गत आर्थिक वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल निक्षेपमा मुद्दती खातामा रहेको हिस्सा घटेको र साधारण बचत बढेको छ ।
काठमाडौं — बचतको ब्याजदर धेरैले घटेपछि त्यसको प्रत्यक्ष असर मुद्दती निक्षेपमा परेको छ । ब्याजदर लगातार घट्दै जाँदा साधारण बचतको तुलनामा मुद्दतीको ब्याजदर धेरै फरक नभएपछि बचतकर्तामा मुद्दती निक्षेपमा पैसा राख्ने उत्साह आकर्षण घटेको छ । गत आर्थिक वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल निक्षेपमा मुद्दती खातामा रहेको हिस्सा घटेको र साधारण बचत बढेको छ ।
गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । त्यसमध्ये चल्ती खाताको हिस्सा ७.५, बचत खाताको ४८ र मुद्दती निक्षेपको ३४.७ प्रतिशत छ । जब कि गत वर्षको सोही अवधिको कुल निक्षेपमा चल्ती खाताको हिस्सा ५.८, बचत खाताको ३८ र मुद्दती निक्षेपको ४७.९ प्रतिशत थियो । यसले एक वर्षको अवधिमा चल्ती र बचत खातामा रहेको निक्षेपको हिस्सा बढेको र मुद्दती निक्षेपमा रहेको हिस्सा घटेको देखाउँछ ।
एक वर्षमा करिब १३.२ प्रतिशत विन्दुले मुद्दती निक्षेप घटेको छ । यसको अर्थ मुद्दती निक्षेपमा रहेको बचतको परिपक्व हुने अवधि पूरा भएपछि बचतकर्ताले फेरि मुद्दती निक्षेपमा राख्न नचाहेकाले कुल निक्षेपमा मुद्दतीको हिस्सा घटेको र बचतको बढेको बैंकर बताउँछन् । ‘बचत र मुद्दती निक्षेपको ब्याजदर खासै फरक नभएपछि नागरिकले साधारण निक्षेपमै पैसा राखेको देखिन्छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने, ‘ब्याजदर बढ्छ कि भनेर बचतकर्ता पर्ख र हेरको अवस्थामा छन् ।’
बचत र मुद्दती निक्षेपको ब्याजदर खासै फरक नभएपछि नागरिकले साधारण निक्षेपमै पैसा राखेको देखिन्छ । ब्याजदर बढ्छ कि भनेर बचतकर्ता पर्ख र हेरको अवस्थामा छन् । - सन्तोष कोइराला, अध्यक्ष, नेपाल बैंकर्स संघ भदौ २०८३ सम्म बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.३ प्रतिशत छ । २०८२ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३५.२ प्रतिशत थियो । चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थामा थप ७२ अर्ब ८० करोड रुपैयाँ निक्षेप थपिएको छ । गत वर्षको पहिलो २ महिनामा ३२ अर्ब ८६ करोडले निक्षेप थपिएको थियो । ‘वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
२०८३ भदौ मसान्तमा बैंक साधारण बचत र मुद्दतीमा समानजस्तै ब्याजदर पाउने भएपछि सर्वसाधारणले परिपक्व भएका मुद्दती निक्षेप पुनः मुद्दतीमा राख्न नचाहेकाले बचतकर्ताले मुद्दती निक्षेपमा पैसा राख्न नचाहँदा कुल बचतमा मुद्दती निक्षेपको हिस्सा घटेको छ भने साधारण बचतको बढेको छ । २०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.७०, विकास बैंकहरूको ६.१५ र वित्त कम्पनीको ६.७२ प्रतिशत छ । २०८२ भदौ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.७२, विकास बैंकको ८.०९ र वित्त कम्पनीहरूको ८.७७ प्रतिशत थियो ।
२०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११, विकास बैंकहरूको ३.४८ र वित्त कम्पनीहरूको ४.०४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.९६, विकास बैंकहरूको ४.५८ र वित्त कम्पनीको ५.७३ प्रतिशत छ । २०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.३८, विकास बैंकहरूको ७.६७ र वित्त कम्पनीहरूको ८.४७ प्रतिशत छ । २०८२ भदौ मसान्तको तुलनामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैको कर्जाको औसत ब्याजदर घटेको छ ।
ब्याजदर सम्भवतः हालसम्मकै न्यून अवस्थामा रहेकाले सरकार र निजी क्षेत्रलाई लगानी बढाउने राम्रो अवसर प्राप्त भएको जानकार बताउँछन् । ब्याजदर धेरै कम भएको अवस्थामा निक्षेपकर्ता निरुत्साहित हुने, पुँजी पलायन र वास्तविक ब्याजदर ऋणात्मक हुने अवस्था आउन सक्छ । यसमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । यस्तो बेला सरकारले पनि पूर्वाधारलगायत विकास निर्माण क्षेत्रमा लगानी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।
२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.५ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ६२.८ र ३७.२ प्रतिशत थियो ।
गत भदौसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा १.७, विकास बैंकहरूको ०.६ र वित्त कम्पनीको १.४ प्रतिशतले बढेको छ । गत भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षण (धितो) मा १५.६ प्रतिशत र घरजग्गा धितोमा ६२.८ प्रतिशत छ ।
चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको ७.३, निर्माण क्षेत्रतर्फको कर्जा ३.७, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.१, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ । तर वित्त, बिमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको राष्ट्र बैंकको तथ्यांक छ ।
यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।