Trending
Prev Story
Next Story

नयाँ कपडा नकिनी कसरी बन्ने स्टाइलिस ?

Ekantipur •
October 20, 2026 • 12:23 PM
1
1 reads 0 reactions

वार्डरोब पूरै नयाँ बनाउनुको सट्टा ‘पुरानै कपडा, नयाँ स्टाइल’ लाई प्राथमिकता दिने हो भने कम बजेटमै फरक र आकर्षक देखिन सकिन्छ।

नयाँ कपडा नकिनी कसरी बन्ने स्टाइलिस ?

वार्डरोब पूरै नयाँ बनाउनुको सट्टा ‘पुरानै कपडा, नयाँ स्टाइल’ लाई प्राथमिकता दिने हो भने कम बजेटमै फरक र आकर्षक देखिन सकिन्छ।

काठमाडौँ — बजारका नयाँ डिजाइनले लोभ्याए पनि फेस्टिभ फेसनका लागि बजेट नै ठूलो हुनुपर्छ भन्ने छैन। पुरानो साडीमा नयाँ ब्लाउज, साधारण कुर्तामा आकर्षक दुपट्टा वा दैनिक पहिरनमा स्टेटमेन्ट ज्वेलरी थपेर कम खर्चमै चाडपर्व सुहाउँदो लुक बनाउन सकिन्छ।

कहिलेकाहीँ वार्डरोबमा भएका पहिरनलाई नयाँ नजरले हेरे पनि भयो। ड्रेपिङको शैली बदल्ने, कपडाको संयोजन फेरबदल गर्ने र एक्सेसरिज थप्ने हो भने पुरानै पहिरन पनि चाडपर्वका लागि नयाँजस्तै देखिन सक्छ।

हुन त चाडपर्वको माहोलले सबैलाई लोभ्याउँछ। बजारमा सरसामानको किनमेल अनि पहिरनको छनोटमा सबैको चासो हुनु अस्वाभाविक पनि होइन। झिलिमिली बत्ती, नयाँ डिजाइनका कपडा र गहना देख्दा केही न केही नयाँ किनौँ भन्ने रहर जाग्छ। तर हरेक चाडमा नयाँ कपडा, जुत्ता, ब्याग र गहना किन्दाको खर्च भने उकालो लागिसक्छ।

वार्डरोब पूरै नयाँ बनाउनुको सट्टा ‘पुरानै कपडा, नयाँ स्टाइल’ लाई प्राथमिकता दिने हो भने कम बजेटमै फरक र आकर्षक देखिन सकिन्छ। आखिर फेसनको मूल्य कपडाको ट्यागमा होइन, त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्नेमा पनि निर्भर गर्छ।

फेसन डिजाइनरका अनुसार फेस्टिभ फेसनमा सबैभन्दा महत्त्वपूर्ण कुरा महँगो पहिरनभन्दा पनि आफूलाई सुहाउने रङ, सही फिटिङ र एक्सेसरिजको सन्तुलन हो। त्यसैले चाडपर्वका लागि किनमेल गर्दा नयाँ कपडाको थुप्रो लगाउनुको सट्टा आफ्नो वार्डरोबमा भएका पहिरनलाई कसरी पुनः प्रयोग गर्न सकिन्छ भन्नेमा ध्यान दिनु पनि बजेटमै स्टाइलिस देखिने उपाय हुन सक्छ।

कुपण्डोलस्थित भिकुना नेपाल बुटिककी सञ्चालक फेसन डिजाइनर दीक्षा ढकाल भन्छिन्, ‘फेस्टिभ लुकका लागि हरेक पटक नयाँ कपडा किन्नैपर्छ भन्ने छैन। आफूसँग भएका पहिरनलाई नयाँ तरिकाले स्टाइल गर्ने, सही एक्सेसरिज प्रयोग गर्ने र रङको संयोजनमा ध्यान दिने हो भने कम बजेटमै पनि आकर्षक लुक बनाउन सकिन्छ।’

