Trending
Prev Story
Next Story

सुन्तला र तरकारीले फेरिँदै सल्यानको अर्थतन्त्र

Ekantipur •
November 02, 2026 • 07:32 AM
1
1 reads 0 reactions

सुन्तला र बेमौसमी तरकारीको व्यावसायिक उत्पादनबाट सल्यानमा वार्षिक करोडौँ रुपैयाँ भित्रिँदा किसानको जीवनस्तर र स्थानीय अर्थतन्त्र सुधारिएको छ।

सुन्तला र तरकारीले फेरिँदै सल्यानको अर्थतन्त्र

सुन्तला र बेमौसमी तरकारीको व्यावसायिक उत्पादनबाट सल्यानमा वार्षिक करोडौँ रुपैयाँ भित्रिँदा किसानको जीवनस्तर र स्थानीय अर्थतन्त्र सुधारिएको छ।

सल्यान — सिद्धकुमाख गाउँपालिका–४ का प्रदीप खड्का बिहान विद्यालय जानुअघि आफ्नै सुन्तलाको बगैंचामा पुग्छन्। पेसाले शिक्षक भए पनि उनी अगुवा सुन्तला कृषकका रूपमा समेत परिचित छन्। कुनै समय घरपरिवारको आवश्यकताका लागि दुई–चार बोट सुन्तला लगाउने गरेका उनको बगैंचाबाट अहिले वार्षिक करिब ३० लाख रुपैयाँको सुन्तला बिक्री हुन्छ।

‘पहिले उत्पादनभन्दा बिक्रीको चिन्ता बढी हुन्थ्यो, सडक नहुँदा सुन्तला बजारसम्म पुर्‍याउन निकै कठिन थियो। अहिले घर नजिकै सडक पुगेपछि व्यापारी नै बगैंचासम्म आउँछन्,’ उनी भन्छन्, ‘ढुवानी सहज भएको छ र बजारको चिन्ता पनि हटेको छ।’

सुन्तलाबाट हुने आम्दानी प्रदीपको परिवारको घरखर्च चलाउनेदेखि छोराछोरीलाई उच्च शिक्षा दिलाउने आधार बनेको छ। मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार २०८१ बाट सम्मानित उनी सल्यानमा व्यावसायिक सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने किसानमध्ये एक हुन्।

सुन्तलाको उर्वर भूमि सल्यानमा पछिल्ला वर्ष व्यावसायिक खेतीको लहर चलेको छ। सरकारी तथा गैरसरकारी क्षेत्रबाट सुन्तला खेतीको विस्तार र व्यवसायीकरणमा लगानी बढेसँगै किसान पनि यसतर्फ आकर्षित भएका छन्। परम्परागत रूपमा घरायसी प्रयोजनका लागि गरिने खेती अहिले धेरै परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ।

बागचौर नगरपालिका–९, कोटमौलाका गिरदल डाँगी सुन्तला खेतीबाट वार्षिक करिब २५ लाख रुपैयाँ आम्दानी गर्छन्। सुन्तलाबाट प्राप्त आम्दानीले दाङको तुलसीपुरमा घरजग्गासमेत खरिद गरेको उनी बताउँछन्। कोटमौलाकै बालाराम डाँगीको परिवारको आर्थिक अवस्थामा पनि सुन्तला खेतीले परिवर्तन ल्याएको छ। उनका छोराछोरी इन्जिनियरिङ पढ्दै छन्। परिवारको दैनिक खर्चदेखि छोराछोरीको कलेज शुल्कसम्म सुन्तला खेतीकै आम्दानीबाट जुट्छ। सुन्तलाबाट राम्रो लाभ हुन थालेपछि उनी जग्गा भाडामा लिएर बगैंचा विस्तार गरिरहेका छन्। कामको खोजीमा दाङको तुलसीपुर, नेपालगञ्जदेखि कालापहाडसम्म पुग्नुपर्ने बाध्यता हटेपछि गिरदल गाउँमै कहलिएका सुन्तला कृषक बनेका छन्।

व्यावसायिक सुन्तला खेतीले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पनि आकर्षित गरेको छ। विदेशमा कमाएको पुँजी गाउँघरमै लगानी गरी बगैंचा विस्तार गर्ने क्रम बढेको छ। एकपटक बिरुवा हुर्काएपछि धेरै वर्षसम्म उत्पादन लिन सकिने, बगैंचा व्यवस्थापनमा तुलनात्मक रूपमा कम श्रम लाग्ने र बजारमा राम्रो मूल्य पाइने भएकाले किसान खाद्यान्न बाली लगाउने जमिनमा समेत सुन्तला खेती गर्न थालेका छन्।

