Trending
Prev Story
Next Story

संघीयता कार्यान्वयनको अवस्था केलाउँदै संसदीय समिति

Onlinekhabar •
November 03, 2026 • 07:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । संसदीय समितिले संघीयता कार्यान्वयनको अवस्था केलाउँदैछ । यस निम्ति राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को कार्यान्वयनको अवस्था बुझ्न लागेको हो। संघीय लोकतान्त्रिक …

संघीयता कार्यान्वयनको अवस्था केलाउँदै संसदीय समिति

१७ कात्तिक, काठमाडौं । संसदीय समितिले संघीयता कार्यान्वयनको अवस्था केलाउँदैछ । यस निम्ति राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को कार्यान्वयनको अवस्था बुझ्न लागेको हो।

संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन व्यवस्थासहितको संविधान २०७२ साल असोज ३ गते जारी भएको हो । २०७४ सालमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भएसँगै राजनीतिक संघीयता कार्यान्वयनमा आयो ।

तीन तहको अधिकार क्षेत्र र समन्वय लगायतका क्षेत्रमा रहेका विषय प्रष्ट गर्ने गरी २०७७ सालमा संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बनेको हो ।

संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन ल्याइएको यो ऐनका धेरै संरचनात्मक व्यवस्था कार्यान्वयनमा आएका छैनन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय समन्वय परिषद्को बैठक नियमित बस्न सकेको छैन । यसले तीन तहका सरकारबीच नीतिगत र योजनागत समन्वयको नेतृत्व गर्ने जिम्मा पाएको छ ।

प्रदेश समन्वय परिषद् र जिल्ला समन्वय समितिको व्यवस्था पनि यो ऐनमा छ ।

प्रदेश तहमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् र जिल्लामा जिल्ला समन्वय समितिहरू गठन भएका छन्, तर यिनको सक्रियता प्रदेशैपिच्छे फरक–फरक छ । कतिपय जिल्लामा समन्वय समितिहरू अधिकार र बजेटविहीन जस्तै भएका छन् ।

यो ऐनको दफा २२ बमोजिम गठित विभिन्न विषयगत समितिहरू सञ्चार तथा सूचना प्रविधि क्षेत्रका समितिहरूले समय–समयमा बैठक बसेर निर्णय गर्ने गरे पनि ती निर्णयको प्रभावकारी कार्यान्वयन र अनुगमन पक्ष कमजोर रहेको संसदीय समितिको पूर्वअध्ययनले देखाएको छ ।

साथै, संघ, प्रदेश र स्थानीय तहले कानुन निर्माण गर्दा एक अर्काको अधिकार क्षेत्र नमिचिने र दोहोरो नपर्ने गरी गर्नुपर्ने व्यवस्था ऐनमा छ । तर संघीयता कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण पक्ष प्रहरी समायोजन भएको छैन । संघीय निजामती सेवा ऐन बनेको छैन ।

सुरक्षा निकाय र कर्मचारीतन्त्र केन्द्रिकृत हुँदा आफ्ना कानुन बनाएर कार्यान्वयन गर्न अप्ठ्यारो परेको प्रदेश र स्थानीय तहले गूनासो गर्दै आएका छन् । कतिपय स्थानीय तह र प्रदेशहरूले कानुन बनाए पनि संघीय कानुनको अभावमा कार्यान्वयनमा आउन सकेका छैनन् ।

प्रचलित ऐनले अन्तरप्रदेश वा अन्तर तह विवाद देखिँदा अन्तरप्रदेश परिषद्मार्फत वार्ता र मेलमिलापबाट १५ दिनदेखि तीन महिनाभित्र समाधान गर्ने भनेको छ । तर, धेरैजसो विवादहरू राजनीतिक तवरबाट मात्रै समाधान खोज्ने प्रवृतिले संघीयता कार्यान्वयन र प्रचलित ऐन कार्यान्वयनमा समस्या देखा परेको संसदीय समितिको पूर्व अध्ययनले देखाएको छ ।

यसआधारमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐनको कार्यान्वयनको अवस्था केलान लागेको हो ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाका अनुसार ऐन कार्यान्वयन मापन गर्ने ऐन छनोट गर्न अध्ययन तथा सिफारिस समिति नै गठन गरिएको थियो । जसको सिफारिसका आधारमा संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐनसहित छ वटा ऐन कार्यान्वयनको अवस्था मापन गर्न लागिएको छ ।

विधायन व्यवस्थापन समितिले गत साउन ४ गते सांसद डा. अञ्जान शाक्यको नेतृत्वमा ऐन कार्यान्वयन मापन अध्ययन तथा सिफारिस उपसमिति गठन गरेको थियो ।

उपसमितिले ऐन कार्यान्वयनका लागि छनोट गरेर यही कातिक १३ गते मूल समितिमा बुझाएको छ ।

जसमा प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, विद्युतीय कारोबार ऐन २०६३, कानुनी सहायतासम्बन्धी ऐन २०५४, मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ र संज्ञmमणकालीन न्यायसँग सम्बन्धित ऐन रहेका छन् ।

ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिको प्रतिवेदनका सम्बन्धमा छलफल गर्न लागिएको विधायन व्यवस्थापन समितिकी सचिव सिता काफ्ले वाग्लेले जानकारी दिइन् ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ कार्यान्वयन मापन गर्नुपर्ने कारणमा अध्ययन समितिले नै संघीयता कार्यान्वयनको सन्दर्भ जोडेको छ । यो ऐनअनुसार राष्ट्रिय समन्वय परिषद्, प्रदेश समन्वय परिषद् र विषयगत समिति जस्ता संरचना बने पनि ती सक्रिय हुन नसकेको अध्ययन समितिले औंल्याएको छ ।

तीन तहका सरकारबिच अधिकार क्षेत्र, समन्वय र सहकार्य प्रभावकारी नहुँदा विकास आयोजना सञ्चालन तथा सेवा प्रवाहमा अधिकार क्षेत्र र जिम्मेवारी बहनका सन्दर्भमा ख्याल गर्न आवश्यक रहेको सुझाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
संघीयता कार्यान्वयनका कानुनी अवरोध हटाउन मुख्यमन्त्री शाहीको आग्रह

संघीयता कार्यान्वयनका कानुनी अवरोध हटाउन मुख्यमन्त्री शाहीको आग्रह

मुगु – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच देखिएका कानुनी जटिलता हटाउन आवश्यक रहेको बताएका छन्।

#कार्यान्वयन #संघीयता
Compare →
Nagarik News
1w ago
रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन

रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन

नेपालकै सबैभन्दा ठूलो ताल तथा प्रमुख पर्यटकीय गन्तव्य रारामा संघीयता कार्यान्वयनका कानुनी जटिलता, प्रदेशको अधिकार र न्यायिक क्षेत्रका चुनौतीबारे बहस सुरु भएको छ। सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि रारामा सुरु भएको हो।

#कार्यान्वयन #संघीयता
Compare →

Related Stories

Politics & Governance
Build #2612