Trending
Prev Story
Next Story

पाँच महिनापछि मार्तडी–कोल्टी बस चल्यो

Ekantipur •
November 03, 2026 • 09:02 AM
1
1 reads 0 reactions

वर्षाले अवरुद्ध सडकको पहिरो पन्छाएर मर्मत गरेपछि बाजुराका चार स्थानीय तह जोड्ने मार्तडी–कोल्टी मार्गमा सोमबारदेखि बस चल्न थालेका छन्।

पाँच महिनापछि मार्तडी–कोल्टी बस चल्यो

वर्षाले अवरुद्ध सडकको पहिरो पन्छाएर मर्मत गरेपछि बाजुराका चार स्थानीय तह जोड्ने मार्तडी–कोल्टी मार्गमा सोमबारदेखि बस चल्न थालेका छन्।

बाजुरा — वर्षाका कारण जेठ अन्तिम सातादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकमा करिब पाँच महिनापछि बस सेवा पुनः सुचारु भएको छ । सडक मर्मतपछि सोमबारदेखि मिनी बस सञ्चालनमा आएको हो।

जिल्लाको पूर्वी उत्तरी भेगका चार स्थानीय तह जोड्ने यो सडक खोलामा पुल नबनेको र जिल्ली लगायतका स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको थियो । बस सेवा बन्द भएपछि स्थानीयले ठाउँठाउँमा जीप परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो । यात्रुको गुनासोपछि सोमबारदेखि बस सेवा पुनः सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।

सोमबार नेपालगन्जबाट आएको मिनी बस सदरमुकाम मार्तडी हुँदै कोल्टी पठाइएको हो । सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याइए पनि ठूला बस नियमित चल्ने अवस्था छ/छैन भन्नेमा अझै अन्योल रहेको मार्तडी संयुक्त बस काउन्टरका प्रतिनिधि सन्तोष डडालले बताए ।

करिब पाँच महिनादेखि अवरुद्ध सडक खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएर असोज अन्तिम सातादेखि मर्मत सुरु गरिएको थियो । बुढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालय बाजुरा र पूर्वाधार विकास कार्यालयको सहकार्यमा सडक पुनः सञ्चालनमा ल्याइएको हो ।

तिहारमा बस सेवा सञ्चालन गर्ने प्रतिबद्धताअनुसार सडक मर्मत थालिएको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । भत्किएका ठाउँ सफा गर्ने र साँघुरो सडक फराकिलो बनाएर बस सञ्चालन गर्न सहज बनाउने काम भइरहेको कार्यालय प्रमुख जंगबहादुर थापाले बताए ।

बुढीनन्दा र बडीमालिका नगरपालिकासँग डोजर सञ्चालनका लागि सम्झौता गरेर सडक मर्मत भइरहेको उनले जानकारी दिए । दुवै नगरपालिकाले जेसीबी प्रयोग गर्ने र त्यसको रकम पूर्वाधार विकास कार्यालयले भुक्तानी गर्ने सहमति भएको थापाले बताए ।

मार्तडी–कोल्टी सडक पूर्वी उत्तरी भेगका चार स्थानीय तहका बासिन्दाको मुख्य यातायात मार्ग हो । यो सडक हुँदै छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बासिन्दासमेत आवतजावत गर्छन् । बस सेवा पुनः सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने भएको छ ।

यो सडकमा २०८१ पुस २६ गते महाकाली यातायातको ना७ख ५८७३ नम्बरको नाटेश्वरी बस पहिलोपटक कोल्टी पुगेको थियो । गएको बर्खामा वर्षायाममा बस सेवा बन्द भएपछि मार्तडी–कोल्टी सडकमा जीपमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो । जीप व्यवसायीले विभिन्न खण्डमा यात्रुबाट चर्को भाडा असुल्दै आएका थिए । मार्तडीदेखि बाउली खोलासम्म १ सय ५०, बाउली खोलादेखि रजातोलीसम्म ४ सय र रजातोलीदेखि कोल्टीसम्म १ हजार १ सय रुपैयाँ भाडा लिने गरिएको थियो ।

स्थानीय प्रशासन र प्रहरीको निगरानी नहुँदा जीप व्यवसायीले मनपरी भाडा असुल्ने गरेको यात्रुको गुनासो थियो। बस सेवा सुचारु भएपछि भने मार्तडीदेखि कोल्टीसम्म ५ सय रुपैयाँमै यात्रा गर्न पाइने भएको छ । यसले पूर्वी उत्तरी भेगका बासिन्दालाई आवतजावतमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2611