फेटा गाउँपालिका–३ मा १५ शय्याको अस्पताल उद्घाटनका क्रममा सुरु भएको विवाद झडपमा परिणत हुँदा गोली लागेर एक स्थानीय युवासहित तीन प्रहरी र केही स्थानीय घाइते भएका छन् ।
बारा — बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयमा दुई पक्षबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भए । शनिबार दिउँसो भएको झडपका क्रममा प्रहरीको लाठीचार्ज र स्थानीय ढुंगामुढाबाट तीन प्रहरी र केही स्थानीय घाइते भएका छन् । झडपका क्रममा शिलालेख र टेन्ट तोडफोड हुनुका साथै दर्जनभन्दा बढी मोटरसाइकल जलाइएको छ ।
दुई पक्षबीच तनाव हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका छोरा २० वर्षीय आदित्य पासवान घाइते भएका छन् । झडपका क्रममा प्रहरीको लाठीचार्जबाट स्थानीय ५५ वर्षीय लालबाबु साहको टाउकोमा चोट लागेको छ । यो घटनाको पृष्ठभूमि के थियो, किन विवाद र झडप भयो भन्नेबारे हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं :
फेटा गाउँपालिका–३ मा निर्माण भएको १५ शय्याको अस्पताल भवन उद्घाटनका क्रममा आवश्यक स्रोतसाधन तथा जनशक्ति नभएको भन्दै स्थानीयले विरोध गरेपछि शनिबार तनावको स्थिति उत्पन्न भएको हो । पालिकाको ठेक्का अनुसार १४ करोड ९८ लाखमा कात्तिक १५ सम्म अस्पताल भवन निर्माणको काम सक्नुपर्ने थियो । असोजमै ठेक्काको काम सकिएपछि गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले कात्तिक १४ गते २ बजे भवन उद्घाटन कार्यक्रम आयोजना गरेका थिए । त्यसका लागि रास्वपा नेतृ समीक्षा बास्कोटालाई आमन्त्रण गरेका थिए । बास्कोटा उद्घाटनका लागि कलैया आइसकेकी थिइन् । तर कार्यक्रमस्थलमा भने पुगेकी थिइनन् । बिहान भवनको पूजापाठ गर्ने र दिउँसो उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । पानी परेकाले बिहान पूजापाठ हुन सकेन, दिउँसो उद्घाटन हुन नपाउँदै तनावको स्थिति बन्यो । अस्पतालको भवनमात्र बनेको र रंगरोगन, विद्युत, खानेपानी, चिकित्सक लगायतका कर्मचारी, अस्पतालमा चाहिने बेडलगायतका समाग्रीको ट्गों नहुँदै शिलालेखमा आफ्नो नाम लेखाउन हतार भएको भन्दै कार्यक्रस्थलमै बिरोध हुन थाल्यो । अध्यक्ष अन्सारी जसरी पनि उद्घाटन गराई छाड्ने पक्षमा थिए भने केही स्थानीय उद्घाटन रोक्ने पक्षमा उत्रिए । ठेकेदारले सम्झौता अनुसार भवन निर्माणको काम सकेकाले अन्य काम बिस्तारै हुँदै जाने भनेर उद्घाटनको योजना बनाएको गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको भनाइ छ ।
दिउँसो २ बजे उद्घाटन गर्न तामझाम साथ कार्यक्रम आयोजना गरिएको थियो । अधुरो भवन उद्घाटन गर्ने काम रोक्न भन्दै केही स्थानीयले अघिल्लो दिन नै जिल्ला प्रशासनलाई जानकारी समेत गराएका थिए । उद्घाटन हुने भनिए पछि अस्पताल भवनको उद्घाटन गराएरै छाड्ने र उद्घाटन हुनै नदिने गरी दुवै पक्षका करिब पाँच सय स्थानीय त्यहाँ पुगेका थिए । हातमा खबरदारी लेखेको प्लेकार्ड र कालोझण्डा बोकेका केही स्थानीयले नाराबाजी गर्न थाले । केहीले शिलालेख तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बन्यो । प्रहरीले लाठी चार्ज गर्न थालेपछि भीड उग्र बनेको थियो । झडपका क्रममा भवनको सिसा फुटेको छ । आधा दर्जन मोटरसाइकल जलाइएको छ । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाई फायर गरेको थियो । सोही क्रममा गोली लागेर स्थानीय आदित्य पासवान गम्भीर घाइते भएका छन् ।