विशेषगरी इमिटेसन ज्वेलरी र राम्रो हेयरस्टाइलले साधारण पहिरनलाई पनि फेस्टिभ बनाउन सक्ने उनको अनुभव छ। चाडपर्व भन्नेबित्तिकै नयाँ लुगा, गहना र मेकअपमा खर्च गर्नुपर्छ भन्ने छैन। थोरै सिर्जनशीलता र आफूसँग भएका पहिरनलाई सही ढंगले ‘स्टाइलिङ’ गर्न सके कम बजेटमै पनि आकर्षक फेस्टिभ लुक बनाउन सकिने उनको सुझाव पनि छ।

फेस्टिभ लुकका लागि सबैभन्दा सजिलो विकल्प हो, वार्डरोबमा थन्किएको साडीलाई नयाँ तरिकाले लगाउनु। पुरानो साडीलाई फेरि लगाउँदा पनि ब्लाउज परिवर्तन गर्न सकिन्छ।

साधारण साडीसँग कन्ट्रास्ट ब्लाउज, बेल्ट वा स्टेटमेन्ट इयररिङ प्रयोग गर्दा पूरै लुक फरक देखिन्छ। पुरानो साडीसँग नयाँ ब्लाउज मिलाउने विकल्प पनि कम बजेटमा नयाँ लुक निकाल्ने राम्रो उपाय हुन सक्छ।

त्यस्तै, साडीको ड्रेपिङ स्टाइलमा परिवर्तन गर्दा पनि लुकमा फरकपन आउँछ। सामान्य तरिकाले लगाउँदै आएको साडीलाई यसपटक फरक प्लेटिङ वा बेल्टसँग लगाउन सकिन्छ।

फेस्टिभ लुकका लागि नयाँ लेहेंगा वा साडी नै चाहिन्छ भन्ने छैन। वार्डरोबमा रहेको कुर्ता–सुरुवाल वा कुर्ता सेटलाई पनि आकर्षक बनाउन सकिन्छ। साधारण कुर्तासँग आकर्षक दुपट्टा जोड्ने, दुपट्टालाई फरक शैलीमा ड्रेप गर्ने वा कुर्तासँग म्याच हुने झुम्का र चुरा लगाउने हो भने लुक तत्कालै फेस्टिभ देखिन्छ।

विशेषगरी रातो, मरुन, हरियो, मस्टर्ड, नेभी वा अर्थ टोनका कपडालाई चाडपर्वमा एक्सेसरिजमार्फत अझ आकर्षक बनाउन सकिन्छ।

कम बजेटमा फेसन गर्ने अर्को उपाय हो, मिक्स एन्ड म्याच। एउटै कपडालाई फरक–फरक अवसरमा फरक तरिकाले प्रयोग गर्न सकिन्छ।अफिसमा लगाउने साधारण कुर्तालाई चाडको पारिवारिक जमघटका लागि स्टेटमेन्ट झुम्का, चुरा र आकर्षक दुपट्टासँग लगाउन सकिन्छ। त्यस्तै, पार्टीमा लगाएको टपलाई अर्को दिन प्लाजो वा साडीसँग पेयर गर्न सकिन्छ।

यसरी कपडा नयाँ किन्नुभन्दा आफूसँग भएका कपडाको संयोजन परिवर्तन गर्दा खर्च पनि घट्छ र हरेकपटक नयाँ लुकको अनुभव हुन्छ।

फेस्टिभ लुकमा गहनाको भूमिका ठूलो हुन्छ। तर महँगा सुनका गहना नै लगाउनुपर्छ भन्ने छैन। अहिले बजारमा विभिन्न मूल्यमा उपलब्ध इमिटेसन ज्वेलरीले पनि लुकलाई आकर्षक बनाउन सक्छ।

