Trending
Prev Story
Next Story

पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

Ekantipur •
November 13, 2026 • 06:02 AM
1
1 reads 0 reactions

३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा प्रदर्शन हुनेछ ।

पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा प्रदर्शन हुनेछ ।

काठमाडौँ — मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कात्तिक नाच आजदेखि पाटनमा सुरु हुँदै छ । ३ सय ८६ वर्ष पुरानो इतिहास बोकेको उक्त नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।

अध्यक्ष चित्रकारका अनुसार कात्तिक २७ देखि मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा नाच प्रदर्शन हुनेछ ।

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा धार्मिक–सांस्कृतिक उद्देश्यले कात्तिक नाच सुरु गराएको इतिहास छ । नेपाल भाषामा ‘कात्ति प्याखं’ भनिने यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक आख्यान तथा लोकनाटक प्रस्तुत गरिने परम्परा छ ।

यस वर्ष भक्त सुरदास प्याखं, माधवानर लीला, बायः प्याखं, बाथः प्याखं, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीलालगायतका प्रस्तुति रहने समितिका उपाध्यक्ष प्रकाशराज शर्माले जानकारी दिए ।

यसअघि कात्तिक नाच विसं २०३८ देखि २०६० सम्म आठ दिन,  विसं २०७० मा १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन प्रदर्शन गरिएको थियो । कोरोना महामारीका कारण विस २०७७ मा भने दुई दिनमा सीमित गरियो ।

यस ऐतिहासिक नाचको संरक्षण र निरन्तरताका लागि आर्थिक स्रोत, कलाकारको व्यावसायिक विकास तथा नयाँ पुस्तामा सीप र परम्पराको हस्तान्तरण चुनौतीका रूपमा रहेको समितिले जनाएको छ ।

ललितपुर महानगरपालिकाले विगतमा रु एक करोडको अक्षयकोष स्थापना गरेकामा पछि त्यसमा रु  १० थप गरिएको थियो । यस वर्ष नाच सञ्चालनका लागि महानगरपालिका–१६ ले रु १५ लाख सहयोग गर्ने छ । दीर्घकालीन संरक्षणका लागि समितिले रु १० करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसमेत अघि सारेको छ ।

नाचलाई ऐतिहासिक स्वरूपअनुसार पुनः २७ दिनसम्म सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्ने समितिको योजना रहेको कात्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिए ।

कात्तिक नाच संरक्षण समितिले ऐतिहासिक सम्पदाको अवलोकन तथा संरक्षणमा साथ दिन सर्वसाधारण, संस्कृतिप्रेमी र स्वदेशी तथा विदेशी पर्यटकलाई आग्रह गरेको छ ।

महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्यले नेपालकै गौरवको रुपमा रहेको र इतिहास बोकेको नाचलाई राष्ट्रिय महत्त्वको सम्पदाका रुपमा पहिचान गराउने प्रयास भइरहेको बताए । एक महिनासम्म सञ्चालन हुने उक्त ऐतिहासिक सांस्कृतिक नाचलाई विश्वको अमूर्त सम्पदामा सूचीकृत गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले अर्को वर्ष २७ दिनसम्म नै सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1h ago
कार्तिक नाच सुरु, तस्बिरहरू

कार्तिक नाच सुरु, तस्बिरहरू

काठमाडाैँ । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु भएको छ। यस वर्ष कार्तिक नाच १२ दिनसम्म प्रदर्शन गरिने भएको छ। कात्तिक ना...

#कात्तिक #नाच #पाटन
Compare →

Related Stories

Business & Economy
Build #2611