भोटेकोशी बाढीले घरबार र परिवारका सदस्य गुमाएका ज्येष्ठ नागरिक २ महिनापछि पनि बाढीको त्रास, आफन्तको वियोग र अनिश्चित भविष्यसँग जुधिरहेका छन् । आझैसम्म प्रभावित ज्येष्ठ नागरिकको यकिन तथ्यांकसमेत संकलन हुन सकेको छैन ।
काठमाडौं — नुवाकोट पीपलटारस्थित कोदोबारी होल्डिङ सेन्टरमा आश्रित ६० वर्षीया योङजेन तामाङको मनमा २ महिना बितिसक्दा पनि १० भदौमा गएको भोटेकोशी बाढीको त्रास हटेको छैन । फेरि बाढी आउने हो कि भन्ने डर र चिन्ताले उनलाई बारम्बार सताइरहन्छ। ‘यही डर र चिन्ताले निद्रै लाग्दैन । निदाइहाले भने पनि सपनामा बाढी नै आएको देख्छु,’ उनले भनिन् ।
योङजेनकी नातिनी र भाइको कान्छो छोरा बाढीमा बेपत्ता भएका थिए । ‘सोच्दै नसोचेको भयो । परिवारका दुई जना हराए। यही सम्झेर निद्रा पर्दैन,’ उनले भनिन् । बाढीपछि काठमाडौंको ह्वाइट गुम्बामा रहेको होल्डिङ सेन्टरमा बसेकी उनी अहिले भने नुवाकोटको होल्डिङ सेन्टरमा आश्रय लिइरहेकी छन् ।
‘केही समय काठमाडौं बसेर घरमै बस्ने भनेर गएका थियौं। तर बाटो नभएकाले जानै सकिएन। अब कता जाने होला भन्ने पीर लाग्छ,’ उनले भनिन्, ‘एउटी छोरी मानसिक बिरामी छ । उसलाई लिएर धेरै कहाँ हिँड्नु । सबै कुरा सोचेर टाउको मात्र दुख्छ ।’
बाढी आएको दिन उनी रसुवा हाकुबेँसीस्थित घरमै थिइन्। ‘बाढी त आँखाअगाडि नै देख्यौं । भागेर ज्यान बचायौं। अहिले पनि बारम्बार बाढीकै झझल्को आउँछ । कतै जाने आँटै आउँदैन,’ उनले भनिन् । योङजेन भौतिक रूपमा सुरक्षित स्थानमा भए पनि उनको मनबाट बाढीपछिको डर भने हट्न नसकेको सुनाउँछिन् ।
बाढी प्रभावित ज्येष्ठ नागरिकको यकिन तथ्यांक छैन
बाढी आएको थाहा पाएपछि योङजेन त सुरक्षित स्थानतर्फ गइन्। तर धेरै ज्येष्ठ नागरिक उनी जसरी सुरक्षित हुन सकेनन् । प्रभावित क्षेत्रमा कति ज्येष्ठ नागरिक थिए, कति विस्थापित भए, कति बेपत्ता छन् भनेर बाढी गएको २ महिना बितिसक्दा समेत पूर्ण तथ्यांक संकलन हुन सकेको छैन । ज्येष्ठ नागरिक महासंघका अध्यक्ष सूर्यबहादुर श्रेष्ठका अनुसार बाढीबाट कति ज्येष्ठ नागरिक प्रभावित भए भन्ने यकिन तथ्यांक संकलन अझै भइसकेको छैन । ‘हामी मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौँ । कति ज्येष्ठ नागरिक बाढीबाट प्रभावित हुनुभयो, कतिको उद्धार भयो, कति बेपत्ता भए भन्ने यकिन तथ्यांक अझै आइसकेको छैन,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय रसुवाले प्रकाशन गरेको भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको विवरणअनुसार रसुवामा मात्र ७० वर्षमाथिका ७८ जना ज्येष्ठ नागरिक बाढीपछि सम्पर्कविहीन छन् ।
सुरुका दिनमा बाढीबाट बेपत्ता ज्येष्ठ नागरिकको विवरण संकलनमा उमेरसम्बन्धी जानकारी नखुल्दा तथ्यांक यकिन गर्न कठिनाइ भएको र अहिले तथ्यांक संकलनको काम अगाडि बढिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) बाट सूचना व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, रसुवामा खटाइएका कर्मचारी सुलक्ष्य रायमाझी बताउँछन् । ‘बाढीपछि बेपत्ता व्यक्तिको विवरण संकलन गर्ने क्रममा सुरुको समयमा उमेर थाहा नभएपछि कतिपयले अन्दाजको भरमा उमेर राखेर नामसमेत टिपाउनुभएको थियो। केहीको उमेर खुलेको थिएन,’ उनले भने, ‘तर अहिले भने स्थानीय तहहरूले तोकिएको प्रक्रियाअनुसार विवरण संकलन तथा प्रमाणीकरण गरिरहनुभएको छ । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने प्रक्रिया चल्नेछ ।’ निर्धारित प्रक्रियाअनुसार विवरण संकलन र प्रमाणीकरणपछि मात्र कति ज्येष्ठ नागरिक प्रभावित भए भन्ने यकिन तथ्यांक प्राप्त हुने रायमाझी सुनाउँछन् ।
