बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ।
काठमाडौँ — नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको छ । बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, न्यायालयभित्र बिचौलियाको प्रवेशले उब्जाएको प्रश्न तथा कर्मचारीतन्त्रमा सिर्जना भएको त्रासलगायत पछिल्ला घटनाक्रमबारे छलफल भइरहेको छ ।
बैठकमा कांग्रेससहित एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधिहरू सहभागी छन् ।
एमालेबाट पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन, युवराज दुलाल र प्रवेश हमाल तथा राप्रपाबाट सचेतक खुश्बु ओली सहभागी छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा उपस्थित छन् ।
राष्ट्रिय सभामा विपक्षी दलका रूपमा रहेका राष्ट्रिय जनमोर्चा, लोसपा र जसपालाई समेत बैठकमा आमन्त्रण गरिएको छ ।
बैठकले पछिल्ला घटनाक्रमबारे साझा धारणा बनाउने र प्रेस स्वतन्त्रता, न्यायालयको स्वायत्तता तथा कर्मचारीतन्त्रको मनोबलसँग जोडिएका विषयमा छलफल गरिने कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।