पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब ५ करोड रुपैयाँ थियो ।
काठमाडौं — नीतिगत सहजता र कर्जा असुलीमा सुधार हुँदा चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार भएको छ । यस अवधिमा २० वाणिज्य बैंकले १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको नाफा ४६.१३ प्रतिशतले बढेको बैंकहरूले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले कुल १३ अर्ब ५ करोड नाफा कमाएका थिए ।
यस अवधिमा बैंकहरूले यसअघि निष्क्रिय कर्जाका लागि राखेको नोक्सानी व्यवस्था (प्रोभिजन) उच्च दरले घटाएका छन् । पछिल्ला महिनामा घरजग्गा कारोबारमा केही सुधार आउन थालेको छ भने गत असारदेखि राष्ट्र बैंकले निर्माण व्यवसायीको ऋणको भाका सार्ने (पुनर्तालिकीकरण र पुनःसंरचना) गर्ने सुविधा दिएको छ । बैंकहरूले गत असोजसम्म यो नीतिगत सुविधाको उपयोग गरिसक्नुपर्ने व्यवस्था छ । यसमा ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी बैंकले कर्जाको पुनर्तालिकीकरण र/वा पुनःसंरचना गर्ने सुविधा पाएका थिए ।
यस्तो व्यवस्थाले बैंकहरूले पहिलोको तुलनामा कम मात्र खराब कर्जाबापतको नोक्सानी व्यवस्था राख्नुपर्ने र विगतमा राखिएको त्यस्तो व्यवस्थाबापतको रकम फिर्ता ल्याउन (राइटब्याक गर्न) पाएका छन् । यसकारण पनि पहिलो त्रैमासमा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको बैंकरहरू स्विकार्छन् ।
गएका तीन महिनामा कर्जा असुली केही बढेको र नोक्सानी व्यवस्थामा राख्नुपर्ने रकम घटेकाले बैंकहरूको नाफा बढेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको तर्क छ । ‘कतिपय बैंकको गत असारको तुलनामा खराब कर्जामा केही सुधार भएको र असुली बढेकाले नाफा बढेको छ,’ उनले भने, ‘अहिले बैंकहरूले कर्जा र निक्षेपको ब्याज अन्तर कम गरेर पनि कर्जा लगानी बढाइरहेका छन् । यसले क्रमशः बैंकहरूको व्यवसाय विस्तार हुन थालेपछि नाफामा पनि सुधार देखिएको हो ।’
पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह बढ्न थालेको छ । यही कारण बैंकको नाफामा उच्च सुधार देखिएको हो । बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकहरूको व्यवसायको मुख्य आधार मानिने खुद ब्याज आम्दानी भने एक प्रतिशतले मात्रै बढेको छ । यस्तो आम्दानी ४९ अर्ब १० करोड रुपैयाँबाट बढेर ४९ अर्ब ५७ करोड पुगेको हो । बैंकहरूको व्यवसाय विस्तारभन्दा पुराना कर्जामा सुधार हुँदै गएका कारण नाफा बढेको देखिन्छ ।
यसअघि बैंकहरूले २० अर्ब रुपैयाँ खराब कर्जाबापतको नोक्सानी व्यवस्थामा राखेका थिए । गत असोजसम्म यस्तो रकम ११ अर्बमा सीमित भएको छ । केही बैंकको यस्तो नाफामा गुणात्मक वृद्धि देखिएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा करिब ३० गुणा र कृषि विकास बैंकको नाफा १७ गुणाले बढेको हो ।
रकमका आधारमा सबैभन्दा धेरै नाफा नबिल बैंकको छ । यस बैंकले दुई अर्ब ५५ करोड नाफा कमाएको छ । बैंकहरूको कर्जा लगानी अपेक्षित दरमा बढ्न नसक्दा र प्रवाह भएको कर्जाको किस्ता उठ्न नसक्दा ब्याज आम्दानी खासै बढ्न नसकेको बैंकरहरू स्विकार्छन् । बैंकहरूमा अहिले पनि १३ खर्बभन्दा बढी रकम कर्जा लगानी हुन नसकेर थन्किएको छ ।
पाँच बैंकको वितरणयोग्य मुनाफा नै ऋणात्मक छ । सिटिजन्स, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया र प्रभु बैंकको यस्तो मुनाफा नकारात्मक छ । बैंकहरूले औसतमा १७.७४ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । एभरेस्ट बैंकको यस्तो लाभांश क्षमता सबैभन्दा धेरै छ । बैंकको लाभांश क्षमता ४०.७७ प्रतिशत छ ।
बैंकहरूले ब्याज नउठेका कारण नियामकीय सञ्चितिमा पाँच अर्ब ३३ करोड रुपैयाँ राखेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले ५१ प्रतिशत बराबर रकम राखे पुग्ने व्यवस्था गरिएको छ । यसअनुसार करिब १० अर्ब रुपैयाँ बराबर ब्याज उठ्न नसकेको देखिन्छ । बैंकहरूको खराब कर्जा औसतमा ५.९५ प्रतिशत छ । यसअघि ५.१९ प्रतिशत थियो ।
सात बैंकको यस्तो कर्जा सातदेखि १४ प्रतिशतसम्म पुगेको छ । यसमध्ये प्रभु बैंकको खराब कर्जा सबैभन्दा धेरै १४.८ प्रतिशत छ । एभरेस्ट बैंकको सबैभन्दा कम ०.५ प्रतिशत छ । बैंकहरूको औसत प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३१ पैसा छ । यसअघि यस्तो औसत प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९४ पैसा थियो । प्रभु, हिमालयन र एनआईसी एसियाको प्राथमिक पुँजी कोष अनुपात तोकिएको न्यूनतम ८.५ प्रतिशतभन्दा तल छ । यसले यी बैंकहरूलाई कर्जा लगानीमा पनि समस्या भइरहेको बताइन्छ ।