डा. केसीको उपचारमा सम्लग्न डाक्टर महेश आचार्य भन्छन्- रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेर ३५ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको र मुटुको चालमा समेत गडबडी देखिएको छ ।
पाँचथर — चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै २५औं सत्याग्रहमा रहेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । इलाम अस्पतालले आइबार साँझ पत्रकार सम्मेलन गर्दै केसीको अवस्था थप जटिल बनेको जनाएको हो ।
रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेर ३५ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको र मुटुको चालमा समेत गडबडी देखिएको उपचारमा संलग्न डाक्टर महेश आचार्यले जानकारी दिए ।
गत शुक्रबार साँझ ५ बजेर २० मिनेटदेखि इलामको नारायणस्थानमा सत्याग्रह सुरु गरेका उनको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो । केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कम अर्थात् ‘हाइपोग्लाइसेमिया’ देखिएको हो । सामान्यतया रगतमा ग्लुकोजको मात्रा ७० मिलिग्राम प्रतिडेसिलिटरभन्दा कम भएमा ‘हाइपोग्लाइसेमिया’ भनिन्छ । केसीको रगमा ग्लुकोजको मात्रा ३५ मिलिग्राममा झरेको छ । यस्तै, पिसाबमा एसिटोनको मात्रा बढेको र रक्तचाप १००/६० रहेको चिकित्सकले जनाएका छन ।
डा. महेश आचार्यका अनुसार केसीको मुटुको चालमा समेत गडबडी देखिएको छ । ग्लुकोजको मात्रा अत्यधिक कम हुँदा टाउको दुख्ने, पसिना आउने र मुटुको चाल अनियमित हुने समस्या देखिएको उनले बताए ।
‘स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उहाँको जीवन नै जोखिममा पर्ने अवस्था छ,’ डा. आचार्यले भने, ‘ग्लुकोजको मात्रा बढाउन नसके थप जटिलता आउन सक्छ ।’
केसीको शरीरमा पानी चढाइरहे पनि ग्लुकोज दिन भने उनले अस्वीकार गरिरहेका छन् । चिकित्सकले स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर ग्लुकोज चढाउन आग्रह गरिरहेको डा. आचार्यले बताए । ‘उहाँको स्वास्थ्यमा थप जोखिम हुन नदिन आवश्यक उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय कोशी प्रदेशलाई समेत आग्रह गरिएको छ,’ डाक्टर आचार्यले भने ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि लामो समयदेखि अभियान चलाउँदै आएका केसीले सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको र चिकित्सा शिक्षा सञ्चालनमा न्यूनतम मापदण्डसमेत पालना नभएको भन्दै सत्याग्रह सुरु गरेका हुन् । उनले सत्याग्रह थाल्नुअघि नै आफ्ना माग सम्बोधन गर्न सरकारलाई समयसीमा दिएका थिए ।
केसीको यसपटकको मुख्य असन्तुष्टि कैलालीस्थित गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्ति पूरा नगरी चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण गरिएको विषयमा छ ।
चिकित्सा शिक्षा आयोगले गेटामा एमबीबीएसका लागि ५०, बीएससी नर्सिङका लागि २०, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीका लागि १० र बी अप्टोमेट्रीका लागि १० गरी ९० सिट निर्धारण गरेको छ । चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शास्त्रका विषय अध्यापन गराउन कम्तीमा ३०० शय्याको अस्पताल सञ्चालनमा हुनुपर्ने व्यवस्था छ । तर पूर्ण क्षमताको अस्पताल सञ्चालन नगरी पठनपाठन सुरु गर्न लागिएको भन्दै केसीले सिट निर्धारणको निर्णय खारेज गर्न माग गरेका छन् ।
उनले मापदण्डविपरीत विभिन्न मेडिकल कलेजमा वृद्धि गरिएका सिटसमेत खारेज गर्नुपर्ने माग राखेका छन् । आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र कानुनी मापदण्ड पूरा गरेर मात्रै गुणस्तरीय चिकित्सा शिक्षा सञ्चालन गर्नुपर्ने उनको अडान छ ।
केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. देवेन्द्रबहादुर खत्री, गेटा विश्वविद्यालयका उपकुलपति डा. सुनिलकुमार जोशी र रजिस्ट्रार भीमबहादुर चन्दलाई निलम्बन गरी निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन् । उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछि भएका निर्णयमाथि छानबिन गरी दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।
यसैगरी विश्वविद्यालयसम्बन्धी ऐनका विवादित र दलीय प्रभावयुक्त प्रावधान संशोधन गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ । बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण अघि बढाउन पनि उनले माग गरेका छन् ।
केसीका माग सम्बोधन गर्न सरकारले यसअघि भएका सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरेको जनाएको छ । शिक्षा मन्त्रालयले १२ कात्तिकमा जारी गरेको विज्ञप्तिमा ११ साउनमा भएका सहमति कार्यान्वयनका लागि काम भइरहेको उल्लेख गरेको छ । तर सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै केसीले सत्याग्रहलाई निरन्तरता दिएका हुन् ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।