२५ देखि ४५ वर्ष उमेर समूहका युवा, मध्यमवर्ग र बालबच्चासहितका परिवार आफ्नै गाडीमा विकेन्ड घुम्न निस्कने क्रम बढ्यो । रानीकोट, मूलकोट, बन्दीपुर, गोरखा र नुवाकोटसम्मको पर्यटन चलायमान हुँदा ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।
काठमाडौँ — सरकारले दुईदिने बिदा सुरु गरेपछि होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह हिजोआज नयाँ अनुभव गरिरहेका छन् । उनलाई फोन गर्ने र प्रत्यक्ष भेट्न आउनेमध्ये धेरैजसोको एउटा साझा जिज्ञासा हुन्छ— ‘परिवार र साथीभाइसँग गाडी लिएर घुम्न जान काठमाडौं वरिपरि कुन ठाउँ राम्रो होला ? कताको होटल र रिसोर्ट उपयुक्त हुन्छ ?’
शाह यसरी सुझाव र सल्लाह माग्नेहरूलाई खुसीसाथ सहजीकरण गरिरहेका हुन्छन् । ‘धेरैले परिवारसँग घुम्न कता जाँदा ठीक होला ? कुन होटल राम्रो होला, सोधिरहन्छन्,’ शाहले भने, ‘अचेल त मेरो कामै साथीभाइ र चिनेजानेकालाई डेस्टिनेसनबारे बताउने भइरहेको छ ।’
संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमाथि भएको हमला र त्यसबाट उत्पन्न इन्धन संकट समस्याबाट जोगिन एवं इन्धन खपत घटाउन वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले हप्तामा दुई दिन (शनिबार/आइतबार) सार्वजनिक बिदा दिने अवधारणा चैतमा जारी गरेको थियो । सुरुमा यो निर्णय इन्धन बचत गर्ने उद्देश्यले मात्र गरिएको भए पनि यसको सबैभन्दा ठूलो र सकारात्मक फाइदा नेपालको पर्यटन क्षेत्रले उठाइरहेको छ । हिजोआज काठमाडौंमा हुने पर्यटन तथा होटलसँग सम्बन्धित कार्यक्रममा प्रायः व्यवसायी उत्साहित हुँदै दुईदिने बिदाले निजी क्षेत्र उत्साहित भइरहेको बताइरहन्छन् ।
भोटेकोशीमा आएको बाढीअघि दुई दिनको लगातार बिदाले काठमाडौं उपत्यका वरिपरिका पर्यटकीय गन्तव्य, हिलस्टेसन तथा होटल–रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढाएको थियो । त्यसपछि गोरखाको बुढीगण्डकीमा आएको बाढीले पनि थप असर पारेको छ । भोटेकोशी, बुढीगण्डकीलगायत नदीमा आएको भीषण बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले सडकमा आघात पुर्याउँदा केही समयका लागि निराशा र नकारात्मक प्रभाव ल्याए पनि पर्यटन व्यवसायी यो दुईदिने बिदाले उत्साहित छन् । ‘काठमाडौं वरिपरिका हिलस्टेसनमा आन्तरिक पर्यटन द्रुत गतिमा चलायमान हुनेमा हामी आशावादी छौं,’ होटल संघ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले भने ।
कोभिड महामारीअघि नेपालका पाँचतारे होटल र ठूला रिसोर्ट विदेशी पर्यटकका लागि मात्र हुन् भन्ने आम बुझाइ थियो । तर कोभिडपछि नेपालीहरूको घुम्ने संस्कृतिमा ठूलो परिवर्तन आइसकेको छ । अहिले काठमाडौंका फाइभ स्टार होटलका रेस्टुराँमा ६० देखि ७० प्रतिशतसम्म नेपाली ग्राहक र बाँकी विदेशी पर्यटक देखिने हानका अध्यक्ष शाह बताउँछन् ।
