चितवनस्थित रत्ननगर नगरपालिकामा शनिबार भएको च्याम्पियनसिपमा प्रस्तुतले ग्योरोगीतर्फ क्याडेट पुरुष ३३ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
चितवन — चितवनको न्यु स्टार तेक्वान्दो डोजाङका प्रस्तुत आचार्यले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
चितवनस्थित रत्ननगर नगरपालिकामा शनिबार भएको च्याम्पियनसिपमा प्रस्तुतले ग्योरोगीतर्फ क्याडेट पुरुष ३३ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । उनले फाइनलमा अस्मिन थताललाई हराए । सुवास शाही ठकुरी र आदर्श भण्डारीले कांस्य पदक जिते ।
नेपालकै करण धौलीले पनि ग्योरोगीमा स्वर्ण पदक जितेका छन् । सिनियर पुरुष ५४ केजीमा करणले नेपालकै अंकित साहनीलाई हराएर स्वर्ण जिते । अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराए । करणले बंगलादेशका मोहम्मद साहिन अली र नेपालकै अजय घर्तीलाई हराएर फाइनलमा यात्रा तय गरेका हुन् । अजय घर्ती र रौनक राउत तेस्रो भए ।
सवजुनियर महिला यू–२६ केजीमा आयोजकका साहिल मन्सुरले अभिमन्यु गजुरेललाई हराएर स्वर्ण जिते । भारतका अर्स सोफियन कुरेस र नेपालका सुर्यान्सजंग न्यौपाने कांस्य जित्न सफल भए । सवजुनियर महिला २५ केजीमा दीपान्सी बायादीले स्वर्ण जितिन् । उनले फाइनलमा सार्वाना क्षेत्रीलाई हराइन् । आत्मिका लिम्बू र चिरागी बस्यालले कांस्य जिते । पुरुष सिनियर ५८ केजीमा नेपालका राजन लामाले स्वर्ण जिते । उनले फाइनलमा नेपालकै मोहम्मद हुसेनलाई हराए । नेपालकै कमल खड्का र अन्सुल परियारले कांस्य जिते । सवजुनियर पुरुष २८ केजी तौलमा नेपालका सुप्रिम गुरुङले फाइनलमा सलिन अधिकारीलाई हराए ।
पुरुष ५८ केजीमा नेपालका मोहम्मद हुसेनले स्वर्ण जिते । उनले फाइनलमा रोजन लामालाई हराए । महिला ४६ केजीमुनि नेपालकी दीक्षा तामाङले स्वर्ण जितिन् । उनले रस्मिका गुरुङलाई हराइन् । प्रकृति मल्ल र अञ्जली चौधरी स्वर्ण जिते ।
पुरुष पुम्से (१०–११ वर्ष) कियानराज कटुवालले स्वर्ण, सामर्थ्य केसी रजत तथा श्रवण गुरुङ र रयान अर्यालले कांस्य जिते । कियानले ६.९९ अंक र सामर्थ्यले ६.७१६ अंक ल्याए । महिलामा वितिशा तामाङले स्वर्ण जितिन् । उनले सर्वाधिक ७.३४ अंक ल्याइन् । एरिक न्यौपानेले ६.९३३ अंकबाट रजत जितिन् । यसै विधामा राज्वी श्रेष्ठ र मालाश्री महर्जनले कांस्य जिते ।
१४ देखि १४ वर्षको पुम्सेमा नेपालकी रेवा काफ्लेले स्वर्ण र मुना थापाले रजत जिते । रेवाले ६.९६६ र मुनाले ६.५९ अंक जोडे । पुरुष १५ देखि १७ वर्षतर्फ बिसु राईले स्वर्ण, सचिन विकले रजत जित्दा अश्विन लामा र सान केसीले कांस्य जितेका छन् ।
आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशन खानका अनुसार च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब ८ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए ।
टिम च्याम्पियनले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता संयोजक प्रज्वल दवाडीले ग्योरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताए । अन्तर्राष्ट्रिय संयोजक खड्काले उत्कृष्ट पुम्से पुरुष, महिला, ग्योरोगी पुरुष, महिला, उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने बताए ।