सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले वैदेशिक रोजगार न्यायाधीकरणलाई मुद्दा हेर्ने अधिकार नै नरहेको अवस्थामा पक्राउ गरी म्याद थप गरिएको कार्य ‘गम्भीर क्षेत्राधिकारविहीन देखिएको’ ठहर गर्दै यो आदेश जारी गरेको हो ।
काठमाडौं — सर्वोच्च अदालतले अधिकारक्षेत्र नभएको निकायबाट पक्राउ अनुमति लिई थुनामा राखिएको भन्दै वैदेशिक रोजगार व्यवसायी रविन गुरुङलाई तत्काल थुनामुक्त गर्न बुधबार आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले वैदेशिक रोजगार न्यायाधीकरणलाई मुद्दा हेर्ने अधिकार नै नरहेको अवस्थामा पक्राउ गरी म्याद थप गरिएको कार्य ‘गम्भीर क्षेत्राधिकारविहीन देखिएको’ ठहर गर्दै यो आदेश जारी गरेको हो ।
इजलासले वैदेशिक रोजगार ऐन, २०६४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को प्रत्यक्ष त्रुटि भएको निष्कर्ष निकालेको छ ।
व्यवसायी गुरुङमाथि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको देखिएको थियो । तर, उक्त ऐनको दफा ६४(१) बमोजिम सो कसूरसम्बन्धी मुद्दा हेर्ने अधिकार वैदेशिक रोजगार न्यायाधीकरणलाई नभई वैदेशिक रोजगार विभागले नै कारबाही र सजाय गर्ने स्पष्ट व्यवस्था रहेको छ ।
गुरुङको म्यानपावर ट्रष्ट नेपाल मलेसियाले सुचीकृत गरेको २५ वटा म्यानपावर कम्पनीमध्ये एउटा हो । श्रम मन्त्री रामजी यादवले गत २८ असोजमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुखलाई श्रम मन्त्रालयमा बोलाई मलेसियाबाट सूचीकृत सवै म्यानपावर व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । त्यसअघि विभागले २५ जना म्यानपावर व्यवसायीलाई पक्राउ गर्न न्यायधीकरणबाट अनुमति लिएको थियो ।
२७ असोजमा पक्राउ पूर्जी स्वीकृत गराई २९ असोजमा गुरुङलाई हिरासतमा राखेर म्याद थप गरिएको कार्य प्रथम दृष्टि नै गैरकानूनी रहेको अदालतले स्पष्ट पारेको छ ।
थुना प्रारम्भबाटै गैरकानूनी, क्षेत्राधिकारविहीन र त्रुटिपूर्ण रहेको ठहर गर्दै सर्वोच्च अदालतले नेपालको संविधानको धारा १३३(२) बमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको छ । ‘अन्य मुद्दामा कानुनबमोजिम हिरासतमा राख्नुपर्ने बाहेक यस मुद्दाको रोहबाट गुरुङलाई आजै (बुधवार) थुनामुक्त गर्न वैदेशिक रोजगार विभागमार्फत प्रहरी वृत्त, कालिमाटीलाई लेख पठाइदिनु,’ आदेशमा भनिएको छ ।
होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।