अस्पताल उद्घाटन हुन नपाउँदै कार्यक्रम स्थलबाहिर होहल्ला सुरु भइसकेको थियो । केही स्थानीय कुनै पनि हालतमा उद्घाटन रोक्ने पक्षमा गएपछि अवस्था बिग्रदै गएको थियो । अस्पताल भवनको उद्घाटन गर्न संसद्को कानुन न्याय मामिला समितिका सभापति एवं रास्वपा नेतृ समीक्षा बास्कोटा आउने कार्यक्रममा भनिए पछि ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको कमाण्डमा २५ जनाको टोली खटिएको थियो । कार्यक्रमस्थलमा भने झण्डै ५ सयको हाराहारीमा मानिस जम्मा भएका थिए । अस्पताल भवन अनुगमन नभएको र राम्रोसँग निर्माण नगरेकोमा उद्घाटन गर्न लागेको भन्दै स्थानीयले टेन्ट भत्काएको प्रहरीको आरोप छ । स्थानीयलाई सम्झाईबुझाई गर्दा प्रहरीमाथि ढुंगामुढा गरेको बारा प्रहरीको भनाई छ । मधेश प्रदेश प्रहरी प्रवक्ता एवं एसएसी प्रभु ढकालले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीबाट एक (१) राउण्ड हवाई फायर भएको स्विकारे । प्रहरीमाथि जाईलागेपछि गोली चलाउनु परेको घटनास्थलमा खटिएका प्रहरीले मधेश प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराएको थियो ।
झडप र गोली प्रहारको घट्नापछि स्थिति थप बिग्रन नदिन मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको निर्देशनमा घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कलैयाबाट डिएसपी मीनबहादुर घले, ईलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी दयाकृष्ण भट्ट, जिल्ला प्रहरी वीरगन्जबाट डिएसपी राजु कार्की, सुरक्षा बेसक्याम्प सिमरा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट ठूलो सख्यामा प्रहरी परिचालन गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले अहिले अवस्था समान्य बन्दै गएको बताए । घटनाको केही बेरसम्म स्थानीयले ढुंगामुढा गरिरहेका थिए । त्यसपछि प्रहरीले तितरबितर पारेको थियो । स्थानीय लालबाबु साहका अनुसार अस्पताल भवनबहिर मानिसको भीड लागेको र त्यही बेला पानी पर्न थाले पछि सबै एकसाथ भित्र छिर्नासाथ प्रहरी निरीक्षक लामाले लाठीचार्ज गरेको बताए ।
अहिले प्रहरी–प्रशासनले के गरिरहेको छ ?
घटनापछि अवस्था बिग्रन नदिन प्रशासनले ठूलो सख्यामा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले घटनामा बिना जानकारी गोली चलाउनेमाथि अनुसन्धान भइरहेको र पीडित परिवारसित पनि सम्पर्क गरिरहेका बताए । फेटा गाउँपालिकाका पूर्ववडाध्यक्ष जयप्रकाश दासका अनुसार उद्घाटनका लागि टेन्ट बनाउने फेटा–३ का आदित्यको शरीरको पछाडिको भाग (हिप) मा गोली लागेको छ । आदित्यको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको पहिलो चरणको शल्यक्रिया भएको र थप उपचारका लागि काठमाडौंबारे सल्लाह भइरहेको जिल्ला प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसपी पवन भट्टराईले जानकारी दिए ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।