कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरालाई ब्याटिङको निम्तो दिएका छन्।
काठमाडौँ — सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटमा बुधबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरालाई ब्याटिङका लागि बोलाएका हुन् ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराबाट दिनेश खरेल, अर्जुन घर्तीमगर, प्रतीक पोखरेल, विपिन खत्री, किरण ठगुन्ना, आकाश चन्द, बंगलादेशका पूर्व विश्व नम्बर एक अलराउन्डर सकिब अल हसन, अर्का बंगलादेशी मेहदी हसन, श्रीलंकाका वेदागेदारा समराविक्रमा र धनञ्जय लक्षण प्लेइङ ११ मा खेलिरहेका छन् ।
प्रतियोगितामा पोखराको यो पहिलो खेल हो । सुदूरपश्चिम पछिल्ला दुवै संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । पोखरा भने एनपीएलका दुवै संस्करणमा प्लेअफमा पुग्न नसक्ने एकमात्र टोली हो । पोखराका प्रशिक्षकमा श्रीलंकाका पूर्व स्पिनर अजन्था मेन्डिस तथा सुदूरपश्चिमका प्रशिक्षकमा मिसबाह उल हक रहेका छन् ।
पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित सुदूरपश्चिम रोयल्सको टोलीमा कुनै खेलाडी परिवर्तन गरिएको छैन । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको टोलीबाट सैफ जैब, विनोद भण्डारी, आसिफ शेख, इशान पाण्डे, ब्रान्डन म्याकमलेन, सेरफन रदरफोर्ड, स्कट कुग्लेन, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहरा खेलिरहेका छन् ।