केही ट्रायल सेन्टरले प्रदेश सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको सेवाग्राहीको गुनासो छ ।
ललितपुर पुल्चोकका सुमित परियार बुधबार बिहान एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरमा भेटिए । उनी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ट्रायल दिन पालो पर्खिएर बसिरहेका थिए । दुईपांग्रे सवारीको लाइसेन्सका लागि ट्रायल दिन बिहान ११ बजे पुगेका उनको पालो साढे १२ बजे आयो । चाडबाडले गर्दा होला, बुधबार ट्रायल दिने सेवाग्राहीको भीड कम थियो ।
पालो नपर्खी र लाइन नबसी कहिल्यै सेवा छिटो नहुने गरेको उनको गुनासो छ । ‘अनलाइनबाट फाराम भरेर लिखित र ट्रायल दिन मात्र आउने व्यवस्था गरिएको रैछ, यो त राम्रो लाग्यो,’ उनी भन्छन्, ‘पहिला जस्तो लाइन लागेर फाराम बुझाउनु नपरेपछि ट्रायल दिन जाँदा छिटो पालो आइदिए हुन्थ्यो भन्ने हो ।’ उनले दसैंअघि फाराम भरेका थिए । लिखित परीक्षा दसैंअघि नै पास गरेका परियारले सोमबार ट्रायल दिने मिति छानेर बुधबार ट्रायल सेन्टर पुगेका हुन् । ‘अब घण्टौं पालो पर्खिनेभन्दा पनि जानेबित्तिकै छिटो ट्रायल दिने व्यवस्था गर्नुपर्छ । यसका लागि सरकारले त्यहीअनुसारको जनशक्ति र स्रोत–साधनको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
गोरखा घर भई ललितपुरस्थित कुपन्डोल बस्दै आएका सुजय तिमिल्सिना बुधबार हस्याङफस्याङ गर्दै एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयतर्फ लाग्दै थिए । कार्यालयको सर्भर डाउन छ, पुनः ट्रायलका लागि फाराम भर्न पाइनँ, के भएको हो भन्दै उनले गुनासो गरे । तर कार्यालयबाट उनले चित्तबुझ्दो जवाफ पाएनन् । कार्यालयले अन्य कार्यालयमा पनि सर्भरमा समस्या छ, यहाँ पनि त्यस्तै भएको हो, खुलेपछि पुनः आवेदन दिनू भन्ने सुझाव दिए ।
पहिलो पटक २० असोजमा तिमिल्सिनाले मोटरसाइकलको लाइसेन्स लिन ट्रायल दिएका थिए । ‘तर असफल भएँ । पुनः ट्रायल दिन २१ असोजमा आवेदन दिन खोजें तर मिलेन,’ उनले भने, ‘दिन माया मारेर जाँदा पनि सहजै काम नहुँदा दुःख लाग्छ । फेरि आउनुपर्ने भयो,’ सवा १२ बजे एकान्तकुनामा भेटिएका उनले भने । यातायात कार्यालयले भने बुधबार दिउँसोबाट सर्भर चलिसकेको बताएको छ । यहाँ फाराम भर्नेबित्तिकै फाराम भर्न नपाउनु र सर्भर डाउन भइरहनु नियमित प्रक्रियाजस्तै भएको छ । उपत्यकामा लाइसेन्स उपलब्ध गराउने यातायात व्यवस्था कार्यालय चार छन् । यी कार्यालयबाट दिनको औसतमा दुई हजार जनाले लाइसेन्सका लागि आवेदन दिने गरेका छन् । त्यसमा १ हजार ५ सय जना ट्रायलमा सहभागी हुन्छन्, आठ सयदेखि एक हजार जना पास हुने गरेको यातायात व्यवस्था कार्यालयको तथ्यांक छ ।
अनलाइनबाट फाराम भर्ने व्यवस्था गरिएको भए पनि नयाँ र वर्ग थपका लागि ट्रायल दिन सात दिनसम्म पर्खनुपर्ने बाध्यता छ । अनलाइन फाराम भरेर ट्रायल दिने सेवाग्राहीको सबैभन्दा बढी चाप एकान्तकुना यातायात व्यवस्था कार्यालयमा हुने गरेको छ । कति ट्रायल सञ्चालन गर्ने भनेर कार्यालयले अनलाइनमार्फत कोटा सिर्जना गर्ने गरेको एकान्तकुना यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रका वरिष्ठ शाखा अधिकृत महेश आचार्यले बताए ।
