लगातार दुई जितसहित शीर्ष स्थानमा रहेको कर्णालीले काठमान्डुसँग खेल्दा चितवनले दोस्रो खेलमा सुदूरपश्चिमको सामना गर्नेछ।
काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजको सामना गर्नेछ भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिमसँग खेल्दै छ ।
कर्णाली पहिलो दुई खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो । काठमान्डु भने पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।
काठमान्डुबाट आज अस्ट्रेलियाका महान् ब्याटर डेबिड वार्नर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा उत्रिँदै छन् । उनलाई टिम हडलमा काठमान्डु गोर्खाजले क्याप प्रदान गरिसकेको छ ।
त्यस्तै, कर्णालीले बंगलादेशका युवा ब्याटर जिसन अलामलाई समावेश गरेको छ ।