कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन हुनेछ ।
काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर गुड्ने सवारीसाधनले आइतबारदेखि शुल्क तिर्नुपर्ने भएको छ । सडक बोर्डले कार्यकारी समितिको १२ असोजको निर्णय तथा राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाअनुसार शुल्क लिने निर्णय गरेको हो ।
सडक बोर्डको निर्णयअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनी बस–ट्रक र ट्रिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
निर्माण थालेको ८० महिनापछि ११ साउनमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको थियो । पहिलो लटमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीलाई प्रवेश अनुमति दिइएको थियो । दोस्रो लटमा ८ भदौमा साना र ९ सिट क्षमताका सवारीलाई प्रवेश खुला गरिएको थियो । तेस्रो चरणमा काठमाडौंबाट बाहिरिने साना माइक्रो बस र मिनी बसलाई प्रवेश अनुमति खुला गर्ने तयारी थियो । यही बेला १७ भदौमा नागढुंगा ओरालोमा सडक भासिएर सवारी आवागमन ठप्प बनेपछि बिनाशुल्क सबै सवारीका लागि सुरुङ खुला गरिएको थियो । जसअनुसार शनिबार १४ कात्तिकसम्म बिनाशुल्क सवारीसाधन चल्न दिइएको हो ।
चरणबद्ध रूपमा सवारीसाधनलाई परीक्षणका रूपमा खुला गरेर चलाउँदै गर्दा नागढुंगा ओरालोमा सडक भासिएपछि सबै सवारीका लागि आकस्मिक रूपमा सुरुङमार्ग खुला गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । ‘जसले गर्दा केही समय आकस्मिक व्यवस्थापनसँगै परीक्षण सञ्चालन गरियो,’ उनले भने, ‘अब सडक बोर्ड नेपालबाट निर्णय भएअनुसार शुल्क लिने तयारी हो ।’ टोल शुल्क अहिलेलाई नगद लिने र क्यूआरबाट पनि तिर्न मिल्ने व्यवस्था गरिएको उनले सुनाए । ‘यो तत्कालका लागि गरिएको व्यवस्था हो, पछि शुःल्क तिर्न मिल्ने अटोमेटिक कार्डहरूको व्यवस्था गरिनेछ,’ उनले भने ।
सुरुङमार्गभित्र सवारीका लागि गति तोकिएको छ । प्रतिघण्टा ४० किमिको गतिमा सवारी चलाउनुपर्नेछ । सुरुङ नहुँदा धादिङबाट काठमाडौं आउँदा नागढुंगा उकालोमा सवारी चाप हुने बेला साना सवारीलाई १५ र ठूलालाई ३५ मिनेट समय लाग्थ्यो । सुरुङमार्गबाट ७ मिनेटमै धादिङको सिस्नेखोलादेखि बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ ।
सुरुङभित्र भेन्टिलेसन प्रयोजनका लागि १५ वटा जेट फ्यान जडान गरिएको छ । मुख्य सुरुङको दूरी २.६८८ र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । मुख्य सुरुङ र आपत्कालीन सुरुङबाट ३ सय ७५ मिटरमा ७ वटा क्रस प्यासेज निर्माण गरिएको छ । सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र ननमोटोराइज्ड सवारीले भने प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ । युसिन–एआरटी जेभीले सुरुङ सञ्चालनको जिम्मा पाएको छ । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन् । सुरुङ चौबिसै घण्टा खुला रहनेछ । टोल संकलन गर्नका लागि ६४ जना जनशक्ति परिचालन हुनेछन् ।
सुरुङमार्गमा मात्र १ सय ४६ जना कर्मचारी हुनेछन् । सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ । उक्त कम्पनीले सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । प्रत्येक दिन उठेको रकम टोल सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । सबै सवारीसाधनका लागि केही समय सुरुङ खुला गरिएपछि सुरुङभित्र प्रदूषण बढेको गुनासो आउन थालेका छन् ।
यस्तै सुरुङभित्र लेन मिचेर सवारी चलाउँदा दुर्घटनाको जोखिम रहेको र यसका लागि ट्राफिक प्रहरीले सीसी क्यामेरा हेरेर त्यस्ता सवारीसाधनलाई कारबाही गर्दै आएको छ । ‘यी गुनासा आयोजना कार्यालयमा पनि आएका छन्, ठूला मालवाहक सवारीसाधनबाट धूवाँ बढी निस्कने गरेको पाइएको छ,’ निर्देशक नेपालले भने, ‘यसको समाधानका लागि प्रदूषण जाँच गरिदिन यातायात व्यवस्था विभागलाई अनुरोध गरेका छौं ।’ विभागसँग समन्वय गरेर काठमाडौंतर्फ प्रवेश गर्ने सामान बोकेका सवारीसाधनलाई सुरुङ छिर्नुअघि बाहिरै प्रदूषण जाँच गर्ने संयन्त्र राख्ने तयारी गरेको उनको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखामा ४ कात्तिक २०७६ मा शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको थियो । ४२ महिनाभित्र सक्ने लक्ष्यसहित यसको निर्माण थालिए पनि कोभिड महामारी, स्थानीयको अवरोधलगायत कारणले ढिला गरी मात्र सम्पन्न भएको पूर्वाधार मन्त्रालयको भनाइ छ । निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको थियो । हाज्माले जेठ २०८३ मा नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङको काम सकेर हस्तान्तरण गरेको हो । सम्झौताअनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाज्माले नै मर्मतसम्भार गर्नुपर्नेछ ।
कार र भ्यान : काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ
मिनी बस–ट्रक र ट्रिपर : काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ
बस, ट्रक : काठमाडौं भित्रिँदा २ सय ६० र बाहिरिँदा २ सय रुपैयाँ
ठूला ट्रक र हेभी सवारी (लरी) : काठमाडौं भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।