‘कोभिड महामारी पछाडि नेपालको पर्यटन क्षेत्रमा आएको यो ठूलो परिवर्तन हो । यसले अहिले ठूला होटल, रेस्टुराँ र ब्याङवेट मुख्य गरी आन्तरिक पर्यटककै भरमा चलिरहेका छन्,’ काठमाडौं विमानस्थल नजिकै एयरपोर्ट होटल सञ्चालन गर्दै आएका अध्यक्ष शाहले भने । उनका अनुसार अचेल घरमै ठूलो ठाउँ हुँदा वा घरमै कार्यक्रम गर्न सकिने भए पनि धेरै सहरियाहरूले ब्याङवेट वा स्टार होटलमै विभिन्न उत्सव तथा भोज गर्न रुचाउँछन् । यसले गर्दा खाना, सजावट र व्यवस्थापनको जिम्मा होटलले लिने र मानिसहरू झन्झटमुक्त भएर रमाइलो गर्न पाउने चलन बसेको उनले बताए ।
यस्तो दृश्य पोखरामा पनि देख्न सकिन्छ । कुनै बेला विदेशी पर्यटकलाई मात्र प्राथमिकता दिने र नेपाली तथा भारतीय पर्यटकलाई खासै नटेर्ने पोखराका पर्यटन व्यवसायी हिजोआज नेपाली र भारतीय पर्यटककै कारण उत्साहित देखिन्छन् । झन् दुई दिनको बिदाले पोखरा, धुलिखेल, नगरकोट र सहर वरपरका गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको हानको विश्लेषण छ । शाहका अनुसार २५ देखि ४०/४५ वर्ष उमेर समूहका युवा, मध्यम वर्ग, कर्पोरेट क्षेत्रमा काम गर्ने दम्पती र स्कुले बालबच्चा भएका परिवार आफ्नै गाडी लिएर विकेन्ड मनाउन निस्कने क्रम बढेको छ ।
दुईदिने बिदाको अवधारणा आन्तरिक पर्यटनका लागि निकै प्रभावकारी साबित भएको नगरकोटको मिस्टिक माउन्टेन रिसोर्टकी सेल्स तथा मार्केटिङ प्रमुख अमिता श्रेष्ठ बताउँछिन् । ‘पहिले बिदाको तालिका शनिबार मात्रै हुँदा शुक्रबार आधा दिनमा पाहुनाहरूलाई समय मिलाउन गाह्रो हुन्थ्यो । तर दुई दिन लगातार बिदा हुँदा मानिसले चेक–इनको दिन परिवर्तन गरेर शनिबारलाई रोज्न थालेको उनको भनाइ छ । शुक्रबार आधा दिन छुट्टी लिएर हतारहतार आउनुपर्ने झन्झट हट्यो र पाहुनाहरू शनिबार आरामसँग आएर रिसोर्टमा बस्न र आइतबार ढुक्कले फर्कन सक्ने वातावरण बन्यो । यसले गर्दा विकेन्डमा बुकिङ दर बढेर ४० देखि ५० प्रतिशतसम्म पुग्ने गरेको उनले बताइन् ।
बीचमा केही प्राकृतिक असहजता देखिए पनि समग्रमा आन्तरिक पर्यटक प्रवर्द्धनका लागि यो नीति निकै राम्रो रहेको उनको अनुभव छ । ७२ वटा कोठा (करिब १ सय ६८ जनाको क्षमता) रहेको मिस्टिक माउन्टेन रिसोर्टमा विकेन्डको समयमा आन्तरिक पर्यटक र परिवारहरूको गतिलो उपस्थिति हुने गरेको छ भने अन्य बारहरूमा माइस टुरिजम तथा एनआरएन पाहुनाहरूले यसलाई चलायमान राखेका छन् । हाइल्यान्ड रिसोर्ट रानीकोटका सञ्चालक तथा हानका बागमती प्रदेश अध्यक्ष रामसुन्दर बकेले पनि दुईदिने बिदाको निर्णय पर्यटन क्षेत्रका लागि सकारात्मक र वरदान सिद्ध भएको जनाउँछन् । पहिले शुक्रबार मात्रै होटलमा केही चहलपहल हुने र शनिबार पातलो हुने गरेकोमा दुईदिने बिदा लागू भएपछि शुक्रबार र शनिबार दुवै दिन होटल तथा रिसोर्ट पूर्ण रूपमा प्याक हुन थालेको उनको अनुभव छ ।