साधारण कपडासँग ठूलो झुम्का, चोकर, लामो नेकलेस वा रङ्गीन चुरा प्रयोग गर्न सकिन्छ। तर एकैपटक धेरै गहना प्रयोग गर्नुको सट्टा एउटा स्टेटमेन्ट पिसलाई प्राथमिकता दिँदा लुक सन्तुलित देखिन्छ। पुराना गहनालाई पनि नयाँ संयोजनमा प्रयोग गर्न सकिन्छ। आमाको वा दिदीबहिनीको पुरानो गहना सापटी लिएर त्यसलाई आफ्नो कपडासँग मिलाउनु पनि बजेटमै फेस्टिभ लुक निकाल्ने एउटा उपाय हो।

फेस्टिभ लुकका लागि मेकअपमा धेरै खर्च गर्नुपर्ने आवश्यकता छैन। दैनिक प्रयोग गर्ने बेस मेकअपमै सानो परिवर्तन गरेर चाडपर्वका लागि तयार हुन सकिन्छ। आँखामा हल्का गोल्डेन वा ब्राउन टोन, राम्रोसँग ब्लेन्ड गरिएको बेस, ब्लस र आफूलाई सुहाउने लिप कलरले नै अनुहारलाई फ्रेस देखाउन सक्छ।

विशेष अवसरका लागि लिपिस्टिकको रङ परिवर्तन गर्नु पनि सस्तो तर प्रभावकारी उपाय हो। सामान्य न्युट्रल मेकअपमा गाढा रातो, मरुन वा बेरी टोनको लिपिस्टिक थप्दा फेस्टिभ टच आउँछ।

कपडा नफेरे पनि हेयरस्टाइल परिवर्तन गर्दा पूरै लुक नयाँ देखिन सक्छ। खुला केशमा हल्का वेभ, लो बन, ब्रेड वा साधारण पोनीटेललाई एक्सेसरिजसँग सजाउन सकिन्छ।

साडी वा कुर्तासँग जुडा बनाएर त्यसमा गजरा लगाउने हो भने पनि परम्परागत फेस्टिभ लुक तयार हुन्छ। यसका लागि पार्लरमा धेरै पैसा खर्च गर्नुभन्दा घरमै सजिलो हेयरस्टाइल सिक्नु बजेटमैत्री विकल्प हुन सक्छ।

फेस्टिभ लुक तयार पार्दा कपडासँगै जुत्ता र ब्याग पनि नयाँ किन्नुपर्ने सोचले बजेट बढाउँछ। त्यसैले पहिले भएका न्युट्रल कलरका स्यान्डल, हिल वा ब्यागलाई प्राथमिकता दिन सकिन्छ। कालो, बेज, गोल्डेन वा ब्राउनजस्ता रङका एक्सेसरिज धेरै पोसाकसँग मिल्ने भएकाले एउटै वस्तुलाई विभिन्न लुकमा प्रयोग गर्न सकिन्छ।

फेस्टिभ किनमेलमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो, पहिले वार्डरोब हेर्ने, त्यसपछि बजार जाने। के–के कपडा पहिले नै छन्, कुन कपडामा ब्लाउज वा दुपट्टा मात्र परिवर्तन गर्दा नयाँ लुक आउन सक्छ र कुन एक्सेसरिज आवश्यक छ भन्ने सूची बनाउन सकिन्छ। त्यसपछि मात्र किनमेलको बजेट छुट्याउँदा अनावश्यक खर्च कम हुन्छ।

चाडपर्वमा आकर्षक देखिनु भनेको महँगो कपडा लगाउनु मात्र होइन। आफ्नो व्यक्तित्व, शरीरको बनोट र आफूलाई सहज लाग्ने पहिरनअनुसार स्टाइल गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
16h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#कपडा
Compare →
Hamro Patro News
23h ago
बंगलादेशका कपडा मजदुरको भान्सामै संकट!

बंगलादेशका कपडा मजदुरको भान्सामै संकट!

बंगलादेश । विश्व बजारमा कपडा निर्यातबाट ठूलो आम्दानी गर्ने बंगलादेशमा त्यही उद्योगमा काम गर्ने मजदुर भने दैनिक जीवन धान्न संघर्ष गरिरहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बढ्दो ...

#कपडा
Compare →
Onlinekhabar
1w ago
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति …

#कपडा
Compare →

Related Stories

National (Nepal)
Build #2611