Trending
Prev Story
Next Story

फुटपाथमा गाउँदा–गाउँदै अस्ताए झापाका गायक जेठा मुर्मु

Ekantipur •
November 01, 2026 • 05:01 AM
1
1 reads 0 reactions

पूर्व–पश्चिम राजमार्गमा गाडीको कर्कश हर्न छिचोल्दै परसम्म सुनिने त्यो स्वर अब कहिल्यै सुनिने छैन। दृष्टिविहीन गायक जेठा मुर्मु सधैंका लागि अस्ताएका छन्।

फुटपाथमा गाउँदा–गाउँदै अस्ताए झापाका गायक जेठा मुर्मु

पूर्व–पश्चिम राजमार्गमा गाडीको कर्कश हर्न छिचोल्दै परसम्म सुनिने त्यो स्वर अब कहिल्यै सुनिने छैन। दृष्टिविहीन गायक जेठा मुर्मु सधैंका लागि अस्ताएका छन्।

विराटनगर — झापाका सडक गल्लीहरूमा गुन्जिने एउटा सुरिलो स्वर अब सदाका लागि गुञ्जिन छाडेको छ।

पूर्व–पश्चिम राजमार्गमा गाडीको कर्कश हर्न छिचोल्दै परसम्म सुनिने त्यो स्वर अब कहिल्यै सुनिने छैन। दृष्टिविहीन गायक जेठा मुर्मु सधैंका लागि अस्ताएका छन्।

झापाका सडक र बजारमा गीत सुनाएर जीवन गुजारा गर्ने मुर्मुको शुक्रबार राति उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ३९ वर्षीय उनको इटहरीस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दृष्टिविहीन अगुवा दिलकुमार राजवंशीले जानकारी दिए।

शुक्रबार दिउँसोसम्म उनी सुनसरीको सडकमा गीत गाएरै जीविका चलाइरहेका थिए। साँझ कोठा फर्किएपछि एक्कासि बिरामी परेका उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। सुगर, प्रेसर र कोलेस्ट्रोलसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित उनी केही समयदेखि अस्वस्थ थिए। उपचारकै क्रममा उनको जीवनयात्रा टुंगियो।

‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ, समयले जवानी लुटेपछि आयौ’ गीत गाएर बटुवाको ध्यान तान्ने जेठा झापाका सडकमा कुनै समय परिचित अनुहार थिए। गन्तव्यमा हतारिएका पैदलयात्री एकछिन रोकिन्थे, कोही प्रशंसा गर्दै अघि बढ्थे त कोही खल्तीबाट १०–२० रुपैयाँ निकालेर उनको हातमा थमाउँथे।

त्यही फुटपाथ उनको रंगमञ्च थियो। बटुवाले दिएको सानो सहयोग नै उनको परिवारको गुजाराको आधार थियो।

झापाको कचनकवल गाउँपालिका–८ डाँगाबारीमा जन्मिएका जेठाको जीवन भने उनको स्वरजति सहज थिएन। विपन्न तथा लोपोन्मुख सन्थाल समुदायमा जन्मिएका उनले अभाव र संघर्षबीच शिक्षा हासिल गरेका थिए। बाल्यकालदेखि नै गीत गुनगुनाउने उनलाई संगीतप्रतिको मोहले सहरसम्म डोर्‍याएको थियो। पृथ्वीनगरस्थित हिमाली माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा र संगीत अध्ययनका लागि बिर्तामोड धाउन थाले। गाउँबाट सहरसम्मको लामो यात्रा र आर्थिक अभावसँग जुध्दै उनले आफ्नो गायनलाई निरन्तरता दिए।

संगीत सिक्ने क्रममा अग्रज संगीतकार कुशेश्वर राईको साथ र मार्गदर्शन पाए। विभिन्न साहित्यिक तथा सांगीतिक संघसंस्थाबाट सम्मानित पनि भए। सम्मानपत्रको चाङ लागे पनि त्यसले उनको जीवन धान्न सकेन। परिवारको आर्थिक जिम्मेवारीले उनलाई निरन्तर संघर्ष गर्न बाध्य बनायो।

काठमाडौंमै भेटिएकी सिन्धुपाल्चोककी दृष्टिविहीन रमा विश्वकर्मालाई उनले जीवनसंगिनी बनाएका थिए। रमा पनि सडकमा गीत गाएर गुजारा गर्थिन्। दुवैबीच प्रेम बस्यो र विवाह भयो। त्यसपछि उनीहरू झापा फर्किए। उनीहरूकी एक छोरी छन्।

गुजारा चलाउन पछिल्लो एक वर्षदेखि उनी सुनसरीका बजारमा गीत गाउँदै हिँड्न थालेका थिए। इटहरी र धरान आसपासका सडक पेटीमा दिनभर गाएर बटुलेको केही रकमबाट उनी परिवार धान्थे।

दृष्टिविहीन अगुवा राजवंशीका अनुसार विद्यार्थी कालमा बिर्तामोडस्थित कनकाई आदर्श माध्यमिक विद्यालयले उनलाई निःशुल्क अध्ययनको अवसर दिएको थियो। कलकत्ता मिष्ठान्न भण्डारले खानाको र सयपत्री लजले बसोबासको व्यवस्था गरेर पनि सहयोग गरेका थिए। प्रतिभा हुँदाहुँदै पनि उनले पर्याप्त अवसर र संस्थागत संरक्षण पाउन नसकेको राजवंशी बताउँछन्।

‘उनमा राम्रो गायन प्रतिभा थियो। गीत गाउने मात्र होइन, विभिन्न आवाज निकालेर मानिसलाई मनोरञ्जन दिन सक्थे,’ राजवंशीले भने, ‘तर प्रतिभाअनुसारको अवसर र संरक्षण पाउन सकेनन्।’

जेठाको निधनसँगै सडकलाई रंगमञ्च बनाएर जीवनको कठिन लयसँग जुधिरहेको एउटा प्रतिभाशाली स्वर मौन भएको छ। फुटपाथमा गीत गाएर छोरीको भविष्य खोजिरहेका जेठाका अधुरा सपना भने परिवारसँगै बाँकी रहनेछन्। ‘छोरीलाई डाक्टर पढाउने धोको छ’, कान्तिपुरसँग उनले भनेका थिए।

उनको आइतबार बिहान १०:३० बजे मेचीघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2w ago
भोजपुरी गायक खेसारी लालमाथि चप्पल प्रहार, जवाफमा भने : ‘आई लभ यू’

भोजपुरी गायक खेसारी लालमाथि चप्पल प्रहार, जवाफमा भने : ‘आई लभ यू’

जहाँ खेसारीले घटनालाई हल्का रूपमा लिए, त्यहीँ सांसद पप्पु यादवले भने यस्तो व्यवहारप्रति कडा प्रतिक्रिया अपनाए।

#गायक
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611