प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
हेटौँडा — बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावका कारण निरन्तर वर्षा भइरहेकाले कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले शुक्रबार दिउँसो सूचना जारी गर्दै सम्बन्धित सबैलाई जोखिमयुक्त समयमा यात्रा नगर्न र प्रशासनको निर्णयअनुसार सवारी साधन सञ्चालन गर्न अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी दुर्घटना तथा बाढीपहिरोबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो । प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
बंगालको खाडीमा बनेको अर्णव चक्रवातका कारण १२ कात्तिकदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको र यसले सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम निम्त्याउन सक्ने प्रशासनको ठहर छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त समयमा कान्ति लोकमार्ग हुँदै यात्रा गर्ने तथा सवारी सञ्चालन गर्ने सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ । मकवानपुरका बिहीबार रातिदेखि नै वर्षा सुरु भएको छ । शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेको छ ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।