Trending
Prev Story
Next Story

घरको सपना किन महँगो बन्दै छ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

Ekantipur •
October 30, 2026 • 07:31 AM
1
1 reads 0 reactions

घर किन्नु वा बनाउन त्यति सहज छ त ? घरको सपना पूरा गर्न किन जटिल बन्दै गएको छ ? घरजग्गाको आकासिँदो मूल्य मात्र यसको कारण हो कि ? यो विषयलाई हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।

घरको सपना किन महँगो बन्दै छ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

घर किन्नु वा बनाउन त्यति सहज छ त ? घरको सपना पूरा गर्न किन जटिल बन्दै गएको छ ? घरजग्गाको आकासिँदो मूल्य मात्र यसको कारण हो कि ? यो विषयलाई हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।

काठमाडौँ —  नेपाली समाजको घरप्रतिको बुझाइ बेग्लै छ । त्यही भएर त आम मानिसहरू आफ्नै घरको सपना देख्छन् । तर घर किन्नु वा बनाउन त्यति सहज छ त ? घरको सपना पूरा गर्न किन जटिल बन्दै गएको छ ? घरजग्गाको आकासिँदो मूल्य मात्र यसको कारण हो कि ? कमाइमा गुणात्मक रूपमा वृद्धि हुन नसक्नु पनि अर्को कारण हो ? आफ्नै घरको सपना किन महँगो बन्दै छ ? यसका पछाडि केकस्ता व्यवस्था जिम्मेवार छन् ? यो विषयलाई हामीले तलको ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ :

१. काठमाडौंमा घर किन्न एक जागिरेले कति वर्ष तलब बचत गर्नुपर्छ ? आर्थिक वर्ष २०८३/८४ को नयाँ तलब संरचनाअनुसार शाखा अधिकृतको मासिक तलब ४८ हजारदेखि ६० हजार रुपैयाँसम्म छ । निजी क्षेत्रमा अधिकृत तहको आम्दानी पनि यही हाराहारीमा छ । सरकारले तोकेको मापदण्डअनुसार आधारभूत तलब १२ हजार १ सय ७० रुपैयाँ र महँगी भत्ता ७ हजार ३ सय ८० रुपैयाँसहित सबै क्षेत्रका कामदार तथा कर्मचारीको न्यूनतम तलब १९ हजार ५ सय ५० रुपैयाँ मात्र हो। शाखा अधिकृतले सम्पूर्ण तलब बचत गरे पनि वर्षमा करिब ६ लाख ९० हजार रुपैयाँ मात्रै जम्मा हुन्छ। यस हिसाबले काठमाडौंमा २ करोड रुपैयाँ बराबरको घर किन्ने रकम जुटाउन २९ वर्ष लाग्छ । दम्पती दुवैले समान रूपमा कमाउँदा पनि १४ देखि १५ वर्ष लाग्छ।

राष्ट्रिय तथ्यांक कार्यालयको श्रमशक्ति सर्वेक्षण २०७४/७५ अनुसार इन्टर्नको आम्दानी १५ हजारदेखि ३० हजारसम्म, मध्यमस्तरको ३० हजारदेखि ६० हजारसम्म, वरिष्ठस्तरको ६० हजारदेखि १ लाख २० हजारसम्म र उच्च तहको १ लाख २० हजार रुपैयाँभन्दा माथि छ। यसअनुसार इन्टर्नले पूरै कमाइ बचत गर्दा २ करोड रुपैयाँको घर किन्न ५५ वर्ष लाग्छ, उच्च तहका लागि कम्तीमा १३ वर्ष लाग्छ । तर यो कागजी हिसाब मात्र हो । व्यवहारमा सम्पूर्ण तलब बचत हुँदैन । किनकी खाना, बसाइ, यातायात, स्वास्थ्य, शिक्षा र बालबच्चाको खर्च अनिवार्य नै रहन्छ । घर किन्नुअघि भाडा तिर्नुपर्ने बाध्यता हुन्छ भने ऋण लिएपछि ब्याज थपिन्छ ।

