नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण प्रभावित भएपछि सुरु हुन सकेको छैन। खेल सञ्चालनका लागि अम्पायरले ५–५ ओभरमा खेलाउने निर्णय गरे पनि मैदानको अवस्थालाई लिएर सुदूरपश्चिमले असहमति जनाएपछि खेल थप अन्योलमा परेको छ।
वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि अम्पायरले छोट्याइएको खेल गराउने तयारी गरेका थिए। सोहीअनुसार साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने समय तय गरिएको थियो। तर, भिजेको आउटफिल्डमा खेल्न सुरक्षित नहुने भन्दै सुदूरपश्चिमले उक्त निर्णयमा सहमति जनाएको छैन।
विवाद बढेपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसवाह उल हक, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच लामो छलफल भएको थियो। तर, छलफलबाट पनि खेल सञ्चालन गर्ने विषयमा सहमति जुट्न सकेन।
त्यसपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीसहित टोलीका अन्य खेलाडी मैदानबाट बाहिरिएका छन्। अहिले सुदूरपश्चिमका विनोद भण्डारी मात्रै मैदानमा देखिएका छन्।
अर्कोतर्फ विराटनगर किंग्सका खेलाडी भने खेल्न तयार हुँदै मैदानमै रहेका छन्। एउटै मैदानमा दुई टोलीको फरक अडान देखिएपछि खेलको आगामी अवस्थाबारे अन्योल बढेको छ।
एक टोली खेल्न तयार र अर्को टोली भिजेको मैदानमा खेल्न असहमत भएपछि अब अम्पायर र म्याच रेफ्रीले के निर्णय लिन्छन् भन्ने चासो बढेको छ। खेल पुनः सञ्चालन हुने, थप समय पर्खिने वा अन्य निर्णय लिइने भन्ने विषयमा अहिले स्पष्टता छैन।