नुवाकोटमा रहेको देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन संस्थामा भोटेकोशी बाढीअघि ३५ जना ज्येष्ठ नागरिक थिए । बाढीमा ६ जना बेपत्ता भए पनि हालसम्म एक जनाको मात्रै शव फेला परेको वृद्धाश्रमका अध्यक्ष विष्णुप्रसाद नेपाल बताउँछन् । ‘बाढीमा हामीले ६ जना ज्येष्ठ नागरिक गुमायौं,’ उनले भने । अन्य ६ जनाको सेनाले उद्धार गरेको थियो ।’ बाढी आएको थाहा पाएपछि हिँड्न सक्ने केही ज्येष्ठ नागरिक सुरक्षित स्थानमा गए पनि अशक्त र अरूको सहायता आवश्यक पर्ने ज्येष्ठ नागरिकको उद्धार गर्न गाह्रो भएको उनी बताउँछन्। सोही आश्रमबाट उद्धार गरिएकी ९७ वर्षीया गुणमाया बोहोरा अहिले पनि काठमाडौंको वीर अस्पतालमा उपचाररत रहेको नेपाल सुनाउँछन् ।
बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई विभिन्न समस्या देखिएको जेरियाट्रिक सोसाइटी अफ नेपालका कार्यकारी निर्देशक युवराज रोक्का बताउँछन् । ‘हामीले त्यहाँ पुगेर ज्येष्ठ नागरिक साथै अपांगता भएका व्यक्तिहरूको कुरा सुन्यौं । उहाँहरूलाई सुरक्षित वातावरण, नियमित स्वास्थ्य सेवा, मनोसामाजिक सहयोगको आवश्यकता देख्यौं,’ उनले भने, ‘ज्येष्ठ नागरिकको अवस्था हेर्दा विपद्को समयमा मानवीय संकट केवल खाद्यान्न, लत्ताकपडा र आवासको मात्र रहेनछ भन्ने महसुस भएको छ।’
बाढी प्रभावित क्षेत्रका विभिन्न होल्डिङ सेन्टरमा आश्रित वृद्धवृद्धाहरूमा सन्तान बेपत्ता भएपछि पीडा र मानसिक समस्या देखिएको निर्देशक रोक्का बताउँछन् । ‘सुरुवाती दिनदेखि नै हामी होल्डिङ सेन्टरहरूमा पुग्दा धेरै ज्येष्ठ नागरिकले सन्तान, परिवारका अन्य सदस्य गुमाएको देख्यौं । धेरैजसो चालक, सहचालकको साथै विभिन्न पेसामा आबद्ध भएर परिवार पालिरहेकाहरू बेपत्ता हुनुभएको देखिन्छ,’ उनले भने, ‘आफ्नो सन्तानको शव पनि नभेटिएको, मृत्यु पुष्टि पनि नभएको र अन्तिम संस्कार पनि गर्न नपाएको धेरै देख्यौं । त्यसले उहाँहरूलाई थप विक्षिप्त बनाएको छ ।’
बेपत्ता सन्तानको पर्खाइमा अझै बसिरहेका छन् ज्येष्ठ नागरिक
कोदोबारी होल्डिङ सेन्टरमै आश्रित ७१ वर्षीय कमी वाइवा पनि गत १० भदौमा गएको बाढीपछि निकै गाह्रो भएको सुनाउँछन् ।
रसुवा आमाछोदिङ्मो गाउँपालिका–१ घर भएका उनी बाढीबाट मात्र विस्थापित भएनन् । बाढीपछि वाइवाका छोरी र ज्वाइँ पनि बेपत्ता भए । ‘बाढीपछि छोरी, ज्वाइँको केही खबर छैन। मनमा अहिले पनि कतै पो छन् कि भन्ने हुन्छ,’ उनले भने, ‘छोरी ज्वाइँको निकै याद आउँछ । उनीहरू हराएपछि निद्रा लाग्नै छोडेको छ । बुढेसकालमा आफूले केही गर्न सकिँदैन । पहिलाको जस्तो खाना पनि रुच्दैन ।’ होल्डिङ सेन्टरमा उपचारका लागि डाक्टरहरू भने आइरहेको उनी सुनाउँछन् ।