२. घर तथा जग्गाको स्वामित्वमा युवा पुस्ताको अवस्था कस्तो छ? राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ८६ प्रतिशत घरपरिवार आफ्नै आवासीय एकाइमा बस्छन्। काठमाडौं उपत्यकामा भने यो अनुपात करिब ४८.५ प्रतिशत मात्रै छ, अर्थात् आधाभन्दा बढी घरपरिवार भाडाको आवासमा छन्। घरको स्वामित्व भएकाहरूसमेत युवा कम, पाका बढी छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार देशभर करिब डेढ करोड घरजग्गाधनी छन् । कुल घरजग्गाको सबैभन्दा बढी हिस्सा ५१ देखि ६० वर्ष उमेर समूहका मानिसको स्वामित्वमा छ ।

२०–३० वर्ष उमेर समूहसँग स्वामित्व कम हुनु रोजगारी र आम्दानी भर्खर सुरु गर्ने उमेर भएकाले स्वाभाविक हुन सक्छ। ४० वर्षभन्दा कम उमेरसमूहकालाई  पहिलो पटक घर किन्नलाई मूल्यले निकै असर गरेको देखाउँछ ।  घरजग्गा व्यवसायीहरूका अनुसार बजारमा अहिले पनि ३५ वर्षभन्दा माथिका ग्राहक बढी छन् । ग्रिन हिल सिटीका अध्यक्ष भेषराज लोहनीका अनुसार पहिलो पटक घर किन्ने युवा ग्राहक निकै कम छन् । 'यसको मुख्य कारण आयस्रोतले नभ्याउनु नै हो,' उनले भने ।

३. घर किन्न चाहनेहरूले व्यवहारमा के–कस्ता समस्या भोगेका छन्? नेपालगन्जका ३३ वर्षीय दीपक जोशी र उनकी ३० वर्षीया श्रीमतीले काठमाडौंमा घर खोज्न थालेको दुई वर्ष भयो । दम्पतीले मासिक १ लाख ३० हजार रुपैयाँ कमाउँछन् । रिङरोडबाट करिब सात किलोमिटर टाढा पुग्दासमेत सामान्य घरको मूल्य डेढदेखि दुई करोड रुपैयाँभन्दा सस्तोमा फेला परेन । 'मासिक आम्दानीको सीमितता, कार्यालय आउजाउमा लाग्ने समय, बालबच्चा र दैनिक खर्च जोड्दा आम्दानीले नपुग्ने भएपछि अहिले घर नकिन्ने निष्कर्षमा पुग्यौं,' दीपकले भने ।

जोशी दम्पतीभन्दा धेरै कमाउनेहरू पनि घर किन्ने आँट गर्दा पनि सकेका छैनन् ।  सूचना प्रविधि कम्पनी ‘भक्स क्रो’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुशान्त राई दम्पतीको मासिक आम्दानी साढे ४ लाख रुपैयाँ छ । राईको आठ वर्षदेखि सञ्चालनमा रहेको कम्पनी नाफामा छ । राईले ५ करोड रुपैयाँसम्मको घर किन्न खोजे पनि बैंकले कुल मूल्यको करिब ६० देखि ७० प्रतिशतसम्म मात्रै ऋण दिने थाहा पाए । 'बाँकी डेढदेखि २ करोड रुपैयाँ चाहिन्छ। त्यो त निकाल्न सकिँदैन,' उनले भने । घरको वास्तविक मूल्यअनुसार कर तिर्न तयार भए पनि त्यसैलाई आधार बनाएर ऋण दिन बैंकहरू तयार नभएको उनको गुनासो छ ।

