयाँ सैन्य कारबाहीको सम्भावनालाई लिएर चीन र रुस दुवैले सोमबार विरोध जनाएका छन्।
पछिल्लो मध्यस्थताले संकटको कूटनीतिक समाधान निकाल्ने आशामा सोमबार कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको थियो । यद्यपि, इरानी स्रोतहरूले भने सम्झौता र नयाँ अमेरिकी आक्रमणको सम्भावना उत्तिकै रहेको बताएका छन् ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्ध अन्त्यका लागि सेप्टेम्बरमा इरानले पेस गरेको योजना नै छलफलको केन्द्रमा रहेको बताए ।
यद्यपि, अराग्चीले शनिबार दिएको अभिव्यक्तिलाई पुष्टि गर्दै उनले सो प्रस्तावलाई अझ छोटो बनाउन सकिने उल्लेख गरे।
'इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत भइरहेको संवाद र वार्ताको आधार अझै पनि इरानको सात दिने प्रस्ताव नै हो। यसलाई अहिले संक्षिप्त बनाइएको छ, जसले गर्दा सहमतिको दुई दिनभित्रै हर्मुज खुला गर्न सम्भव छ,' उनले भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरमा उक्त सात दिने प्रस्तावलाई अस्वीकार गरेका थिए । सो योजनामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनुपर्ने, इरानले हर्मुज जलमार्ग पुनः खोल्नुपर्ने, इरानी तेल बिक्रीमा अमेरिकाले छुट दिनुपर्ने, इरानमाथिका नयाँ प्रतिबन्धहरू रद्द गर्नुपर्ने र त्यसपछि मात्र अन्य मुद्दाहरूमा वार्ता अघि बढाउने उल्लेख छ।
इरानले आफ्नो प्रशोधित युरेनियमको भण्डार कसैलाई सुम्पन वा यस विषयमा सहमति गर्न भने अस्वीकार गरेको छ ।
जबकि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग उच्चस्तरको सम्वर्द्धित युरेनियम हुनु बाँकी विश्वका लागि जोखिमपूर्ण रहेको बताएका छन् ।
किनकि, उच्च सम्वर्द्धित युरेनियमबाट आणविक हतियार बन्नसक्छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजन (ऊर्जा विकास) का लागि रहेको भन्दै यस आरोप खण्डन गर्ने गरेको छ ।
अप्रत्यक्ष वार्ता जारी रहेक बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
जर्नलले नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै हर्मुज जलमार्गको सबैभन्दा ठूलो टापु केशममा आक्रमण गरिएको जनाएको छ ।
इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार टापुमा छोटो समयभित्र पाँचवटा विस्फोटको आवाज सुनिएको थियो । केही स्थानीय बासिन्दाले आकाशमा दुईवटा विमान उडिरहेको देखेको पनि बताएका थिए ।
रिपोर्ट गरिएको आक्रमणबारे अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेन्ट्रल कमान्डसँग प्रश्न पठाएको थियो ।
तर, सोमबार अबेरसम्म सेन्ट्रल कमान्डले एएफपीको टिप्पणीका लागि गरिएको अनुरोधको तत्काल जवाफ दिएको थिएन ।
वाल स्ट्रिट जर्नलका अनुसार अमेरिका केही सातादेखि इरानविरुद्ध सीमित स्तरका आक्रमणमा संलग्न रहँदै आएको छ ।
केही अमेरिकी अधिकारीले ती आक्रमणलाई रक्षात्मक प्रकृतिको बताएका छन् । उनीहरूका अनुसार यसको उद्देश्य इरानलाई हर्मुज जलघाँटीमा व्यापारिक जहाजमाथि आक्रमण गर्ने स्वतन्त्रता प्राप्त गर्नबाट रोक्नु हो ।