सुन्तला खेतीलाई किसानको पेन्सनका रूपमा लिन सकिने कोटमौलाका किसान ध्वजबहादुर चन्द बताउँछन्। बिरुवा हुर्काएपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बुढेसकालको सहारा बन्ने उनको तर्क छ। ‘सुन्तला खेती बुढेसकालको सहारा बनेको छ, एकपटक बिरुवा हुर्काएपछि धेरै समयसम्म निरन्तर आम्दानी दिन्छ, त्यसैले यो मेरो लागि पेन्सन हो,’ उनी भन्छन्। बारीबाटै खरिदबिक्री हुने भएकाले बजारको समस्या पनि नरहेको उनले बताए।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा २०४३/४४ सालदेखि फाट्टफुट्ट रूपमा सुरु भएको सुन्तला खेती ५० को दशकपछि व्यावसायिक रूपमा विस्तार हुन थालेको हो। अहिले जिल्लामा करिब १ हजार ६७५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ। बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, त्रिवेणी र कपुरकोट सुन्तलाका प्रमुख उत्पादन क्षेत्र हुन्। तीमध्ये सबैभन्दा बढी उत्पादन बागचौर नगरपालिकामा हुन्छ। बागचौरबाट मात्रै वार्षिक १५ करोड रुपैयाँभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ। नगरपालिकाले सुन्तला खेती प्रवर्द्धनका लागि वार्षिक ८० लाख रुपैयाँ बजेट खर्च गर्ने गरेको जनाएको छ।

जिल्लाबाट वार्षिक ३० देखि ३५ करोड रुपैयाँसम्मको सुन्तला निकासी हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए। उनका अनुसार जिल्लामा १ हजार ३ सयभन्दा बढी किसान व्यावसायिक सुन्तला खेतीमा संलग्न छन्।

कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्म सुन्तलाजातका फलफूलमा ४ करोड रुपैयाँ लगानी गरेको छ। पछिल्ला ७ आर्थिक वर्षमा २७ हजार २८२ मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात हुँदा १ अर्ब ८८ करोड ८६ लाख ३० हजार रुपैयाँ जिल्लामा भित्रिएको कार्यालयको तथ्या‌ंक छ।

स्रोतः जिल्ला कृषि विकास कार्यालय, सल्यान

कृषि विकास कार्यालयका प्रमुख आचार्यका अनुसार सुन्तला खेतीबाट किसानले व्यक्तिगत लाभ लिनुका साथै जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन र समग्र अर्थतन्त्र सुधारमा समेत योगदान पुगेको छ। किसानलाई सुन्तला खेतीमा आकर्षित गर्न अनुदान वितरण, सिँचाइ पूर्वाधार निर्माण, बगैंचा तथा नर्सरी व्यवस्थापनलगायतका काममा बजेट खर्च भइरहेको कार्यालयले जनाएको छ।

उत्पादन क्षेत्र विस्तारसँगै उन्नत प्रविधिको प्रयोग, रोगकीरा नियन्त्रण र प्राविधिक जनशक्ति व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ। कार्यालयका अधिकृत रेशमकुमार बस्नेतका अनुसार सुन्तलाका बिरुवा उत्पादन तथा वितरण, सिँचाइका लागि पानी ट्यांकी निर्माण र मोटरबाट पानी तान्ने व्यवस्थालगायतका काम भइरहेका छन्।

व्यावसायिक सुन्तला खेती गर्ने किसानको संख्या बढ्दै गए पनि केही वर्षयता देखिएको सिट्रस ग्रिनिङ रोगले किसानलाई चिन्तित बनाएको छ। सुन्तलामा लाग्ने यो अत्यन्त हानिकारक ब्याक्टेरियाजन्य रोगका कारण बगैंचा नै जोखिममा पर्न थालेका छन्।

