जिल्लाका अन्नभण्डारका रूपमा चिनिएका माडीफाँट, अगाहाखोला, कसेनी, झडेवा, रामपुर, पूर्वखोला, अर्गली र बाँसटारीलगायतका स्थानमा कालोपोके रोग देखिएको किसानले बताएका छन्।
पाल्पा — किसानले भित्र्याउनै लागेको धानबालीमा कालोपोके रोगको प्रकोप देखिएको छ। जिल्लाका अधिकांश स्थानमा लगाइएका विभिन्न जातका हाइब्रिड धानमा कालोपोके रोग बढी देखिएको हो। कृषिविज्ञका अनुसार हाइब्रिड धानको बीउमै समस्या भएकाले ढुसीजन्य यस रोगले धान उत्पादनमा असर पार्ने देखिएको छ।
‘कहिले बाढीले धानमा क्षति हुन्छ, कहिले कालोपोके रोगले हैरानी खेप्नुपरेको छ,’ तानसेन नगरपालिका–९ का किसान बुद्धिराज बस्यालले भने, ‘वर्षभरि खाने धानमा कालोपोके रोग लागेपछि उत्पादनमै असर पर्ने भयो।’ जिल्लाका अधिकांश एग्रोभेटले विभिन्न जातका हाइब्रिड धानको बीउ बिक्री गर्छन्। तर, गुणस्तरहीन बीउ बिक्री गर्दा यस्ता समस्या बढी आउने गरेको उनले बताए। हाइब्रिड धानका विभिन्न जातका बीउ बजारमा आउने गरेका छन्। त्यस्ता बीउबाट लगाइएको धानमा कालोपोके रोग अत्यधिक फैलिएको माडीफाँटका किसान रामप्रसाद श्रेष्ठले बताए।
जिल्लाका अन्नभण्डारका रूपमा चिनिएका माडीफाँट, अगाहाखोला, कसेनी, झडेवा, रामपुर, पूर्वखोला, अर्गली र बाँसटारीलगायतका स्थानमा कालोपोके रोग देखिएको किसानले बताएका छन्। धानबालीमा कालोपोके नामक ढुसीको प्रकोप फैलिँदा जिल्लामा १५ देखि २० प्रतिशतसम्म उत्पादनमा असर पर्ने किसानको अनुमान छ। पाक्न लागेको र काट्ने अवस्थामा पुगेको धानबालीमा रोग फैलिएपछि किसान मर्कामा परेको रम्भा गाउँपालिका–३, अगाहाखोलाका किसान ज्ञानबहादुर दर्लामीले बताए।
उनका अनुसार अधिकांश स्थानका खेतमा लगाइएको धानबालीमा कालोपोके रोग लागेको छ। ‘कालोपोके रोगले पाक्दै गरेको र भित्र्याउन तयार भएको धानबालीमा नोक्सानी गरेको छ,’ माथागढी गाउँपालिका–१, अगाहाखोलाका पदम बस्यालले भने, ‘अब यसलाई कसरी छुट्याउने भन्ने चिन्ता परेको छ। धान कालै भएको छ।’ उनका अनुसार हाइब्रिड धानबालीमा रोगले ठूलो क्षति पुर्याएको छ।
दुई–तीन वर्षअघिदेखि राम्रो उत्पादन हुँदै आएकाले अधिकांश किसानले विभिन्न जातका हाइब्रिड धानको बीउ लगाउँदै आएका छन्। उत्पादन र खेती गरिएको क्षेत्रफलका हिसाबले महत्त्वपूर्ण मानिने धानबालीमा बाला लागिसकेपछि पाक्ने बेलामा रोग देखिएपछि किसान चिन्तित भएका छन्।
कालोपोके ढुसीजन्य रोग हो। धानमा बाला लाग्नुअघि यो रोग नदेखिएको किसानले बताएका छन्। रोग लागेको बिरुवामा स्वस्थ बिरुवाको तुलनामा केही छिटो बाला लागेको उनीहरूको भनाइ छ। धानको बालामा दाना लाग्नुको सट्टा कालो ढुसीका बीजाणु भरिएका छन्।
रोग लागेको बालाका दाना कालो धुलोमा परिणत भएका छन्। सुरुमा कालोपोके लागेको भाग एक प्रकारको झिल्लीले ढाकिएको हुन्छ। कृषि प्राविधिकका अनुसार केही समयपछि उक्त झिल्ली फुट्छ र त्यसबाट निस्कने बीजाणु हावामा फैलिन्छन्।
रोगी बीउ नै संक्रमणको प्रमुख स्रोत भएको कृषिविज्ञ सन्तोषकुमार चौधरीले बताए। संक्रमित बीउ खेतमा छरेपछि बिरुवा उम्रने र बढ्ने क्रममा सुप्त अवस्थामा रहेका रोगका जीव सक्रिय हुने उनले बताए। बाला लाग्ने समयमा बीजाणु बाहिर निस्कँदा बालामा अंगारजस्तै कालो ढुसीका पोका देखिने उनको भनाइ छ।
वर्षभरि खानका लागि दुःख गरेर लगाएको धानबाली भित्र्याउने बेलामा रोगले नष्ट गरेपछि के खाने भन्ने चिन्ता बढेको माथागढी गाउँपालिका–१, अगाहाखोलाकी किसान तिलमाया दर्लामीले बताइन्। उनका अनुसार खेतमा लगाइएको धानको २५ प्रतिशतभन्दा बढीमा कालोपोके रोग देखिएको छ।
‘कालोपोके रोग कसरी फैलिएको हो भन्ने अन्योल बढेको छ,’ उनले भनिन्, ‘बीउमै खराबी हो कि भन्ने लागेको छ, किनभने पछिल्लो समयमा हाइब्रिड धानका विभिन्न जातको बीउ लगाउने गरिएको छ।’
बीउबिजन बिक्री गर्ने विक्रेता, कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि प्राविधिकले यस विषयमा अध्ययन गर्नुपर्ने किसानको माग छ। बढी धान उत्पादन हुने क्षेत्रमै हाइब्रिड धानमा कालोपोके रोग देखिएको किसानले बताएका छन्।
कृषिविज्ञ चौधरीका अनुसार ढुसीजन्य यस रोगको संक्रमण बीउबाटै सुरु भएको हुन सक्छ। रोगको यकिन उपचार नभएकाले किसान मर्कामा परेको उनले बताए। बीउ रोप्नुअघि विषादी प्रयोग गरेर पानीमा भिजाउनुपर्ने भए पनि किसानले त्यसो नगरी सिधै खेतमा लगाउँदा समस्या आएको हुन सक्ने उनको भनाइ छ। हावाको माध्यमबाट पनि रोगका बीजाणु अन्य स्थानमा फैलिने भएकाले हाइब्रिड धानमा यसको बढी असर देखिएको उनले बताए।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार पाल्पा जिल्लामा धानखेतीका लागि ७ हजार २८७ हेक्टर क्षेत्रफल उपयुक्त छ। जिल्लाका माडीफाँट, अगाहाखोला, अर्गलीफाँट, हेक्लाङफाँट, रामपुरफाँट, दोभान, कचल, अरुणखोला, कालीगण्डकी बेँसी, निस्दी र तिनाउखोला बेँसी क्षेत्रमा धान उत्पादन हुन्छ।
जिल्लामा वर्षभरि ३ हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ। मौसमी सिँचाइ ४ हजार ८७१ हेक्टरमा गर्न सकिने निर्देशनालयले जनाएको छ। जिल्लाको कुल ३६ हजार हेक्टर जमिनमा विभिन्न खेतीबाली लगाइन्छ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।