२० गतेसम्म हुने महोत्सवमा बंगलादेश, भारत, श्रीलंका, जापान, चीन, चेक गणतन्त्र, इजरायल र नेपाल सहभागी हुनेछन् ।
काठमाडौँ — काठमाडौंको हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलले आगामी कात्तिक १६ गतेदेखि २० गतेसम्म ‘अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’को छैटौँ संस्करण आयोजना गर्ने भएको छ । फेस्टिभल निर्देशक टंक चौलागाईंले एक विज्ञप्तिमार्फत फेस्टिभलबारे जानकारी दिए ।
चौलागाईंका अनुसार स्कुल थिएटर नेपाल, लालाबालाको सहकार्यमा विभिन्न विद्यालयहरूसँगको साझेदारीमा यो महोत्सव सन् २०१६ देखि नियमित रूपमा हुँदै आएको छ । पछिल्लो पाँचौँ संस्करणमा विभिन्न १२ देशका कलाकारहरूको सहभागिता रहेको थियो । 'यसपटक देशमा आएको बाढीपहिरोका कारण केही देशले सहभागिता रद्द गरे पनि विभिन्न सातवटा देशका कलाकारहरू महोत्सवमा सहभागी हुँदै छन्,' उनले भने ।
उद्घाटन अवसरमा विभिन्न देशका सहभागीहरू एकैस्थलमा उपस्थित हुनेछन् । बाजागाजाको समूह, विभिन्न सांस्कृतिक पोसाकमा सजिएका राष्ट्रका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थी प्रतिनिधिहरू, कलाकार, अतिथि तथा झाँकीसहितको र्यालीपछि औपचारिक कार्यक्रम हुनेछ । त्यसपछि अन्य दिनहरूमा सहभागी राष्ट्रहरूले आआफ्ना नाटक मञ्चन गर्नेछन् ।
विभिन्न देशबाट आउने नाटकहरू सम्बन्धित देशका कलाकारले बालबालिकाकै विषयमा वा उनीहरूलाई नै लक्षित गरेर तयार पारेका हुन् । लालाबालाको पहिलो संस्करणदेखि निरन्तर सहभागी श्रीलंकाली थिएटर ग्रुप ‘रेड एप्पल’ ले नाटक ‘क्याप्टेन क्रुज’ मञ्चन गर्नेछ । यसका निर्देशक सचिथ्रा राहुबड्डा हुन्। लालाबालाका अघिल्ला संस्करणमा उनका प्रस्तुतिहरू निकै रुचाइएका थिए ।
त्यस्तै, बंगलादेशबाट ‘हिरोन किरोन थिएटर’ पनि निरन्तर सहभागी हुँदै आएको छ । जाहाङगिर आलामको लेखन तथा निर्देशनमा यसपटक उनीहरूले ‘फादर्स स्काई’ मञ्चन गर्नेछन् । भारतबाट आउने ‘नईहाती रङ्गसेना’ भने पहिलोपटक यस महोत्सवमा सहभागी हुँदैछ ।
यसपटक सहभागी हुने चेक गणतन्त्र र जापानका टोली अघिल्लो संस्करणमा पनि सहभागी भएका समूह हुन् भने इजरायल पहिलो पटक महोत्सवमा आएको हो । महोत्सवमा बंगलादेश, भारत, श्रीलंका, जापान, चीन, चेक गणतन्त्र, इजरायल र नेपाल गरी आठ देशको सहभागिता रहनेछ ।