दुई सातादेखि भोकभोकै रहेको कुकुर नदीको भेल वारीतर्फ जगतबाट मान्छे तल गए तलै दौडन्छ, माथितिर मान्छे हिँडे माथि दौडन्छ, वारी आउन बुढीण्डकी भेलले कुकुरलाई रोकेको छ ।
गोरखा — २५ असोजमा गएको बुढीगण्डकी बाढीपछि चुमनुव्री–३ जगत र धार्चे–१ ठाडोभर्याङको सीमा क्षेत्रमा एउटा कुकुर फसेको छ । जगतका दयाराम कार्कीले पालेको घरपालुवा कुकुर बुढीगण्डकी बगरमा फसेपछि दुई सातादेखि भोकभोकै भौंतारिएको हो ।
वारी जगततर्फ आउन बुढीगण्डकीको भेलले कुकुरलाई रोकेको छ । पारी छङ्गाछुर भिर छ । कुकुरधनी दयाराम कार्कीले पटक पटक जगततर्फको बुढीगण्डकी किनार पुगेर कुकुरलाई आहारका लागि बिस्कुटलगायतका खानेकुरा फालेका छन् । तर नदीका कारण खानेकुरा कुकुर भएको ठाउँसम्म पुग्न सकेको छैन । ‘नदी वारीतर्फबाट मान्छे तल गए कुकुर तलै दौडन्छ, माथि मान्छे हिँडे माथि दौडन्छ,’ कार्कीले भने, ‘तीन वटा कुकुर थियो दुई वटा बाढीले बगायो, एउटा बाँचेको रहेछ त्यही पनि खान नपाएर भौँतारिरहेको छ ।’
ठाडोभर्याङमा पसल व्यवसाय गर्दै आएका कार्कीको घर २५ असोजको बाढीले बगाएको छ । बुढीगण्डकीमा बाढी आउनु पहिले नै माथिल्लो भेगबाट टेलिफोनमा खबर पाएपछि स्थानीयहरू भने भागेर ज्यान बचाएका थिए । कुकुर भने बाढीपछि पाखातर्फ अट्किएको थियो । ‘घरनजिकै पुल थियो, त्यो पनि नदीले बगायो, तल यारुको क्यान्टिलिभर पुल पनि छैन,’ कार्कीले भने, ‘नदीको भेल ठुलो छ, यो कुकुरलाई वारी ल्याउन नै सकेनौँ ।’
कुकुर पानीमा पौडिएर वारीतर्फ आउन पनि नसकेको स्थानीयहरूले बताए । भोकभोकै रहेकाले तत्कालका लागि खानेकुरा पुर्याउने व्यवस्थापन मिलाएर उद्धार गर्न स्थानीयले माग गरेका छन् ।
बाढीपछि फसेको कुकुरको उद्धारका लागि हेलिकोप्टर चार्टर गर्नुको विकल्प नरहेको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘एनिमल नेपाललाई पनि भनेका छौँ, हेलिकोप्टरबाट उद्धारका लागि सिम्रिक एयरसँग पनि कुराकानी भइसकेको छ,’ अध्यक्ष लामाले भने, ‘जगत पारीपटि हो, भेल ठुलो भएकाले मान्छे जान सम्भव नै छैन, कुकुर र केही बाख्रा पनि पारीतर्फ फसेको भन्ने छ, उद्धारका लागि समन्वय गरिरहेका छौँ ।’
कुकुर फसेको जानकारी आएपछि बुधबार विहानबाटै उद्धारको प्रयास थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए । ‘कुकुर फसेको हो होइन बुझ्यौँ, कुकुर र केही बाख्रा पनि दुई सातादेखि फसिरहेको जानकारी पाएपछि पशु अधिकारीको हिसाबले पनि उद्धार गर्नु आवश्यक छ,’ उनले भने, ‘प्रशासनलगायतका सरकारी निकायसँग समन्वय भइरहेको छ, एनिमल नेपाल नामक संस्थासँग समन्वय गरेर हेलिकोप्टरबाट उद्धार गर्ने भन्ने हिसाबले अघि बढेका छौँ ।’
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।