राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयको विषयलाई संसद्मा गम्भीर बहसमा लैजान यथाशीघ्र संसद् आह्वान गर्नुपर्ने माग गरिन् ।
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छन् ।
सोमबार कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको उनको भनाइ थियो । 'एकदुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव हुँदैन,' उनले भनिन्, 'न्यायालयको पुनःसंरचनामा सरकार गम्भीर हुनुपर्छ । न्यायालयको विषयलाई संसदमा गम्भीर बहसमा लैजान यथाशीघ्र संसद् आह्वान गर्नुपर्छ ।'
उनले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका विषय पनि संसदमा छलफल गर्नुपर्ने बताइन् ।