लेखापढीको काम गर्ने ३१ वर्षीय दिनेश बराइली र आईटी कम्पनीमा काम गर्ने उनकी २८ वर्षीया श्रीमती मञ्जुको मासिक आम्दानी ८५ हजार जति छ। छोराको स्कुल फी र घरभाडा तिरेपछि मुस्किलले १५ हजारजति बचत हुन्छ, त्यो पनि चाडपर्व परेको महिनामा  त सकिहाल्छ । 'सामान्य हिसाबकिताब गर्दा पनि काठमाडौंमा घर बनाउन साढे २ करोड लाग्ने रहेछ। कहिले यति रकम जम्मा गर्नु ?' उनले भने ।

सुर्खेतका ३५ वर्षीय भरत शाही ठकुरी काठमाडौंमा ५ आना जग्गा किनेर आफ्नै डिजाइनमा घर बनाउने तयारीमा छन्। थानकोटमा करिब १ करोड ३० लाख र टोखामा १ करोड ४५ लाख रुपैयाँको जग्गा हेरेका छन् । सुर्खेतको जग्गा र काठमाडौंमा सञ्चालन गरिरहेको होटल धितो राखेर करिब एक करोड रुपैयाँ ऋण लिने उनको योजना छ, तर बैंकको मूल्यांकनले आवश्यक रकम पुग्ने अवस्था छैन । 'होटल र जग्गा राख्दा पनि मूल्यांकन पुगेन भन्यो,' उनले भने ।

४. बैंक कर्जाका अवरोध के–के हुन्? नेपाल राष्ट्र बैंकले पहिलो पटक घर वा अपार्टमेन्ट किन्ने व्यक्तिलाई घरको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था ल्याएको छ ।  तर राईजस्ता खरिदकर्ताले ६० देखि ७० प्रतिशत मात्रै पाउने पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् । घरजग्गाको सरकारी मूल्य र बजारमा प्रचलित मूल्यका आधारमा बैंकहरूले मूल्य तय गर्छन् र त्यही आधारमा राष्ट्र बैंकको निर्देशनभित्र बसेर कर्जा प्रवाह गरिन्छ। 'घरजग्गाको सरकारी र चलनचल्तीको मूल्यमा ठूलो अन्तर छ। बैंक तथा वित्तीय संस्थाको मूल्यांकन नीतिकै कारण बजारमा ४ करोड रुपैयाँ पर्ने घरजग्गाको बैंक मूल्यांकन २ करोड रुपैयाँ मात्रै हुन्छ,' भट्टराईले भने ।

भट्टराईका अनुसार राष्ट्र बैंकको नियमअनुसार ग्राहकको मासिक आम्दानीको ५० प्रतिशतभन्दा बढी किस्ता नहुने गरी मात्र कर्जा प्रवाह गर्नुपर्छ । ग्राहकले ४० प्रतिशत नगद भुक्तानी गरेर ६० प्रतिशत ऋण लिन खोजे पनि ऋण चुकाउने स्रोत धितो राखिने जग्गा वा घरलाई नै देखाउन मिल्दैन र प्रमाणित आयस्रोत अनिवार्य चाहिन्छ ।  नेपालको कुल रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा १२ प्रतिशत मात्रै छ । नियामक निकायका नियम शतप्रतिशत औपचारिक क्षेत्रकेन्द्रित हुँदा ठूलो जनसंख्या बैंकिङ सुविधाबाट वञ्चित हुनुपरेको उनको तर्क छ।

धेरै परिवारमा छोराछोरीले घर वा अपार्टमेन्ट किन्दा अभिभावकको बचत, सम्पत्ति बिक्रीको रकम वा पुर्ख्यौली सम्पत्तिबाट सहयोग हुन्छ। तर त्यस्तो रकमको औपचारिक स्रोत खुलाउन नसक्दा बैंक कर्जा प्रक्रियामा समस्या आउने र पहिलो घर खरिद गर्नबाट वञ्चित हुनुपरेको व्यवसायीहरू बताउँछन् । यसका लागि राष्ट्र बैंकले केही खुकुलो नीति बनाउनुपर्ने सरोकारवालाको सुझाव छ। नियमित आम्दानी, कर्जा तिर्ने क्षमता र आम्दानीको स्रोत प्रमाणित गर्नुपर्ने भएकाले युवा पुस्ताका लागि कर्जा पहुँच सहज नभएको घरजग्गा व्यवसायी दीपक कुँवरको भनाइ छ । 'आम्दानी र घरको मूल्यबीचको अन्तरलाई ध्यानमा राखेर किन्न सकिने घर बजारमा ल्याउन आवश्यक छ,' उनले भने।

५. को–कसले घर किन्न सहज पाइरहेका छन् र सरकारले के गर्न खोजेको छ?