‘मानिसहरूले सातामा दुई दिन फुर्सद पाउँदा काठमाडौं उपत्यका नजिकका गन्तव्य मात्र नभई सिन्धुलीको मूलकोट क्षेत्र, बन्दीपुर, गोरखा र नुवाकोटसम्म सहजै पुगेर एक–दुई रात बिताएर फर्कने वातावरण बनेको छ,’ बकेले भने । यसले गर्दा ग्रामीण पर्यटनको विकास र डेस्टिनेसन प्रचारमा सहयोग पुगेको उनले जनाए । बागमती प्रदेश हानले आन्तरिक पर्यटनलाई थप चलायमान र व्यवस्थित बनाउन आगामी १७, १८ र १९ पुसमा बृहत् बागमती प्रदेश पर्यटन मेलासमेत आयोजना गर्ने तयारी गरिरहेको छ । मेलामा स्थानीय परिकारको प्रतिस्पर्धा, पालिकास्तरका गन्तव्यको पहिचान र होटलहरूको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखिएको छ ।
काठमाडौंको सुन्दरीजलबाट करिब ११ किलोमिटरको दूरीमा रहेको हैबुङस्थित प्रकृति रिसोर्ट तथा अर्गानिक फार्म पनि अचेल आन्तरिक पर्यटकका लागि एउटा शान्त गन्तव्य बनेको छ । दुईदिने बिदाका कारण त्यहाँ जाने आन्तरिक पर्यटक र विकेन्ड हाइकर्सको संख्या ५० प्रतिशतसम्म बढेको रिसोर्टका संस्थापक तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठले बताए ।
अत्यधिक व्यवसायीकरणभन्दा टाढा रहेर स्थानीय संस्कृति, रैथाने खाना र मौलिक संरचनालाई उच्च प्राथमिकता दिइरहेको यो रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यभागमा छ । दुईदिने बिदा मनाउन त्यहाँ पुग्ने अतिथि त्यहाँको जैविक विविधता, जडीबुटी, चराचुरुंगीको मधुर आवाज र स्वच्छ अक्सिजनमा रमाउने श्रेष्ठको भनाइ छ । दुई दिनको बिदा होस् वा कुनै बेला थप अरू बिदा पर्दा काठमाडौं उपत्यका छाडेर मानिस धादिङसम्म पुग्ने गरेको धादिङस्थित दुईतारे होटल जनजीविका सञ्चालक राजाराम सिलवाल बताउँछन् । दुईदिने बिदाले धादिङबेंसी र राजमार्ग क्षेत्रका होटलमा परिवारसहित घुम्न आउने तथा खाजा–खाना खान आउने आन्तरिक पर्यटकको आवागमनमा सकारात्मक प्रभाव पारेको उनले जनाए । व्यावसायिक काम र काठमाडौं–धादिङ आवतजावत गर्नेहरूसँगै विकेन्डमा परिवार लिएर आराम गर्ने उद्देश्यले आउनेहरूको संख्यामा पनि वृद्धि भएको उनको भनाइ छ ।
दुईदिने बिदाले धेरैतिर पर्यटन व्यवसायले लाभ उठाइरहँदा धुलिखेललाई भने यसको अझै सकारात्मक असर परेको छैन । भक्तपुर–सूर्यविनायक–धुलिखेल सडक पूर्वाधार निर्माणमा देखिएको लामो ढिलाइ र हालैको बाढीपहिरोका कारण धुलिखेल क्षेत्रमा केही चुनौती थपिएको धुलिखेल माउन्टेन रिसोर्टकी सीईओ लिना खड्का बताउँछिन् । ‘दुईदिने बिदाका सुरुवाती दिनमा मानिसहरूमा देखिएको चरम उत्साहपछि मौसम र सडकका कारण धुलिखेल आउनेमा केही कमी आएको छ,’ उनले भनिन् । तर कर्पोरेट मिटिङ, तालिम तथा विकेन्ड रिफ्रेसमेन्टका लागि आन्तरिक पर्यटक धुलिखेल आउने क्रम भने जारी रहेको उनले जनाइन् ।
सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।