गत आर्थिक वर्ष जिल्लाका ५० सुन्तला बगैंचाबाट नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा ३५ वटाको रिपोर्ट पोजिटिभ आएको थियो। यसले जिल्लाका सुन्तला बगैंचाको समयमै उचित व्यवस्थापन गर्नुपर्ने देखाएको छ। कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यका अनुसार यो रोगको हालसम्म उपचार छैन। त्यसैले रोकथाम नै प्रभावकारी उपाय हो। रोगमुक्त र प्रमाणित बिरुवा प्रयोग गर्ने, रोगी बोट तुरुन्त नष्ट गर्ने, स्क्रिन हाउसमा बेर्ना उत्पादन गर्ने तथा सिट्रस सिल्ला कीराको नियमित निगरानी र व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।

समयमै सचेतना अपनाएमा रोगको जोखिम न्यून गर्न सकिने उनको भनाइ छ। ‘रोग लागेका बोट हटाउनु पर्छ, तर एउटा किसानले गरेर हुँदैन यो ब्याक्टेरियाबाट सर्ने भएकाले छिमेकीको बगैंचाबाट सर्ने सम्भावना पनि उत्तिकै हुन्छ, यसमा सबै किसान लाग्नुपर्छ,’ उनले भने।

सल्यानको तरकारी, तराईको बजार सुन्तलामा जस्तै सल्यानको कपुरकोट गाउँपालिका बेमौसमी तरकारी उत्पादनको प्रमुख केन्द्रका रूपमा परिचित छ। वैदेशिक रोजगारीमा करिब १० वर्ष बिताएर स्वदेश फर्किएका कपुरकोट गाउँपालिका–३ का थमन गिरीले विदेशमा कमाएको पुँजी बेमौसमी तरकारी खेतीमा लगानी गरे। अहिले आधुनिक प्रविधिबाट व्यावसायिक खेती गर्दै उनले ६ महिनामै करिब २५ लाख रुपैयाँ बराबरको तरकारी बिक्री गर्छन्। उनीसँग अहिले २० वटाभन्दा बढी प्लास्टिक टनेल छन्। ती टनेल कृषि विकास कार्यालय सल्यान र गाउँपालिकाको सहयोगमा निर्माण गरिएका हुन्।

सडक, सिँचाइ, प्राविधिक ज्ञान र प्रविधिको व्यवस्थापन हुन सके विदेशमा भन्दा आफ्नै गाउँमा कृषि उद्यम गर्न सम्भव रहेको उनको अनुभव छ। उत्पादित तरकारी कपुरकोट कृषि उपज बजार संकलन केन्द्रबाट बिक्री हुने गरेको छ।

कपुरकोट गाउँपालिका–५ का प्रकाश केसीले भने कहिल्यै विदेश जाने सोच बनाएनन्। करिब २६ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनी एक सिजनमै करिब ८ लाख रुपैयाँ आम्दानी गर्छन्। ‘घरआँगनबाटै तरकारी बिक्री भइहाल्छ, मोटरबाटो पनि गाउँमै आएको छ, गाउँगाउँमा संकलन केन्द्र बनेका छन्,’ उनी भन्छन्। कपुरकोटकै डिल्ली केसीले पनि छ महिनाको अवधिमा करिब ५ लाख रुपैयाँ बराबरको तरकारी बिक्री गर्छन्।

विगतमा रोजगारीका लागि भारत (कालापहाड) जाने धेरै युवा अहिले आफ्नै गाउँमा कृषि उद्यम गरिरहेका छन्। कपुरकोट गाउँपालिकामा मात्रै ३ सय ५० भन्दा बढी घरपरिवार व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। जेठ अन्तिम सातादेखि मंसिरसम्म यहाँ उत्पादन हुने बेमौसमी तरकारी दाङको तुलसीपुर, घोराही, भालुवाङ, बुटवल, नेपालगञ्ज, कोहलपुर र सुर्खेतलगायतका बजारमा पुग्ने गरेको छ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाका अधिकांश क्षेत्रमा व्यावसायिक तरकारी खेती हुने गरेको छ। जिल्लाबाट वार्षिक करिब ५५ करोड रुपैयाँ बराबरको ताजा तरकारी निर्यात हुने गरेको तथ्यांक छ। पछिल्ला ७ आर्थिक वर्षमा मात्रै ५१ हजार ७७४ मेट्रिक टन ताजा तरकारी निर्यात भएको र त्यसबाट जिल्लामा २ अर्ब २४ करोड २९ लाख ५७ हजार रुपैयाँ भित्रिएको कार्यालयले जनाएको छ।