बलियो आम्दानी नभए पनि काठमाडौंमै घर भएको वा अन्यत्र सहरमा जग्गा भएकालाई त्यसलाई बिक्री गरी काठमाडौंमा घर किन्न केही सहज छ । उनीहरूले उपत्यकाबाहिर वा उपत्यकाभित्र आफूसँग भएको सम्पत्ति बेचेर वा धितो राखेर घरजग्गा खरिद गरिरहेको व्यवसायीहरू बताउँछन् । उपत्यकामा सजिलै घर खरिद गर्न सक्नेमा विदेशमा श्रम गर्ने युवा पनि छन् । लालपुर्जा नेपालका प्रोपर्टी कन्सल्टेन्ट सबिन खतिवडाका अनुसार उनीहरूले बुबाआमाका लागि घरजग्गा किन्ने र ऋणको किस्ता तथा अन्य दायित्व आफैँ तिर्ने गरेका छन् । 'काम गर्ने, बचत गर्ने र घरजग्गा किन्ने सबै कुरा मिलाउनुपर्ने भएकाले सामान्य आम्दानीबाट घरजग्गा किन्न सकिँदैन । तर, विदेशमा काम गर्नेहरूले तुलनात्मक रूपमा सजिलै खरिद गरिरहेका छन्,' खतिवडाले भने । नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० मा नेपाल भित्रिने रेमिट्यान्सको १.९ प्रतिशत हिस्सा घरजग्गा तथा टिकाउयोग्य सम्पत्तिमा खर्च हुने गरेको उल्लेख छ।

ग्रिन हिल सिटीका अध्यक्ष लोहनीका अनुसार उपत्यकामा पहिल्यै घरघडेरी भएकाहरू आफ्नो सम्पत्ति बेचेर हाउजिङ तथा कोलोनीमा सर्ने र विदेशमा रहेका नेपालीले परिवार तथा आफैँ आउँदा बस्न घर किन्ने क्रम बढेको छ। युवालाई एकै पटक घर किन्न कठिन भएकाले पहिला जग्गा किन्ने, त्यसपछि बचत गरेर घर बनाउने वा अपार्टमेन्ट रोज्ने प्रवृत्ति रहेको उनले बताए ।

पूरा समाचार पढ्नुहोस् : युवा पुस्ताबाट किन टाढिँदै छ आफ्नै घरको सपना ?

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
बुढेसकालको एक्लोपन : विदेशमा सन्तान, रित्तिँदै घरको आँगन

बुढेसकालको एक्लोपन : विदेशमा सन्तान, रित्तिँदै घरको आँगन

समयसँगै यो समाज पनि बदलिदै छ । मानिसका सोच, सपना, आवश्यकता र जीवनशैली पनि परिवर्तन हुँदै गएका छन् । कुनै समय एउटै घरको आँगनमा हजुरबा, हजुरआमा, बुवाआमा, छोराछोरी, बुहारी र नातिनातिना सँगै बसेर सुखदु...

#घरको #सपना
Compare →
Arthasansar
1w ago
उम्किन्छु भनेर सपना नदेख्नू - प्रधानमन्त्री शाह

उम्किन्छु भनेर सपना नदेख्नू - प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले ‘उम्किन्छु भनेर सपना नदेख्नू’ भन्दै चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्री शाहले साङ्केतिक...

#सपना
Compare →

Related Stories

World News
Build #2611