ज्येष्ठ नागरिकहरू आफ्नो परिवारको सदस्य गुमाएको गुनासो पोख्ने गरेको कोदोबारी होल्डिङ सेन्टरका बाढीबाट विस्थापित परिवारका संयोजक ठेगु लामाले सुनाए। ‘त्यहाँ परिवारका सदस्य गुमाएका, ज्येष्ठ नागरिक, एकल महिला साथै अन्य व्यक्तिहरू छन् । हरेकका आ–आफ्ना पीडा छन्,’ उनले भने, ‘केही ज्येष्ठ नागरिक त बेपत्ता सन्तान अझै फर्केर आउँछन् कि भन्ने आश लाग्ने गरेको सुनाउनुहुन्छ ।’
परिवारको सदस्य वा नजिकको मान्छे बाढीमा हराउनुको पीडासँगै मनमा बाढीको भयावह दृश्य बारम्बार आउनाले उनीहरूमा गहिरो मानसिक तनाव देखिएको मनोचिकित्सकहरू बताउँछन् ।
कुनै पनि उमेर समूहका व्यक्तिलाई विपद्ले कस्तो असर पार्छ भन्ने कुरा उमेरले भन्दा पनि व्यक्तिले समस्यालाई कसरी लिन्छ भन्ने विषयले बढी प्रभावित पार्ने परामर्शदाता मनोचिकित्सक डा. नीरज भट्टराई बताउँछन्। ‘बाढीबाट प्रभावित सबैमा मनोरोगसम्बन्धी समस्या देखिन्छ भन्ने हुँदैन । त्यसले व्यक्तिले परिस्थितिसँग कसरी सामना गर्न सक्छ र उसले कति ठूलो क्षति बेहोरेको छ भन्ने कुरामा निर्भर गर्छ,’ उनले भने, ‘विपद्को समयमा आफन्त गुमाउने वा प्रत्यक्ष घटनालाई देखेका वृद्धवृद्धा वा अन्य उमेर समूहका मानिस जोकोहीलाई परिस्थितिसँग सामना गर्ने क्षमता महत्त्वपूर्ण हुन्छ ।’
कुनै पनि विपद्पछि केही मानिसलाई विभिन्न समस्या देखिन सक्ने भट्टराई बताउँछन्। ‘कुनै घटना प्रत्यक्ष देखेको कारण बारम्बार घटना याद आउने, निद्रा नलाग्ने, मनमा धेरै कुरा खेल्ने, डर महसुस हुने, पुराना घटना सम्झँदा डर लाग्ने समस्या देखिन सक्छ,’ उनले भने, ‘यस्तो अवस्थामा मनोपरामर्श र आवश्यकताअनुसार मनोचिकित्सकको औषधि उपचार आवश्यक पर्न सक्छ ।’
यस्ता समस्यालाई बेवास्ता गरे थप जटिलता देखिन सक्ने उनी बताउँछन्। ‘समस्यामा गुज्रिएका जो कोहीलाई मानसिक स्वास्थ्यमा असर गर्न सक्छ,’ उनले भने, ‘कोहीलाई शोक प्रतिक्रिया (ग्रिफ रियाक्सन), तीव्र तनाव विकार (एक्युट स्ट्रेस डिसअर्डर) र अवस्था गम्भीर भए पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) देखिन सक्छ। केहीलाई डिप्रेसन र एन्जाइटी पनि देखिन सक्छ ।’
बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई आवश्यक सामग्री साथै विभिन्न कार्यक्रमहरू तीनै तह मिलेर गरिरहेको महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालयकी महिला विकास अधिकृत पुष्पा सुवेदी बताउँछिन् । ‘उहाँहरूको लागि कार्यक्रम भइरहेका छन्। अन्तरपुस्ता ज्ञान, सीप हस्तान्तरणसम्बन्धी कार्यक्रम, वृद्धावस्था सेवा–सुसारसम्बन्धी कार्यक्रमहरू भइरहेका छन्,’ उनले भनिन् । समन्वय गरेर काम गरिरहेको उनी बताउँछिन् ।
‘विभिन्न संघसंस्थाहरूले मनोसामाजिक स्वास्थ्यसम्बन्धी कार्यक्रम गरिरहनुभएको छ । मन्त्रालयले नै ठ्याक्कै मनोसामाजिक स्वास्थ्यसम्बन्धी कार्यक्रम वृद्धवृद्धाका लागि भनेर भने गरेको छैन । स्वास्थ्य निकायसँग भने अन्तरनिकाय समन्वय समितिमार्फत समन्वय हुने गरेको छ,’ उनले भनिन् ।