‘गाडी साताको चार दिन, मोटरसाइकल र स्कुटर पाँच दिन र एक दिन हेभी इक्विपमेन्टको ट्रायल हुन्छ, फाराम भरेको औसतमा एक साताभित्र ट्रायलको पालो आउने गरेको छ,’ आचार्यले भने, ‘यो कार्यालयमा लाइसेन्सका लागि ट्रायल दिनेको चाप नै छ, दैनिक अहिले चारपांग्रेका लागि २ सय २० र दुईपांग्रे ३ हाराहारी हुन्छन् ।’ ट्रायल पास गरेर राजस्व तिरेको साताभित्र लाइसेन्स छापिएर आउने गरेको आचार्यको दाबी छ ।
चार वटा यातायात कार्यालयबाट मात्र सेवा दिँदा सेवाग्राहीको भीड बढी हुने र छिटो सेवा दिन मंसिर २०८० मा काभ्रेको बनेपासहित कोटेश्वर र बालाजुबाट पनि सेवा थप गर्ने गरी बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गरेको थियो । बनेपामा सेवा सुरु भए पनि निर्णय भएको तीन वर्ष पुग्न लाग्दा बालाजु र कोटेश्वरमा अझै सेवा सुरु हुन सकेको छैन । कोटेश्वरबाट कहिले सेवा सुरु हुने हो, पत्तो छैन । बालाजुमा अदालतको मुद्दा टुंगिएर बल्ल सेवा सञ्चालनको सुरसार गरिँदै छ ।
बालाजुबाट लाइसेन्सको सेवा गर्ने कुरा अहिले कार्यान्वयन चरणमै रहेको बागमती प्रदेशअन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सूचना अधिकारी भरत शर्मा बताउँछन् । अहिले एकान्तकुना, राधेराधे, चाबहिल र ठूलोभर्याङको ट्रायल गुर्जुधारामा सञ्चालनमा छ । ‘सानोभर्याङ यातायात सेवा कार्यालयलाई बालाजुमा सारेर लाइसेन्ससहितको सेवा सुरु गर्न लागिएको हो, कोटेश्वरमा सल्लाघारीको सेवा कार्यालयलाई सार्ने योजना हो,’ शर्माले भने, ‘तर कोटेश्वरमा अहिले तत्काल कार्यालय सरिसकेको छैन, ट्रायल सेवा सुरु गराउन मिल्ने गरी यसलाई कार्यान्वयनमा ल्याउन समय लाग्छ ।’
मुद्दामामिला बढी हुँदा पनि कतिपय ठाउँमा नयाँ लाइसेन्स, वर्ग थप र नवीकरणसहितको सेवा सुरु गर्न समय लाग्ने गरेको शर्माले सुनाए । बागमती प्रदेशअन्तर्गत ११ वटा यातायात व्यवस्था र एउटा सेवा कार्यालय छ । सेवाग्राहीको चापलाई ध्यानमा राखेर थप कार्यालय र ट्रायल सेन्टर सुरु गर्ने विषयमा माथिल्लो तहबाट नीतिगत निर्णय गर्नुपर्ने उनको भनाइ छ । ‘धेरै कार्यालय हुँदा पनि समस्या हुन्छ, कर्मचारी व्यवस्थापन गर्न कठिन हुन्छ,’ उनले भने, ‘अहिलेका लागि बालाजु र कोटेश्वरबाट सेवा सुरु गर्न पाए सेवाग्राहीलाई थप सहज हुन्थ्यो ।’
मुद्दामामिलाले गर्दा बालाजुबाट लाइसेन्स सेवा समयमै सुरु गर्न नसकिएको यातायात व्यवस्था कार्यालय, बालाजुका शाखा अधिकृत चेतनाथ भट्टराईले बताए । ‘अहिले मुद्दा फिर्ता भएको छ । लाइसेन्स सेवा सुरु गर्न आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौं,’ भट्टराईले भने, ‘पहिला सेवा कार्यालयका रूपमा २०६६ बाट कार्यालय सुरु भएको हो, अहिले बागमती प्रदेश सरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) जारी गरेको छ । त्यसअनुसार नयाँ सवारी दर्तासम्मको अधिकार दिइएको छ । तर यो सेवा पनि कार्यान्वयनमा आइसकेको छैन ।’
सेवा कार्यालय मात्र हुँदा कम जनशक्ति थियो । लाइसेन्स सेवा पनि सुरु गर्न त्यहीअनुसारको दरबन्दी आवश्यक पर्ने भएको छ । तर कर्मचारी पदपूर्ति गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । ‘अहिले जति जनशक्ति छ, त्यहीअनुसार काम गर्ने हो,’ उनले भने ।
