अझै पनि ब्रिटिश लाहुरे बन्नु थुप्रै नेपाली युवाको सपना नै हो । काठमाडौं, पोखरा, धरान तिरका ट्रेनिङ सेन्टरतिर आँखा लगाए यो रुमानी सपनाको लोभ कति छ, प्रष्ट हुुन्छ ।
सोनम गुरुङ, र्यापर योद्धा बन्नुअघि यही सपना पछ्याएर बेलायत पुगे । पोखराको बेगनास ताल क्षेत्रमा जन्मे, हुर्केका उनी १७ वर्षमै परदेशिएका थिए । र, सैनिक जीवनमा १६ वर्ष बिताइदिए । यो कुल वर्ष अहिलेको उनको उमेरको ठीक आधा हो । उनी यतिखेर ३२ मा हिँडिरहेका छन् ।
लाहुरे लाग्नु अगावैदेखि उनमा संगीतको भोक थियो । विशेषत: र्याप संगीतको ।
यसैले जागिरमै हुँदा उनले गीतहरू निकालेका थिए । सोनमबाट योद्धा बनेका थिए । राम्रै फ्यान फलोइङ कमाइसकेका थिए । आजको दिनमा भने उनी बन्दुकलाई पूर्णत: छाडेर र्याप हान्न निस्केका छन् ।
अर्थात् अब भूतपूर्व लाहुरे भएका छन् । अब नेपालमै जम्न चाहन्छन् । उनको यो यात्रा सोचे जस्तो सजिलो पक्कै हुने छैन । बेलायतको लामो बसाइपछि यहाँ आएर अभ्यस्त हुन उनलाई समय लाग्नेछ ।
यसबारे उनी बेखबर छैनन् । संगीतलाई अघि बढाउनुसँगै काठमाडौं चिन्नु, नेपाल चिन्नु उनका लागि थप चुनौती हुनेछ ।
संगीतको कुरा गर्ने हो भने उनी र्याप सिनमा राम्रै जमेका कलाकार हुन् । युवापुस्तामाँझ उनका गीत लोकप्रिय छन् । आफ्नै व्यथा, कथा, प्रेरणा, जितहार, संघर्ष उनका गीतका साझा तत्वहरू हुन् । भनौं न, उनका गीतहरू कानमा एयरफोन नै लगाएर सुन्नु पर्ने खालका पनि छैनन् ।
त्यसमाथि उनले अन्य कलाकारहरूसँगको सहकार्य पनि बढाइरहेका छन् । डोङ, युनिक पोइट, सुशान्त केसी, नितेश जङ कुँवर, विक्की गुरुङ. ओएमजी स्पार्क आदि कलाकारसँग उनले सहकार्य गरिसके ।
यसरी लाहुर छाडेपछि गीत निकाल्ने, कार्यक्रम गर्ने, कलाकारहरूसँग सहकार्य गर्ने यस्तै-यस्तै योजनामा योद्धा छन्।
उनको जीवनलाई लार्ज क्यानभासमा हेर्ने हो भने उनी व्यवहारिक र्यापर सुनिन्छन् । किनकि, उनी संगीतलाई पूर्णत: आम्दानीको स्रोत मान्दैनन् । जीवन चलाउन ख्यातीभन्दा पैसा नै ठूलो हुने सुनाउँछन् । कन्सर्ट गरेर एकै पटकमा धेरै आम्दानी गरे पनि दैनिक गुजारा चलाउन स्थायी केही हुनुपर्ने उनको विचार छ ।
र, यो सब सोच आफूलाई परदेशले सिकाएको उनी सुनाउँछन् । किनकि लाहुरे जीवनले उनलाई जिन्दगीको व्यावहारिक पाटो सिकायो । सम्भवत: त्यही भएर उनी जिम्मेवार र व्यावहारिक सुनिएका हुन् ।
औपचारिक रुपमै गीत निकाल्न लागेको उनको यात्रा त्यति लामो छैन ।
र्यापरको रुपमा करियर थाल्दै गर्दा उनी आफ्नो र्यापमा सकेसम्म शब्दमा धेरै खेल्थे । भारी भारी शब्द राख्न खोज्थे । त्यो हुँदा उनलाई आफू शब्दहरूको योद्धा लाग्थ्यो । शब्दहरूसँग, भावहरूसँग लडाइ गरिरहेझैं लाग्थ्यो । र, त्यस्तै त्यस्तैमा उनलाई आफ्नो नाम नै योद्धा राख्न मन लाग्यो । त्यसपछि त उनी सधैंका लागि योद्धा बनेका थिए ।
तिनै योद्धाले र्याप निकाल्न थालेको मात्र ११ वर्ष भएको छ । सन् २०१५ तिर उनले युट्युबबाट पहिलो म्युजिक भिडियो निकालेका हुन् । हुन त त्यो भन्दा अघि पनि गीत ननिकालेका होइनन् । तर, ती उनलाई मन परेन । त्यसपछि ती गीतहरू डिलिट गरिदिए । त्यसरी फ्रि भर्स उनको पहिलो गीत बन्यो । यो गीतको भिडियो लन्डनमै बनाएका थिए ।
सुपरहिट गीत भने खराब बानी बन्यो । आजसम्म यो गीतले युट्युबमा १ करोड ७० लाख बढी भ्युज पाइसकेको छ । मलाई बाल चाहिँ उनलाई लागेको पहिलो हिट गीत हो । त्यसबेला यो गीत यम बुद्धले पनि सामाजिक सञ्जालमा शेयर गरेका थिए । यसैले पनि र्यापरका रूपमा उनलाई यो गीत खास लाग्छ ।
तर, बिल्कुलै दुई फरक जीवन बिताएका उनका लागि संगीत सधैं पक्षमा रहेन ।
पहिले-पहिले बेलायतमै हुँदा उताबाटै संगीत बनाउँथे । रिलिज गर्थे । तर नेपालमा आउँदा मात्र उनले त्यो गीतको प्रभाव देख्थे । भ्याए केही ठाउँमा कन्सर्ट गर्थे । उता गएपछि फेरि संगीत करिब ठप्पै जस्तो हुन्थ्यो ।
त्यसो हुनाले थुप्रै पटक उनले संगीतलाई त्याग्ने विचार गरे । कति पटक त कोसिस पनि गरिहेरे । किनकि, जुन देशमा बसेर उनले गीत गरिरहेका थिए, त्यहाँ उनलाई सुन्ने कमै हुन्थे । त्यसो हँदा ‘म यहाँ के गरेर बसिरहेको छु?’ भन्ने दुविधा उनमा आइरहन्थ्यो ।
तर, फेरि ‘संगीत नै रुचि हो, त्यही छाडे कसरी जिउने ?’ भन्ने सोच पनि आइहाल्थ्यो । यस्तै सोचहरूको अन्तरद्वन्द्वपश्चात उनले बोल्ड निर्णय लिएका हुन् – लाहुर छाडेर संगीतमै रमाउने ।
त्यसयता अर्थात् विगत केही वर्षयता उनी नेपालमै छन् । नयाँ गीतहरूमा काम गरिरहेका छन् । कार्यक्रमहरू गरिरहेका छन् । र, उनी पूर्णत: सही अर्थमा नेपहपमा खराब मान्छे नै हुन खोजिरहेका छन् ।
सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।