स्रोतः जिल्ला कृषि विकास कार्यालय, सल्यान

कृषि अधिकृत रेशम बस्नेतका अनुसार पछिल्ला आठ वर्षयता प्रदेश सरकारमार्फत मात्रै ४ करोड रुपैयाँभन्दा बढी अनुदान किसानलाई उपलब्ध गराइएको छ। सडक करिडोर केन्द्रित कार्यक्रमले व्यावसायिक किसानको संख्या उल्लेख्य रूपमा बढाएको उनको भनाइ छ। आर्थिक वर्ष २०७४/७५ मा सल्यानबाट २० करोड रुपैयाँ बराबरको तरकारी निर्यात हुने गरेकामा अहिले यो परिमाण बढेर वार्षिक ५५ करोड रुपैयाँसम्म पुगेको छ।

सीमित क्षेत्रमा मात्रै हुने व्यावसायिक तरकारी खेती पछिल्ला वर्ष जिल्लाका अधिकांश गाउँबस्तीमा फैलिएको छ। अहिले कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, शारदा, बागचौर, सिद्धकुमाख, दार्मा तथा राप्ती राजमार्ग आसपासका क्षेत्रमा व्यावसायिक तरकारी उत्पादन भइरहेको छ। विशेषगरी कोभिड–१९ महामारीपछि वैदेशिक रोजगारीबाट फर्किएका युवाले बाँझो जमिनसमेत उपयोग गरेर तरकारी खेती सुरु गरेपछि उत्पादन क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ।

सल्यानका स्थानीय तहले वार्षिक बजेटमार्फत तरकारी उत्पादन, सिँचाइ, कृषि सडक, टनेल निर्माण र बजार व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। प्रदेश सरकारले पनि कृषि विकास कार्यालयमार्फत तरकारी ब्लक, बीउ अनुदान, सिँचाइ पूर्वाधार, प्राविधिक सेवा तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत विभिन्न योजनामा लगानी गरेको छ।

प्रदेश सरकारको लगानीमा जिल्लाभर तरकारी उत्पादनलाई लक्षित गरी आठवटा संकलन केन्द्र तथा हाटबजार स्थापना भएका छन्। गाउँगाउँमा कृषि सडक विस्तार भएका छन्। किसानका अनुसार पहिले उत्पादन बजारसम्म पुर्‍याउन आफैंले ढुवानी गर्नुपर्ने बाध्यता थियो। अहिले व्यापारी खेतबारीमै पुगेर तरकारी खरिद गर्न थालेका छन्। यसले ढुवानी खर्च घट्नुका साथै उत्पादन बिक्री गर्न सहज भएको छ।

खेती प्रणालीमा पनि उल्लेखनीय परिवर्तन आएको छ। केही वर्षअघिसम्म खुला खेतमा मौसमी तरकारी उत्पादन हुने गरेकामा अहिले बाँस र फलामका टनेलमार्फत वर्षभरि तथा बेमौसमी तरकारी उत्पादन हुन थालेको छ। कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर ७ सय ६७ वटा टनेल सञ्चालनमा छन्। तीमध्ये २ सय २७ वटा फलामे टनेल हुन्। सिँचाइ कुलो, पोखरी, पाइपलाइन तथा थोपा सिँचाइ प्रणाली विस्तारले पानीको अभाव हुने क्षेत्रमा समेत व्यावसायिक खेती सम्भव बनाएको छ।

कृषि विकास कार्यालयले विषादीको प्रयोग घटाउन कृषक पाठशाला सञ्चालन, जनचेतनामूलक तालिम, जैविक खेती प्रवर्द्धन तथा आधुनिक खेती प्रविधि विस्तारमा जोड दिएको छ। किसानलाई मिनी टिलर, स्प्रे ट्यांकी, उन्नत बीउ, जैविक तथा रासायनिक मल, आवश्यक कृषि सामग्री र प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ। कृषक भ्रमण कार्यक्रममार्फत नयाँ प्रविधि सिकाउने अभ्यासले पनि उत्पादन प्रणालीमा परिवर्तन ल्याएको कार्यालयको दाबी छ।

सुन्तला र तरकारी खेतीबाट हुने आम्दानीले सल्यानका किसानको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको छ। परम्परागत निर्वाहमुखी खेतीमा सीमित रहेका धेरै किसान अहिले व्यावसायिक कृषि गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्। कृषि आम्दानीबाट घर निर्माण, छोराछोरीको उच्च शिक्षा, जग्गा खरिद र व्यवसाय विस्तार गर्ने किसानको संख्या बढेको छ। कतिपयले जिल्लाबाहिरका सहरमा घरजग्गा किनेका छन् भने केहीले सवारीसाधनसमेत खरिद गरेका छन्।