औसतमा सेवाग्राहीको बढी चाप हुने कार्यालयबाट अनलाइन फाराम भरेको साता दिनभित्र ट्रायल दिन पालो आउने प्रणालीमा देखिने गरेको यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाले जनाए । ‘कार्यालयहरूमा नयाँ लाइसेन्स लिनेदेखि नवीकरण गर्ने यात्रुको चाप हुने गर्छ, त्यसैले थप गर्ने भनिएका दुई वटा यातायात कार्यालयबाट सेवा सुरु गर्न सके अहिलेको सेवाग्राहीको चाप धान्न सक्छ,’ उनले भने, ‘त्यसपछि थप कार्यालय आवश्यक पर्छ जस्तो लाग्दैन ।’
धेरै ट्रायल सेन्टर बनाएर सेवाग्राहीलाई छिटोछरितो सेवा दिनुपर्ने यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठको भनाइ छ । ‘यो अहिलेको आवश्यकता पनि हो,’ उनले भने, ‘ट्रायल सेन्टर सस्तो खोजेर मात्र हुँदैन, गुणस्तरीय पनि बनाउनुपर्छ, शुल्क पनि प्रतिस्पर्धी हुनुपर्यो ।’
सेवाग्राहीले भने यातायात व्यवस्था कार्यालयले तोकेको ट्रायल सेन्टरहरूले ट्रायल लिँदा बढी शुल्क लिएको गुनासो गरेका छन् । शुल्क बागमती प्रदेश सरकारले २०७८ मा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल (छनोट तथा सञ्चालन) कार्यविधि, २०७८ बनाएर लागू गरेको छ । यसअनुसार मोटरसाइकल/स्कुटर/मोपेडको ट्रायल दिँदा २ सय ३८ रुपैयाँ ६२ पैसा तोकिएको छ । र, कार/जिप/डेलिभरी भ्यानका लागि ४ सय ९ रुपैयाँ ६० पैसा तोकिएको छ । टेम्पो/अटोरिक्साका लागि ४ सय १ रुपैयाँ ५० पैसा, मिनी बस/मिनी ट्रकका लागि ५ सय ६२ रुपैयाँ, बस/ट्रक/लहरीका लागि ५ सय ६२ रुपैयाँ र ट्र्याक्टरका लागि ५ सय ५० रुपैयाँ तोकिएको छ ।
सोह्रखुट्टेका नवराज देवकोटासँग भाइ रोशन देवकोटाले चारपांग्रेको ट्रायल दिन जाँदा एकान्तकुनामा ६ सय ६५ रुपैयाँ तिरेको बिल छ । ‘२४ भदौ २०८३ मा ट्रायल दिन गएको हो, यातायात कार्यालयअन्तर्गत नै रहेको ट्रायल सेन्टरले ट्रायल लिँदा बागमती प्रदेशले तोकेको भन्दा बढी शुल्क लियो,’ उनले बिल देखाउँदै भने, ‘चाबहिलमा छुट्टै, त्यहाँ छुट्टै शुल्क उठाइने रैछ ।’
ललितपुर इमाडोलकी कृति बस्नेतले पनि बुधबार एकान्तकुनामा चारपांग्रेको ट्रायल दिँदा ६ सय ५० रुपैयाँ शुल्क तिरेको सुनाइन् । तर लाइसेन्सका लागि ट्रायल दिँदा ट्रायल सञ्चालकको सवारीसाधन प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क निश्चित रहेको र त्योभन्दा बढी लिन नपाइने बागमती प्रदेशअन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सूचना अधिकारी भरत शर्मा बताउँछन् । ‘सबै यातायात कार्यालयले ट्रायल लिँदा तोकिएअनुसारको एउटै शुल्क लिनुपर्छ,’ उनले भने, ‘यसमा हामीले नियमन गरिरहेका छौं ।’
यातायात व्यवस्था कार्यालय संघ सरकारअन्तर्गत नै हुँदा २०७३ मा कार्यालय र सुजुकी ड्राइभिङ स्कुल प्रालिबीच ट्रायल सञ्चालन गर्ने गरी सम्झौता भएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, एकान्तकुनाका वरिष्ठ अधिकृत महेश आचार्यले जनाए । ‘२०७९ देखि शुल्क बढेको छैन,’ उनले भने, ‘तर प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क वृद्धि गर्ने सम्झौतामा उल्लेख छ ।
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।