अस्ट्रेलियाका महान् ब्याटर वार्नरले काठमान्डुको ब्याटिङ सम्हाल्दा शीर्ष स्थानमा रहेको कर्णाली याक्सलाई चुनौती दिनेछन्।
काठमाडौँ — काठमान्डुले आज अस्ट्रेलियाका महान् ब्याटर डेबिड वार्नरलाई खेलाउँदै छ । उनी आइतबार राति १० बजे काठमाडौं आइपुगेका हुन् । उनले अस्ट्रेलियाका अर्का ब्याटर साम हिजलेटको स्थान लिने छन् ।
करण केसीको कप्तानीमा रहेको काठमान्डुबाट वार्नरसहित स्मित पटेल, रशिद खान, भीम सार्की, सन्तोष यादव, आदिल आलम, शाह आलम, देव साह, रिप्पोन मण्डल र जहान्दाद खान खेलिरहेका छन् ।
सोमपाल कामीको कप्तानीमा कर्णाली याक्सबाट मार्क वाट, आरिफुल इस्लाम, हुसैन तलात, जिसन आलम, दीपके डुम्रे, पवन सर्राफ, गुलशन झा, नन्दन यादव, युनिस सिंह ठकुरी र युवराज खत्री खेलिरहेका छन् ।
कर्णाली पहिलो दुई खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो । काठमान्डु भने पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।