युक्रेनको आपतकालीन सेवाका अनुसार कमिसुभाखा गाउँमा ज्यान गुमाउनेहरूमा उद्धार टोलीका दुई सदस्य र चार जना प्रहरी अधिकारी समावेश छन्। अस्पतालमा उपचाररत पाँच जनामध्ये दुई जना उद्धारकर्ता रहेका छन्
किभ — युक्रेनको दक्षिण-पूर्वी जापोरिजिया क्षेत्रको एक विद्यालयमा सोमबार रुसी सेनाले बमबारी गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ। उक्त विद्यालय पछिल्लो समय शरणार्थीस्थलका रुपमा प्रयोग हुँदै आएको थियो । यहाँ, प्रत्येक सोमबार मानवीय सहायता वितरण हुने गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनाएका छन् ।
युक्रेनको आपतकालीन सेवाका अनुसार कमिसुभाखा गाउँमा ज्यान गुमाउनेहरूमा उद्धार टोलीका दुई सदस्य र चार जना प्रहरी अधिकारी समावेश छन्। अस्पतालमा उपचाररत पाँच जनामध्ये दुई जना उद्धारकर्ता रहेका छन्।
जेलेन्स्कीले आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा रुसी सेनाले सुरुमा गाउँको एउटा विद्यालयमा हवाई बम खसालेको बताए । जापोरिजिया शहरको दक्षिण-पूर्वमा रहेको सो गाउँको विद्यालयमा कुनै कक्षाहरू सञ्चालन नभएको उनले जानकारी दिए ।
उनका अनुसार यहाँ सोमबार मानवीय सहायता वितरण हुँदै थियो । 'मानिसहरू आइपुग्दा रुसीहरूले आकाशबाट बम प्रहार गरे,' उनले भने,' शरणार्थी केन्द्रमा भएको यो कदम एक आतंकवादी आक्रमण हो ।'
केही समयअघि मात्रै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा दक्षिणको द्वन्द्वग्रस्त शहर ओलेस्कीमा गत हप्ता युद्ध विराम भएको थियो ।
तर, रुसले युद्धविरामलाई कायम गर्नभन्दा पनि युद्धमै जोड दिइरहेको जेलेन्स्कीले आरोप लगाए । 'यदि रुस वास्तवमै तनाव कम गर्न चाहन्थ्यो भने, ओलेस्कीको स्थितिपछि मानवीय कदमहरू जारी राख्ने अवसर थियो। हामीले यसको प्रस्ताव गरेका थियौं। तर रुसले मानिसहरूलाई मार्न जारी राखेको छ।'
जापोरिजिया नगर परिषद्की सचिव रेजिना खार्चेन्कोले आक्रमणमा २७ जना बेपत्ता भएको बताएकी छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा क्षेत्रभरि सल्किरहेका भग्नावशेषहरू यत्रतत्र छरिएका देखिएका छन्।