मानवजातिको रक्षा, हित र सुस्वास्थ्यको कामनासहित आयोजित पूजामा १२ मुलुकका १५० विदेशीसमेत ५५० जना सहभागी छन्।
लुम्बिनी — विश्वशान्तिको कामना गर्दै लुम्बिनीमा ७ दिने पूजा सुरु भएको छ । पश्चिम विहार क्षेत्रमा रहेको पाल थुब्तेन सेडुप लिङ विहार (हजार स्वर्ण बुद्ध टेम्बल) मा पूजा थालिएको हो । आईतबारबाट बाट सुरु भएको पूजा कार्तिक २१ गते सकिनेछ ।
सम्पूर्ण मानव प्राणीको रक्षा, हित र सुस्वास्थ्यको कामना गर्दै महायानी परम्परा अनुसार पूजा थालिएको हो। पूजामा विभिन्न १२ मुलुकका एक सय ५० विदेशी सहित ५ सय ५० जना सहभागी छन् ।
पूजामा महायानीको कानिङ सम्प्रदायका मुलगुरु छोक्यी न्यीमा रिन्पोछेले सहश्र बुद्धको अभिषेक तथा प्रवचन दिइरहेका छन् । यो कार्यक्रम तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर आयोजना गरिएको हो ।
बौद्ध मान्यताअनुसार बुद्धले देवताहरूको लोकमा आफ्नी मातासहित देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती पात्रोअनुसार नवौं महिनाको २२ औं दिनमा मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ । यसै अवसरमा लुम्बिनीस्थित पाल थुब्तेन सेडुब लिङ विहार उद्घाटनको दोस्रो वार्षिकोत्सव पनि मनाइँदैछ ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।