यसले व्यावसायिक कृषिलाई किसानको आयआर्जनको भरपर्दो आधार मात्र बनाएको छैन, गाउँमै रोजगारी सिर्जना गर्न र स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि योगदान पुर्‍याएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको कृषि व्यवसायमा आकर्षण बढेको छ भने महिलाको सहभागिता पनि विस्तार हुँदै गएको छ।

सुन्तला र तरकारीको उत्पादनसँगै कृषि मूल्य शृंखला सुधार गर्न पनि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। उन्नत बीउ तथा बिरुवा वितरण, प्राविधिक सेवा, प्लास्टिक टनेल, सिँचाइ पूर्वाधार, कृषि सडक, कृषि यन्त्र, ब्लक कार्यक्रम, सुन्तला बगैंचा विस्तार, तरकारी उत्पादन क्षेत्र विकास तथा किसान समूह र सहकारी सुदृढीकरणका कार्यक्रमले उत्पादनमा सकारात्मक प्रभाव पारेका छन्। उत्पादनपछि संकलन, ग्रेडिङ, प्याकेजिङ र ढुवानी हुँदै सल्यानका सुन्तला तथा ताजा तरकारी सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल र काठमाडौंसम्म पुग्ने गरेका छन्।

कुनै समय जीविकोपार्जनका लागि भारत वा अन्य मुलुकतर्फ पलायन हुन बाध्य सल्यानका धेरै किसान अहिले आफ्नै गाउँमा कृषि उद्यमबाट आम्दानी गरिरहेका छन्। संघीयतापछि भएको सरकारी लगानी, सडक विस्तार, प्राविधिक सेवा र बजार पहुँचले सुन्तला तथा ताजा तरकारी उत्पादनलाई नयाँ उचाइमा पुर्‍याएको छ।

यद्यपि व्यावसायिक उत्पादनसँगै चुनौती पनि उत्तिकै छन्। जलवायु परिवर्तनका कारण उत्पादनमा देखिएको अनिश्चितता, सिँचाइको सीमित पहुँच, कोल्ड स्टोर र प्रशोधन उद्योगको अभाव, ग्रेडिङ तथा प्याकेजिङ प्रणालीको कमी, बजार मूल्यको अस्थिरता र कृषि बिमाको प्रभावकारी कार्यान्वयन नहुनु किसानका प्रमुख समस्या हुन्।

जडिबुटी तथा कृषि विज्ञ डा. मित्र पाठकका अनुसार सल्यानको हावापानी र भौगोलिक अवस्थाले बेमौसमी तरकारी उत्पादनका लागि अनुकूल वातावरण प्रदान गर्छ। उत्पादनसँगै भण्डारण, प्रशोधन, ब्रान्डिङ, बजार व्यवस्थापन र निर्यात प्रवर्द्धनमा दीर्घकालीन नीति तथा लगानी गर्न सके सल्यानलाई कर्णाली प्रदेशकै कृषि अर्थतन्त्रको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको भनाइ छ। उनी भन्छन्, ‘पुराना बगैंचाको पुनर्स्थापना, गुणस्तरीय बिरुवा, सिँचाइ, रोग–कीरा व्यवस्थापन र प्राविधिक सेवामा ध्यान दिनुपर्ने हुन्छ। सल्यानको उत्पादनलाई बेग्लै पहिचान दिने गरी ब्रान्डिङ र प्रशोधनतर्फ जान सके किसानले कच्चा उत्पादन बेचेर मात्र होइन, त्यसमा मूल्य थपेर आम्दानी लिन सक्छन्।’

सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छन् । फू...

#तरकारी
Compare →
Bizshala
1w ago
आज कति छ तरकारीको थोक मूल्य ?

आज कति छ तरकारीको थोक मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।...

#तरकारी
Compare →
Onlinekhabar
1w ago
कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द

कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् । सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन्  । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, …

#सल्यान
Compare →
Nagarik News
1w ago
सल्यानमा जिप दुर्घटना : तीन जनाको मृ*त्यु, १९ घाइते

सल्यानमा जिप दुर्घटना : तीन जनाको मृ*त्यु, १९ घाइते

सल्यानको दुई स्थानमा शुक्रबार राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

#सल्यान
Compare →

Related Stories

Business & Economy
Build #2611