बाढीबाट प्रभावित ज्येष्ठ नागरिकहरू विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा रहेको उनी बताउँछिन् । ‘विपद्को समयमा समस्यामा परेका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति साथै अन्य समस्यामा परेका व्यक्तिका लागि भनेर सम्पर्क नम्बर उपलब्ध गराएर समन्वय गरेका थियौं,’ उनले भनिन्, ‘पनि भवन अभावको समस्या आए पनि समाधान भएको कुरा आएको छ ।’ बाढीबाट कति ज्येष्ठ नागरिक प्रभावित भए भन्ने तथ्यांक भने समन्वयमा काम भइरहेको उनी बताउँछिन् ।
वृद्धाश्रमबाट उद्धार गरिएका ज्येष्ठ नागरिकलाई अहिले अस्थायी शिविरमा राखिएको नेपाल बताउँछन्। ‘बाढी प्रभावित २८ जना ज्येष्ठ नागरिकलाई भने रेडक्रसले तयार पारेको शिविरमा राखिरहेका छौं,’ उनले भने, ‘उहाँहरूको स्वास्थ्य जाँच गर्न डाक्टर, साथै विभिन्न सहयोग गर्न संघसंस्थाहरू आइरहनुभएको छ ।’
बाढीपछि प्रभावित गाउँमा परेको दीर्घकालीन असर
रसुवा आमाछोदिङ–४ का मानबहादुर तामाङका अनुसार बाढीले गाउँको संरचनामा नै परिवर्तन भएको छ। ‘केही मानिस होल्डिङ सेन्टरबाट गाउँ फर्किसकेका छन्। कतिपय घरमा ज्येष्ठ नागरिक, साना बालबालिकाहरू बेपत्ता सन्तान र अभिभावक आउने आशामा छन्,’ उनले भने, ‘परिवारका युवा सदस्य कसैलाई बाढीले बगाएको छ । केही रोजगारको सिलसिलामा विदेश छन् । त्यसैले गाउँमा दैनिक कामकाजदेखि बालबालिका र ज्येष्ठ नागरिकको हेरचाहको जिम्मेवारी सीमित व्यक्तिमा सीमित भएको छ ।’
‘धेरै ज्येष्ठ नागरिक हेर्दाहेर्दै घर, परिवार सबै कुरा बगायो भन्ने खालको कुरा गरिराख्नुहुन्छ। केहीमा अहिलेसम्म आफन्तको शव भेटिएको छैन, फर्केर आउँछन् कि भन्ने आशा अझै देखिन्छ,’ मानबहादुर सुनाउँछन् ।
ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यलाई सबैले ख्याल गर्नुपर्ने अवस्था देखिएको रोक्का बताउँछन् । ‘विपद्मा आफन्त गुमाएका, घरबास गुमाएका साथै जीविकोपार्जनको आधार हराएका नै धेरै ज्येष्ठ नागरिक हुनुहुन्छ,’ उनले भने, ‘त्यसको ख्याल नगरे दीर्घकालीन असर पर्न सक्छ । त्यसैले सरकार साथै संघसंस्था मिलेर उहाँहरूको मानसिक स्वास्थ्यसँगै सबै कुराको ध्यान दिनुपर्ने देखिन्छ ।’
ज्येष्ठ नागरिकको मनोस्वास्थ्यलाई कसरी ख्याल गर्ने ?
विपद्को समयमा ज्येष्ठ नागरिकको हकमा परिवार, समुदाय र सरकारले सहयोग साथै पुनःस्थापनामा महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको भट्टराई बताउँछन् । ‘विपद्को समयमा ज्येष्ठ नागरिकलाई सबैभन्दा पहिले आधारभूत आवश्यकता पूरा हुने गरी सहयोग गर्नुपर्छ । खाना, आश्रय र अन्य आवश्यक सुविधासँगै परिवारका सदस्य छन् भने पुनर्मिलन गराउनु महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘मनोचिकित्सकीय सहयोगसँगै ज्येष्ठ नागरिकको पुनःस्थापना पनि आवश्यक छ । उनीहरूलाई आवश्यक सहयोग र सेवा उपलब्ध गराउनुपर्छ ।’ ज्येष्ठ नागरिकका कुरा सुन्ने, उनीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउन आवश्यक रहेको उनी सुनाउँछन् ।
विपद्को समयमा ज्येष्ठ नागरिकले सामना गर्ने चुनौती अन्य उमेर समूहका व्यक्तिको भन्दा फरक हुन्छ । ‘दीर्घरोग, हिँडडुलमा कठिनाइ, श्रवण तथा दृष्टिसम्बन्धी समस्या, नियमित औषधि सेवन र अरूको सहयोगमा निर्भर हुनुपर्ने अवस्थाले उद्धार र राहतको पहुँचमा कठिनाइ हुन सक्छ। त्यसलाई ध्यानमा राखेर काम गर्नुपर्छ,’ उनले भने ।
आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।