चतुर्भुज भट्टले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छोराको चरित्रहत्या गर्ने सामग्री प्रकाशित भएको भन्दै सत्यतथ्य छानबिन गर्न र उनलाई नख्खु कारागार फर्काउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका हुन् ।
काठमाडौँ — थुनामा रहेका व्यवसायी दीपक भट्टका बुबा चतुभुर्ज भट्टले मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै उनका बुबाले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका हुन्।
चतुर्भुजले शुक्रबार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र छोरालाई सिन्धुपाल्चोक कारागारबाट नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिन माग गरेका छन् ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पुर्याउने सामग्री प्रकाशित तथा प्रसारित भइरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने माग गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएका छन् ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।