गर्ल्स २० केजीमुनि शनिबार सेमिफाइनलमा हिमानीले कोसेलीकी सुहाना तामाङ र रिसिकाले शिवपुरी डोजोकी कृष्टि तामाङलाई पराजित गरे ।
काठमाडौँ — बागभैरवकी हिमानी श्रेष्ठ र कोसेलीकी रिसिका तामाङ दोस्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगिताको शनिबार फाइनल पुगेका छन् ।
गर्ल्स २० केजीमुनि शनिबार सेमिफाइनलमा हिमानीले कोसेलीकी सुहाना तामाङ र रिसिकाले शिवपुरी डोजोकी कृष्टि तामाङलाई पराजित गरे ।
नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज २० केजीमुनि बागभैरवका उत्सव श्रेष्ठ फाइनलमा पुगे । उनले सेमिफाइनलमा बालाजुका सौरव मगरलाई हराए । स्वर्णका लागि उत्सवले एमएचएसका साइमन मल्ल र भृकुटीका आशिष आचार्यको विजेतासँग खेल्नेछन् ।
गर्ल्स २५ केजीमुनि मनमैजुकी एन्जल तामाङ, अरनिकोकी रोजिना राउत, ठैवकी दिलिशा लामा र कोसेलीकी प्रनिषा कार्कीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । सोही स्पर्धाको ब्वाइजमा मनमैजुका निशान कुँवर, मेरिल्यान्डका आलोकराज ठाकुर, नवशान्तिका मिसन तामाङ र शिवपुरीका प्रकाश तामाङले सेमिफाइनलमा स्थान बनाए ।
मित्रपार्क नाय खिं बाजं खलःको सहकार्यमा भइरहेको प्रतियोगिताको गर्ल्स एकल कातामा नवशान्तिकी प्रसन्न फुयाल, भृकुटीकी अंकिता पाण्डे, अरनिकोकी पुनम श्रेष्ठ र मेरिल्यान्डकी एलिना ठकुरी सेमिफाइनलमा पुगे । सोही विधाको ब्वाइजमा विद्यावनका रुविन राई, इन्द्रवतीका सुसन तामाङ, भृकुटीकी रोहित बस्नेत र नवशान्तिका रोजन ओझाले सेमिफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडाले उद्घाटन गरे । सोही अवसरमा ६ जनालाई ब्ल्याकवेल्ट पहिलो डान प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो । अपेक्षा थापा मगर, अंशु गुरुङ, लिना राई, प्रज्ज्वल कार्की, जुनु गुरुङ र विदूषि पोखरेललाई ब्ल्याकवेल्ट पहिलो डानको प्रमाण पत्र प्रदान गरियो ।
दुईदिने प्रतियोगितामा ब्वाइज र गर्ल्सतर्फ ११–११ गरी जम्मा २२ स्पर्धामा २ सय २० खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रचारप्रसार उपसमिति संयोजक अच्युतराज उप्रेतीले जनाएका छन् ।