ताल, पाटन र हरियालीले घेरिएको किनिमिनी मैदानमा क्रिकेट हेर्न पुगेका दर्शकले खेलसँगै रामारोशनको अनुपम सौन्दर्य पनि अनुभव गरिरहेका छन्।
अछाम — चारैतिर हरियालीले ढाकिएका अग्ला डाँडाकाँडा, बीचबीचमा फैलिएका विशाल घाँसेमैदान र शान्त वातावरण। प्रकृतिको यो सौन्दर्यबीच रहेको अछामको रामारोशन यतिबेला क्रिकेटका कारण पनि चर्चामा छ। प्राकृतिक सौन्दर्य र तालतलैयाका कारण पर्यटकको आकर्षण बन्दै आएको रामारोशनको ५२ बिघा क्षेत्रफलमा फैलिएको किनिमिनी मैदानमा अहिले क्रिकेटको रौनक छ।
विगतमा पशुचौपाया चराउने र स्थानीयले घाँसदाउरा गर्ने खुला पाटनका रूपमा चिनिएको यो मैदान अहिले खेलाडीको प्रतिस्पर्धा, दर्शकको उत्साह र स्थानीय युवाको सक्रियताले भरिएको छ। सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित रामारोशनमा स्थानीय युवाको सक्रियतामा 'रामारोशन प्राइड लिग' सञ्चालन भइरहेको छ।
रामारोशन एडभेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा भइरहेको प्रतियोगिताले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन, स्थानीय कला संस्कृतिको संरक्षण र क्षेत्रको पहिचान विस्तार गर्ने उद्देश्य राखेको छ।
प्राकृतिक रूपमा सुन्दर भए पनि अपेक्षाअनुसार प्रचारप्रसार र पूर्वाधार विकास हुन नसकेको रामारोशनलाई खेलकुदका माध्यमबाट नयाँ ढंगले चिनाउने प्रयास भइरहेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताए। उनका अनुसार रामारोशन प्राकृतिक विविधताको अनुपम संगम हो। ‘बाह्र बण्ड, अठार खण्ड’ भनेर चिनिने यस क्षेत्रमा १२ वटा ताल र १८ वटा ठूला पाटन तथा घाँसेमैदान छन्।
समुद्री सतहबाट करिब २ हजार ५० मिटरदेखि ३ हजार ७९२ मिटरसम्मको उचाइमा फैलिएको रामारोशनले फरकफरक भौगोलिक तथा प्राकृतिक विशेषता बोकेको छ। ‘यहाँका ताल, पाटन, वनजंगल, खोलानाला र जैविक विविधताले यस क्षेत्रलाई सुदूरपश्चिमको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेका छन्। प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत बोकेको रामारोशनलाई प्रकृतिप्रेमी, घुमफिरमा रुचि राख्ने र नयाँ गन्तव्यको खोजी गर्ने पर्यटकका लागि आकर्षक क्षेत्र मानिन्छ,’ विकले भने।
रामारोशनका १२ ताल यस क्षेत्रका प्रमुख आकर्षण हुन्। जिंगाले, गेराहा, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे, रामे, ताउलो, डउटे र दल्लेना यहाँका प्रमुख तालका रूपमा चिनिन्छन्। यी तालको आफ्नै भौगोलिक विशेषता र प्राकृतिक स्वरूप छ। आकारका हिसाबले जिंगाले यस क्षेत्रको ठूलो ताल मानिन्छ। तालवरिपरिका हरियाली डाँडा, खुला पाटन र पानीमा देखिने प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गर्छन्।
वसन्त ऋतुमा विभिन्न प्रजातिका गुराँस फुल्दा रामारोशनको सौन्दर्य थप आकर्षक बन्ने गरेको विकले बताए। यहाँको जंगलमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तुले यस क्षेत्रको पर्यावरणीय महत्त्वसमेत बढाएका छन्। ‘डाँफे, मुनाललगायतका चराको बासस्थान तथा कस्तुरी मृग, घोरल र अन्य वन्यजन्तुको उपस्थितिले रामारोशनलाई जैविक विविधताका दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ,’ उनले भने।
यही प्राकृतिक सम्पदाबीच रहेको किनिमिनी मैदान रामारोशनको विशिष्ट आकर्षण हो। करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको यो मैदान अछामकै सबैभन्दा ठूलो खुला चउरका रूपमा चिनिन्छ। मैदानको बीच भागबाट कैलाश खोला नागबेली आकारमा बग्ने भएकाले यसको प्राकृतिक दृश्य अझ मनमोहक देखिन्छ।
