काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि शुक्रबार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको हो।
राष्ट्रपतिको कार्यालयका अनुसार नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त न्यायाधीशमध्ये बागचन्द यसअघि उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए। त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा न्यायाधीशका रूपमा कार्यरत थिए।
यसअघि न्याय परिषद्ले असोज २० गते उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
उक्त सिफारिसपछि संसदीय सुनुवाइ समितिले कात्तिक १९ गतेदेखि सुनुवाइ प्रक्रिया अघि बढाएको थियो। सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूमाथि परेका उजुरी तथा उनीहरूको योग्यता र कार्यसम्पादनका विषयमा छलफल भएको थियो।
समितिले कात्तिक २१ गते चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।
संसदीय अनुमोदनपछि संवैधानिक प्रक्रियाअनुसार राष्ट्रपतिबाट नियुक्ति भएसँगै सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश थपिएका हुन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।