निरन्तरको वर्षाले कुलेखानी जलाशयको सतह तीव्र बढेपछि सम्भावित रूपमा बाँधका ढोका खोल्नुपर्ने भन्दै स्थानीयलाई नदीकिनारबाट टाढा रहन भनिएको छ।
हेटौंडा — निरन्तरको वर्षाका कारण कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै शनिबार पहिलो सुरक्षा साइरन बजाइएको छ। जलाशयमा पानीको सतह पूर्ण क्षमताभन्दा साढे एक मिटर मात्र कम भएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर साइरन बजाइएको हो।
जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढेको थियो। आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै कुलेखानी जलविद्युत् आयोजना प्रथमले शनिबार दिउँसो सूचना जारी गरी सिस्नेरी र वाग्मती खोलाका किनारमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ। राति पनि बाँधका ढोका खोल्नुपर्ने हुन सक्ने भएकाले नदीकिनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो।
पहिलो सुरक्षा साइरन बजाउँदा कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५ सय २८ दशमलव ५० मिटर पुगेको थियो। शनिबार अपराह्न ६ बजे साइरन बजाइएको हो। जलाशयको अधिकतम क्षमता १ हजार ५ सय ३० मिटर रहेकाले अब पूर्ण रूपमा भरिन डेढ मिटर मात्र बाँकी छ।
जलाधार क्षेत्रमा वर्षा कम भएपछि जलाशयको सतह बढ्ने दर पनि घटेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रल्हाद राउतले बताए। 'जलाधार क्षेत्रमा पानी पर्न कम भएकाले प्रतिघण्टा ८ सेन्टिमिटर जलाशयको सतह बढेको छ। त्यो क्रमशः घट्दै जाने छ,' उनले भने।
नेपाल विद्युत् प्राधिकरणको 'ब्याकअप'का रूपमा रहेको कुलेखानी जलाशयमा शनिबार बिहानदेखि भएको निरन्तर वर्षाले पानीको सतह ह्वात्तै बढाएको थियो। बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म आठ घण्टाको अवधिमा जलाशयको सतह १ मिटर १० सेन्टिमिटर बढेको थियो। दिउँसो करिब २ बजेदेखि जलाधार क्षेत्रमा पानी पर्न रोकिएको र आकाश खुल्दै गएको आयोजनाले जनाएको छ। 'एक हजार ५ सय ३० मिटर नपुग्दै जलाशयको बाँधको ढोका विस्तारै खोल्ने छौं,' आयोजना प्रमुख राउतले भने।
जलाशयमा पानीको सतह बढ्न नदिन कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ। तीनवटै युनिट सञ्चालन गर्दा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गर्छ। कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ।
कुलेखानी जलाशयमा सातवटा जलाधार क्षेत्रबाट पानी जम्मा हुन्छ। यसको जलाधार क्षेत्र १ सय ६६ वर्ग किलोमिटर छ। जलाशयमा १ हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ। आवश्यक परे बाँधमा बालुवाका बोरा राखेर थप ५० सेन्टिमिटर पानी संकलन गर्न सकिने आयोजनाका एक प्राविधिकले बताए।
जलाधार क्षेत्रमा निरन्तर वर्षा भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न पानी संकलन नगरी विद्युत् उत्पादन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आयोजनाले जलाशय भरिनुअघि नै बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउन साइरनको व्यवस्था गरेको हो। आयोजनाबाट जारी हुने सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा ध्यान दिन पनि बासिन्दालाई आग्रह गरिएको छ।
यसअघि २०८१ असोज १२ गते बिहान कुलेखानी जलाशय एक्कासि भरिएपछि बाँधको ढोका खोल्ने क्रममा सिमखोलाको पक्की पुल, सडक तथा सिस्नेरी र टेकरका ५० घर बगाएको थियो। विगतको क्षतिलाई समेत ध्यानमा राखेर यसपटक सम्भावित जोखिमबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई समयमै सतर्क गराइएको हो।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।