यही सम्भावनालाई व्यवहारमा उतार्ने प्रयासस्वरूप किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको रामारोशन एडभेन्चर एन्ड इको स्पोर्ट क्लबका अध्यक्ष लक्ष्मण बोहराले बताए। ‘प्रकृतिको काखमा रहेको फराकिलो मैदानमा क्रिकेटका खेल सञ्चालन हुनु रामारोशनका लागि नयाँ अनुभव हो। सामान्यतया क्रिकेट प्रतियोगिताको चर्चा गर्दा खेलाडी, खेलमैदान, रन, विकेट र पुरस्कारको कुरा गरिन्छ। तर किनिमिनीमा भइरहेको प्रतियोगिता हेर्न आउने दर्शकले क्रिकेटसँगै रामारोशनको प्राकृतिक सौन्दर्य नियाल्ने अवसर पाएका छन्,’ उनले भने, ‘खेलाडीले प्रतिस्पर्धासँगै नयाँ पर्यटकीय क्षेत्रको अनुभव गर्ने अवसर पाएका छन्। यसले खेलकुद र पर्यटनलाई एउटै माध्यमबाट जोड्ने सम्भावना देखाएको छ।’
स्थानीय युवाले रामारोशन क्षेत्रको पहिचान विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हुन्। क्लबमा आबद्ध अधिकांश युवा रामारोशनकै स्थानीय बासिन्दा रहेको र संस्था जिल्ला तथा पालिकास्तरमा दर्ता रहेको अध्यक्ष बोहराले बताए। स्थानीय स्तरमा खेलकुद गतिविधिको विस्तार, नयाँ खेल प्रतिभालाई अवसर र रामारोशनलाई बाहिर चिनाउनु प्रतियोगिताका प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।
प्रतियोगितामा १४ वटा टिम सहभागी छन्। प्रत्येक टिममा तीन जनासम्म बाहिरका खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरिएको छ। यसले रामारोशनबाहिरका खेलाडीलाई पनि किनिमिनी मैदानसम्म ल्याएको छ। प्रतियोगिता सञ्चालनका लागि रामारोशन गाउँपालिकाले ५ लाख रुपैयाँ र रामारोशन पर्यटन समितिले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
प्रतियोगिताको अनुमानित लागत १० देखि ११ लाख रुपैयाँ रहेको अध्यक्ष बोहराले जानकारी दिए। अपुग रकम स्थानीय व्यापारी, व्यवसायी तथा विभिन्न सहयोगी व्यक्तिबाट जुटाउने प्रयास भइरहेको उनले बताए। उनका अनुसार दुर्गम क्षेत्रमा प्रतियोगिता सञ्चालनका लागि आवश्यक सामग्री जुटाउनु र व्यवस्थापकीय पक्ष मिलाउन चुनौतीपूर्ण भए पनि स्थानीयको साथ र सहयोगले कार्यक्रम अघि बढिरहेको छ।
गत कात्तिक १४ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख र द्वितीय हुनेले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच प्रदान गरिनेछ। यसका अतिरिक्त उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई समेत व्यक्तिगत पुरस्कार दिइने आयोजकले जनाएको छ। पुरस्कार राशि र व्यवस्थापनका हिसाबले यो प्रतियोगिता अछामको खेलकुद क्षेत्रमा महत्त्वपूर्ण प्रतियोगिताका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ।
प्रतियोगिताबाट रामारोशनको मौलिक संस्कृति र परम्परालाई पनि खेलकुदसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ। प्रतियोगितासँगै देउडा, पञ्चेबाजा, हुड्केली, भुवा नाच तथा स्थानीय पहिरनको प्रदर्शन गर्ने योजना रहेको अध्यक्ष बोहराले बताए। स्थानीय कला र संस्कृतिलाई बाहिरबाट आउने खेलाडी, दर्शक तथा पाहुनासामु प्रस्तुत गर्दा रामारोशनको मौलिक पहिचान विस्तार हुने उनको विश्वास छ।
रामारोशन पर्यटन समितिका कार्यकारी निर्देशक विकले पनि खेलकुद र पर्यटन एकअर्काका परिपूरक भएको बताए। उनका अनुसार प्रतियोगिता स्थानीय क्लबले आयोजना गरे पनि पर्यटन समितिको भूमिका र सहयोग उत्तिकै महत्त्वपूर्ण छ। प्रतियोगिताको व्यवस्थापकीय पक्षदेखि आवश्यक तयारीसम्म समितिले सहयोग गरिरहेको उनले बताए। ‘आयोजक स्थानीय क्लब भए पनि हाम्रो सहयोग उत्तिकै छ। व्यवस्थापकीय पाटोदेखि अन्य आवश्यक काममा हामी पनि सक्रिय रूपमा लागिरहेका छौं,’ विकले भने।
विकले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने योजना रहेको बताए। रामारोशनलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले स्काई रनिङजस्ता साहसिक खेलका लागि समेत यो क्षेत्र उपयुक्त हुन सक्ने बताए।
उनका अनुसार रामारोशनको प्राकृतिक भूगोल र खुला पाटनमा खेलकुद तथा पर्यटनलाई जोड्ने पर्याप्त सम्भावना छ। ‘पर्यटन र खेलकुद एकअर्काका परिपूरक हुन्। आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने हाम्रो योजना छ,’ उनले भने।
मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।