सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।
सुदूरपश्चिमले काठमान्डुमाथि लगातार तेस्रो सिजनमा विजय हात पारेको हो । सबै ७ खेल खेलेको सुदूरपश्चिम १० जोड्दै शीर्ष स्थानमा पुगेको छ । तर क्वालिफायरमा टोलीको स्थान सुरक्षित भएको छैन । लुम्बिनीको ६ खेलमा ९ र काठमान्डुको ८ अंक छ र दुबै टोलीले आफ्नो अन्तिम खेलमा विजय हात पारेमा सुदूरपश्चिमलाई उछिन्दै शीर्ष दुई टोली बन्न सक्छन् । काठमान्डुले दोस्रो हार बेहोरेको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ६० रन बनाए पनि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २५ रनमात्र बनाउन सकेको थियो । जबाफमा आएको काठमान्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १८ रनमात्र बनाउन सक्यो ।
काठमान्डुले ओपनिङ ब्याटिङमा प्रयोग गर्दै साम हेजलेट र भीम सार्कीलाई पठाएको थियो । तर भीम पहिलो बलमै स्कट कुग्लेनको बलमा आउट भए । हेजलेट ११ रनमा रनआउट हुनु काठमान्डुको दुर्भाग्य बन्यो । सन्तोष १९ बल खेली १० रनमा आउट भए भने सहन अराचिगेले खाता खोल्न सकेनन् ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
मोहम्मद आदिल आलमले २४ बल खेली ८ रनमात्र बनाउन सकेर पुनः टिमलाई निराश बनाए । दुशान हेमन्था २१ रनमा आउट भए । उनले १८ बल खेली समान १ चौका र छक्का प्रहार गरे । कप्तान करण केसीले पनि १२ बल खेली ८ रनमात्र बनाउन सके । रशिद खान ३५ र जहाँन्दद खान ७ रनमा अविजित रहे । रशिदले ३१ बल खेली ५ चौका प्रहार गरे ।
सुदूरपश्चिमबाट अनिल खरेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । कुग्लेनले ४ ओभरमा १५, हेमन्त धामीले २५ र फाबियन एलेनले ३२ रन खर्चेर १–१ विकेट लिए ।
यसअघि सुदूरपश्चिमबाट प्लेयर अफ द म्याच दीपेन्द्रले आफ्नो इनिङ्समा ५ चौका र २ छक्का प्रहार गरे । काठमान्डुले बलिङमा पुनः एक पटक सनसनीपूर्ण सुरुआत गरेको समयमा दीपेन्द्रले आफ्नो स्वभाव अनुरुप म्याच विजयी इनिङ्स खेलेका थिए ।
प्रमुखरुपमा बलिङ अलराउन्डर रहेका कुग्लेन ओपनिङ ब्याटिङमा आएका थिए । उनले आधिकारिक पहिलो बलमै छक्का प्रहार गरेका थिए । तर पाकिस्तानी तीब्र बलर जहाँन्ददले कुग्लेनलाई चौथो बलमै आउट गरी काठमान्डुलाई पहिलो सफलता दिलाए । दोस्रो ओभरमा देव्रेहाते स्पिनर सन्तोषले ब्रान्डन म्याकमुलेनलाई क्याच गराए भने इशान पाण्डेलाई बोल्ड गरे । दुबैले खाता खोल्न भ्याएनन् । तेस्रो ओभरमा जहाँन्ददले विनोद भण्डारीलाई १ रनमा एलबीडब्लु आउट गर्दा सुदूरपश्चिमले ८ रन बनाउदा चार विकेट गुमाउन पुगेको थियो ।
दीपेन्द्रले त्यसपछि आरिफ शेखसँग पाँचौं विकेटमा ५४ रनको साझेदारी गरे । आरिफ २५ बल खेलि १ चौका प्रहार गरि १६ रनमा रनआउट भए । दीपेन्द्रले थारिन्दु रत्नायकेसँग छैटौं विकेटमा पुनः ५४ रनको अर्को साझेदारी गरे । दीपेन्द्र १९ औं ओभरमा जहाँन्ददकै बलमा आउट भए ।
रत्नायके २३ बल खेलि २६ रनमा अविजित रहे । उनले ३ चौका प्रहार गरे । एलेन २ रनमा अविजित रहे । काठमान्डुबाट जहाँन्ददले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ र सन्ताषेले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।