लोकेश बम, इमरान शेख र एन्ड्रे रसेलको अर्धशतकपछि विराटनगरले २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनायो।
काठमाडौँ — लोकेश बम, इमरान शेख र एन्ड्रे रसेलले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
जनकपुरका कप्तान हरमित सिंहले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङका लागि निम्ता दिएको अवस्थामा लोकेश र इमरानले दोस्रो विकेटमा १ सय ७ रनको साझेदारी गरेपछि विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ७४ रन बनाएको हो ।
पहिलो ओभरमै मोइन अलीले सेहान जयसूर्यालाई १ रनमा स्टम्प आउट गराएपछि लोकेश र इमरानले मजबुत साझेदारी गरेका थिए । इमरान ४५ बलमा ५६ रन बनाई अभिषेक तिवारीको बलमा विकेटको पछाडि क्याच भए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
प्रतियोगितामा दोस्रो अर्धशतक बनाएका लोकेशले ४० बल खेली समान ३ चौका र छक्का प्रहार गरे । १४ औं ओभरमा ब्याटिङमा आएका रसेलले २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जने ७ रनमा अविजित रहे ।
अभिषेकले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । त्यस्तै मोइनले १ विकेट लिए ।
यो खेल जित्ने टोली शीर्ष स्थानमा पुग्नेछ । जनकपुरले ३ खेलमा २ जित र विराटनगरले ३ खेलमा १ जित र २ हार निकालेको छ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।