टस जितेर ब्याटिङ रोजेको गोर्खाजविरुद्ध जनकपुरले जिम्मी निसमबिना खेल्दै सैफ हसनलाई टोलीमा समावेश गरेको छ।
काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पहिलो ब्याटिङ गर्ने भएको छ । काठमान्डु गोर्खाजका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेपछि जनकपुर बोल्ट्सलाई पहिले फिल्डिङका लागि भनेका हुन् ।
काठमान्डु गोर्खाजको प्रतियोगितामा यो पहिलो खेल हो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । गत सिजन काठमान्डु गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो । पहिलो सिजनमा च्याम्पियन बन्दा जनकपुरले काठमान्डुलाई पराजित गरेको थियो ।
अमेरिकी अलराउन्डर हरमित सिंहको कप्तानीमा जनकपुरमा त्रितराज दास, मयन यादव, अनिल साह, अमरसिंह रौटेला, अभिषेक तिवारी, ललित राजवंशी, राहुल यादव, मोइन अली, सैफ हसन, कुशल परेरा खेलिरहेका छन् ।
व्यक्तिगत कारण जिम्मी निसम नखेल्ने भएको कप्तान हरमितले टसका क्रममा बताए । उनको स्थानमा जनकपुरले बंगलादेशका ओपनर सैफ हसनलाई प्लेयिङमा राखेको छ । उनी बुधबार मात्र नेपाल आइपुगेका हुन् ।
करण केसीको कप्तानीमा उत्रिन लागेको काठमान्डुबाट भीम सार्की, सुमित महर्जन, हरिशंकर साह, राशिद खान, आदिल आलम अन्सारी, शाहब आलम, अमेरिकाका स्मित पटेल, अस्ट्रेलियाका साम हेजलेट, बंगलादेशका रिपोन मण्डल, पाकिस्तानका जहान्दद खान खेलिरहेका छन् ।
सूर्यांशु कोइराला र प्रसिद्ध जैसी नेपालको यू–१९ टोलीको बन्द प्रशिक्षणमा परेपछि गोर्खाजले उनीहरूको स्थानमा सुमित महर्जन र हरिशंकर साहलाई टोलीमा समावेश गरेको छ ।
सहन अराचिगे श्रीलंकाको राष्ट्रिय टोलीमा आबद्ध रहेका कारण पहिलो खेलमा उपलब्ध रहेका छैनन् । अस्ट्रेलियाली ब्याटर डेभिड वार्नर नेपाल अझै आइपुगिसकेका छैनन् ।